काठमाण्डौ - नवनियुक्त प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले पदबहाली गर्नुभएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभए लगत्तै उहाँले हिजो बेलुका सर्वोच्च अदालतमा पुगेर पदबहाली गर्नुभएको हो । राष्ट्रपतिको कार्यालय, शीतल निवासमा भएको शपथ कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री वालेन्द्र शाह (बालेन), सभामुख डोलप्रसाद अर्याल र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाललगायतको उपस्थिति थियो ।
संसदीय सुनुवाइ समितिले फास्ट ट्र्याकमा सुनुवाइ गरेसँगै उहाँको नियुक्ति र पदबहाली समेत एकै दिनमा भएको छ । नेपालको संविधानको धारा, १२९ को उपधारा, २ बमोजिम संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले हिजो डा. शर्मालाई प्रधानन्यायाधीश पदमा नियुक्त गर्नुभएको थियो ।
त्यसअघि सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रधानन्यायाधीश पदमा उहाँलाई सर्वसम्मतिले अनुमोदन गरेको थियो । संवैधानिक परिषद्को सिफारिसमा संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले प्रधानन्यायाधीशको नियुक्ति गर्ने संवैधानिक व्यवस्था रहेको छ ।
२०२७ असार ४ गते पर्साको वीरगञ्जमा जन्मनुभएका नवनियुक्त प्रधानन्यायाधीश डा. शर्मा २०७६ वैशाख ६ सर्वोच्च अदालतको न्यायाधीश हुनुभएको थियो । नेपाल ल क्याम्पसबाट बीएल र भारतको पुणे विश्व विद्यालयबाट एलएलएम गर्नुभएका उहाँले त्रिभुवन विश्वविद्यालयबाट श्रम कानुनमा विद्यावारिधि गर्नुभएको छ ।
न्यायको क्षेत्रमा कानुन व्यवसायीबाट प्रवेश गर्नुभएका डा. शर्माले २०७० साल जेठ २७ देखि २०७२ मङ्सिर २६ सम्म उच्च अदालतको अतिरिक्त न्यायाधीश भएर काम गर्नुभएको थियो । प्रधानन्यायाधीश डा. शर्माको कार्यकाल २०८९ असार ४ सम्म हुनेछ ।