देश टाट पल्टने खतरा बढ्दै

19.8k Shares

काठमाडौं । यसै पनि अर्थतन्त्र जर्जर भइसकेको थियो । आयातभन्दा निर्यात निकै कम हुँदा विदेशी मुद्राको संचिती घट्दै गएको थियो । नेपाल राष्ट्र बैंकले नै संचिती घट्न थालेको भन्दै निर्यातमा कडाई गरेको थियो । त्यसमाथि रुस र युक्रेनबीचको युद्धले नेपालको अर्थतन्त्रमा ठूलो संकट ल्याउने खतरा बढेको छ । कतिपय व्यवसायहरु धराशायी भएका छन् । बैंकहरु निक्षेप घट्न थालेपछि बढीभन्दा बढी ब्याज दिएर रकम तान्न खोजिरहेका छन् । ग्लोबल आइएमई बैकले डा. प्रकाशशरण महतलाई ४ करोड राख्दा १२ं.०३ प्रतिशत ब्याज दिएको खुलिसकेको छ । कतिपय बैंकहरुले १२ प्रतिशतभन्दा बढी ब्याज दिएर रकम तान्न खोजिरहेका छन् । 

बैंकिङ क्षेत्रमा रकम अभावको विषय सामान्य होइन । अर्कोतर्फ, पेट्रोलियम पद्धार्थमा अत्याधिक रकम बाहिरिन थालेको छ । मासिक २५ अर्बभन्दा बढी रकम पेट्रोलिम पद्धार्थ आयातमा खर्चिन थालेको छ । कच्चा तेलको मूल्य अझ बढेमा योभन्दा बढी रकम बाहिरिने अवस्था बन्न सक्छ । यसबाट देशमा ठूलो आर्थिक संकट आउने खतरा बढेको देखिन्छ । निर्यातभन्दा आयात अत्याधिक बढी हुँदा मुलुक नै टाट पल्टने खतरा बढेको हो । 

नेपाल आयल निगमले मासिक साँढे २६ लाख इन्डियन आयल कर्पोरेशनलाई बुझाउन थालेको जनाएको छ । पेट्रोलियम पद्धार्थको मूल्य १०० डलर नाघ्दा यो स्थिति आएको हो । युद्ध लम्बिदै गएमा झन् मूल्य वृद्धि हुने आँकलन गरिएको छ । अमेरिकाले रुसी तेलमाथि प्रतिबन्ध लगाउने तयारी गरेको छ । अमेरिका र यूरोपेली युनियनले त्यस्तो निर्णय लिएमा विश्व बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारल ३०० डलर पुग्नेछ । यो अवस्थामा नेपालले अहिलेको भन्दा दोब्बर बढी रकम तेल र ग्याँस आयातमा खर्चनुपर्ने हुन्छ । मासिक ५० अर्ब तेल र ग्याँस आपूर्तिमा खर्चदा वार्षिक ६ खर्ब हुन आउँछ । यो अवस्था आएमा भयावह अवस्था आउँछ । 

देशमा कृषि उत्पादन घट्दा परनिर्भरता बढेको छ । खाने तेल, चामल, दाल जस्ता अत्यावश्यक सामाग्री अत्याधिक आयात हुन थालेका छन् । यसमा पनि मूल्य वृद्धि भइरहेको छ । यसले देशको पैसा अझ बढि बाहिरिने अवस्था बन्न सक्छ । आयातमुखी अर्थतन्त्र भएकाले संकट बढ्न थालेको छ । खाडी मुलुकमा पनि रुस र युक्रेनबीचको युद्धको असरहरु पर्न थालेको छ । यूरोपमा ठूलै संकट आइरहेको छ । खाडीमा गहुँलगायत खाद्यान्न आपूर्तिमा चुनौती देखिन थालेको छ । रुस र युक्रेनबाट खाडी देशहरुमा गहुँ, मकैं, खाने तेल पुग्छन् । त्यसमा अवरोध आएमा त्यहाँ संकट आउन सक्छ । यसले वैदेशिक रोजगारीमा गएका नेपालीहरुको काममा पनि असर पर्न सक्छ । यूरोपमा पुगेका नेपालीले ठूलै संकट झेल्नुपर्ने अवस्था बन्नसक्छ । 

सुनको मूल्य प्रति तोला एक लाख नाघिसकेको छ । सुन आयातको परिमाण घटाएर दैनिक १० केजी बनाइएको छ । सुन आयातमा पनि रकम बाहिरिने गर्छ । मूल्य बढ्दा विगतभन्दा बढी रकम बाहिरिनसक्छ । यसरी देशको अर्थतन्त्र ठूलै संकटमा पर्ने खतरा बढ्दैछ । विदेशी मुद्राको संचिती घट्दै जाँदा खतराको घन्टी बज्न थालिसकेको छ । 

नेपालमा पेट्रोल ३०० नाघ्नसक्ने

रुस र युक्रेनबीच युद्ध लम्बिदै जाँदा विश्वभर ठूलो संकट पर्न जाने खतरा बढेको छ । यसको असर नेपालमा पनि पर्न थालेको छ । अहिले नेपालमा पेट्रोले प्रतिलिटर १५० रुपैयाँ पुगेको छ । यो मूल्यले बेच्दा पनि नेपाल आयल निगम घाटामा छ । अहिले विश्व बजारमा कच्चा तेलको मूल्य १३० पुग्दा यो स्थिति छ भने ३०० डलर पुगे के होला ? अमेरिका र रुसबीच यसरी नै टकराव बढ्दै गएमा कच्चा तेलको मूल्य ३०० डलर पुग्ने देखिएको छ । त्यतिबेला नेपालमा पेट्रोलको मूल्य प्रति लिटर ३०० रुपैयाँले नाघ्न सक्छ । 

अमेरिका र यूरोपेली यूनीयनले रुसी तेलमाथि प्रतिबन्ध लगाउने तयारी गरेपछि रुसले ग्याँस रोक्ने चेतावनी दिएको छ । रुसले यूरोपेली यूनियनका देशहरु जर्मनीलगायतमा ग्याँस रोक्ने चेतावनी दिएको हो । यसले तेल र ग्याँस दुवैको मूल्य ह्वात्तै बढ्ने खतरा बढेको हो । रुसको चेतावनीलगत्तै यूरोपमा ग्याँसको मूल्य विगतमा भन्दा १० गुणाले महङ्गिएको छ । आयल प्राइसका अनुसार ग्याँस प्रति बीबीएल १३७ डलर पुगिसकेको छ । यो भनेको कच्चा तेलको मूल्य ६०० डलर पुगे बराबर हो । अहिले विश्व बजारमा कच्चा तेलको मूल्य १३० डलरसम्म पुगेको छ । ग्याँसको मूल्य यूरोपमा अहिले कच्चा तेलको मूल्यको अनुपातमा ५ गुणाले महङ्गिएको छ । 

रुसका उपप्रधानमन्त्री अलेक्जेन्डर नोभाकले रुसी तेलमाथि प्रतिबन्ध लगाइए विश्व बजारमा ठूलो संकट आउने बताएका छन् । यो भनेको कच्चा तेल प्रति ब्यारल दोब्बरभन्दा बढी भएर ३०० डलर पुग्नु रहेको बीबीसीले उल्लेख गरेको छ । अमेरिकाले रुसी तेल प्रतिबन्ध लगाउने भनेपनि जर्मनी र नेदरल्यान्डले अस्वीकार गरेका छन् । जर्मनीमा रुसले ग्याँस बन्द गरे ठूलो संकट आउन सक्छ । यूरोपेली यूनियनका देशहरुले रुसबाट ४० प्रतिशत ग्याँस र ३० प्रतिशत तेल आपूर्ति गर्दै आएका छन् । 


सम्बन्धित समाचार