नयाँ आईजीपीको चर्चास“गै दौडधुप सुरु

16.2k Shares

काठमाडौं । वर्तमान आईजीपी शैलेश थापा क्षेत्रीको आगामी बैशाख १९ गते अनिवार्य अवकाश पाउने भएपछि भावी आईजीपीको लागि अहिलेदेखि नै दौडधूप सुरु हुन थालेको छ । 

आईजीपीको दौडमा एआईजीद्वय विश्वराज पोखरेल र सहकुल थापा मात्रै छन् । तर, सरकारले एआईजीको संख्या थप्ने गृहकार्य गरेकाले अहिले नै आईजीपीको उमेदवार दुईजना मात्रै हुन्छन् वा थपिन्छन् त्यो भने केही दिनमा नै थाहा हुने छ । 

एआईजीहरु हरि पाल, प्रद्युम्न कार्की र निरज शाहीले पनि आगामी वैशाख १९ मै अवकाश पाउनेछन् । त्यसबाहेक आईजीकै ब्याची डीआईजीहरु, एसएसपी सबै एकै मितिमा ३० वर्षे सेवाहदका कारण अवकाश पाउने छन् ।

सरकारले तीनजना एआईजी थप गर्ने तयारी गरेको छ । तीन एआईजीका लागि करिब १२ जना डीआईजी दौडधुपमा छन् । केही डीआईजी आईजीपीका व्याची पनि छन् । आईजीपीका ब्याची डीआईजी नै एआईजी वढुवामा परे विश्वराज पोखरेल र सहकुल थापाबीच मात्रै भावि आईजीपीको दौडमा हुने छन् ।

तर, पोखरेल र थापाका व्याची एआईजी बने आईजीपीका प्रतिस्प्रर्धी थपिनेछन् । एआईजीको दौडमा रविन्द्र धानुक, धिरजप्रताप सिंह, वसन्त पन्त, ईश्वरबाबु कार्की, उत्तमराज सुवेदी, वसन्त कुमार लामालगायत एक दर्जनभन्दा बढी डीआईजी छन् ।

जसमध्ये धानुक, सिंह, पन्त र सुवेदीको चर्चा बढी छ । हाल नेपाल प्रहरीमा जनपदतर्फ ५ जना एआईजीको दरबन्दी कायम छ । तीनजना थपिएमा एआईजीको संख्या आठ पुग्नेछ ।

एआईजीको संख्या थपिने चर्चासँगै डीआईजीका लागि समेत दौडधुप सुरु भएको छ । अहिलेकै अवस्थामा पोखरेल, थापाको ब्याचपछि डीआईजीबाटै आईजीपी बन्ने सम्भावना छ ।

डीआईजीका लागि पनि करिब १२ एसएसपीहरु दौडधुपमा छन् । डीआईजीको दौडमा एसएसपी सन्दीप भण्डारी, उमेशराज जोशी, दीपक थापा, टेकप्रसाद राई, रामदत्त जोशी, श्याम ज्ञवाली, सुदीप गिरी, वसन्तबहादुर कुवँर, अशोक सिंह, दुर्गा सिहंलगायत छन् । 

सरकारले तीनजना मात्रै एआईजी दरबन्दी थपे तीन डीआईजीको दरबन्दी खाली हुनेछ । सोही खाली भएको डीआईजीको दरबन्दीका लागि एसएसपी सक्रिय भएका हुन् ।

पोखरेल, थापा ब्याचपछि अहिले डीआईजी बढुवामा पर्नेहरु नै आईजीपीका प्रबल दाबेदार हुनेछन् । भावि आईजीपी, एआईजी र डीआईजी बन्न सबै सक्रिय भएका छन् । शक्ति केन्द्रमा पनि आफूनिकटका व्यक्तिलाई अगाडि बढाउने खेल सुरु भएको छ । प्रहरी बढुवामा प्रधानमन्त्री र सत्ता साझेदार निकट भएकालाई प्राथमिकता दिइँदै आएको छ । 


सम्बन्धित समाचार