महोत्तरी, १६ फागुन । नेकपा माओवादी केन्द्रसहित सत्ता गठबन्धनले एमसीसी प्रस्ताव पास गराएपछि माओवादी केन्द्र महोत्तरीमा तीव्र असन्तुष्टि देखिएको छ ।
एमसीसी पास गर्ने बहानामा ‘व्याख्यात्मक बिश्लेषण’लाई अगाडि सारी अनुमोदन गर्नु राष्ट्र हितविपरित भएको भन्दै माओवादी केन्द्रका नेता तथा कार्यकर्ताले पार्टी परित्याग गर्नेदेखि विद्रोहसम्मको तयारी गरेका छन् ।
माओवादी केन्द्र मधेश प्रदेश कमिटी सदस्य राजन ढुंगानाले फेसवुकमा माओवादी नेतृत्व अमेरिकी सम्राज्यवादतर्फ घुडा टेकेको आरोप लगाएका छन् ।
पार्टी नेतृत्वको यो निर्णयले जिल्लामा पार्टीभित्रको सुदृढिकरण क्षीण भएको कतिपयको भनाइ छ । यसअघि प्रचण्डले एमसीसी कुनै पनि हालतमा पास गर्न नसकिने अडान लिँदै आएका थिए ।
पाँच दिन अगाडि एमसीसीको पक्षमा पार्टी उभिए पार्टी नै परित्याग गर्ने सार्वजनिक गरेका स्थानीय नेता निरज अधिकारीले फेसबुकमार्फत अबदेखि माओवादी केन्द्रमा नरहेको सार्वजनिक गरेका छन् ।
सामाजिक संजालमा माओवादीको कदमलाइ लिएर निकै टिप्पणी भएका छन् । विशेषगरी बिपक्षी दलका नेता तथा कार्यकर्ताले आन्दोलनको बिषलाइ लिएर खिल्ली उडाएका छन् ।
नेपाली काङ्ग्रेसका कार्यकर्ता तथा व्यवसायी भवनाथ खतिवडा आफ्नो फेसबुकमा लेख्छन्, ‘पार्टी छोड्छु भनेर गर्जिनेहरु के गर्लान । मैले भनेको थिए एमसीसी पास गर्न देउवाले केही गर्नु पर्दैन बालकोट जान्छु भने मात्र पुग्छ ।’
जिल्लास्थित कतिपय जिम्मेवार नेताहरू आज आह्वान गरेको नेपाल बन्दको समर्थनमा उत्रिएका छन् । माओवादी केन्द्र महोत्तरीका संयोजक तुलसी ढुङ्गनाले पाटीको औचित्य सकिएको बताएका छन् । तर, उनले पार्टी छाड्ने बिषयमा भने केही बताएनन् ।
यता मधेश प्रदेश कमिटीका सदस्य राजन ढुङ्गनाले भने अब पार्टीमा बस्न नसकिने प्रष्ट पारेका छन् । माओवादी केन्द्र महोत्तरीका इन्चार्ज राजु खड्काले पनि एमसीसी अनुमोदनको बिषयलाई लिएर आपत्ती जनाएका छन् ।
२० फागुनमा हुने केन्द्रीय समितिको बैठकपछि निर्णयमा पुग्ने उनको भनाइ छ ।