काठमाडौँ । राजस्व छलीसम्बन्धी मुद्दामा ५३ करोड ८१ लाख रुपैयाँभन्दा बढी जरिवाना र दुई वर्ष कैद सजाय सुनाइएका फरार प्रतिवादी गुलसन श्रीवास्तव पक्राउ परेका छन् ।
राजस्व अनुसन्धान विभागको अनुसन्धानमा दोषी ठहर भएका रौतहटको गरुडा नगरपालिकाका श्रीवास्तवलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले जिल्ला प्रहरी कार्यालय पर्साको सहयोगमा पक्राउ गरेको हो । उनलाई बुधवार वीरगञ्ज महानगरपालिका–१६, नगुवाबाट पक्राउ गरिएको थियो ।
उच्च अदालत पाटनले २०८१ वैशाख २४ गते गरेको फैसलाअनुसार श्रीवास्तवलाई ५३ करोड ८१ लाख ८३ हजार ८१ रुपैयाँ जरिवाना र दुई वर्ष कैद सजाय सुनाइएको थियो ।
श्रीवास्तवविरुद्ध पाँचवटा व्यापारिक फर्म सञ्चालन गरी झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि कर ९भ्याट० बिजक जारी गरेर कारोबार गरेको अभियोगमा राजस्व चुहावटसम्बन्धी मुद्दा दायर भएको थियो ।
संग्रिला ट्रेड एण्ड सप्लायर्स, प्रिन्स इन्टरनेशनल, मयंक इन्टरप्राइजेज, शुभ लक्ष्मी इन्टरनेशनल र न्यू महादेव इन्टरनेशनलका प्रोप्राइटर गरी फरक–फरक नाममा रहेका यी पाँचवटै व्यापारिक फर्मको स्वामित्व श्रीवास्तवकै नाममा रहेको थियो ।
अदालतले श्रीवास्तवलाई दोषी ठहर गर्दै ५३ करोड ८१ लाख ८३ हजार ८१ रुपैयाँ जरिवाना र दुई वर्ष कैद सजाय सुनाएको थियो । तर, फैसला भएको लामो समयसम्म पनि सजाय भुक्तान नगरी फरार रहेका श्रीवास्तवलाई प्रहरीले खोजी गरी पक्राउ गरेको हो ।
सीआईबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक अनुपमशमशेर जबराका अनुसार पक्राउ परेका श्रीवास्तवलाई फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराइएको थियो । अदालतको प्रक्रियापछि उनलाई कारागार पठाइएको छ । नक्कली भ्याट बिलमार्फत हुने कारोबारले राज्यको राजस्व प्रणालीमा गम्भीर असर पार्ने भएकाले यस प्रकरणलाई राजस्व चुहावटसम्बन्धी गम्भीर मुद्दाका रूपमा हेरिएको छ । अदालतबाट ठूलो रकम जरिवाना र कैद सजाय तोकिए पनि फरार रहेका प्रतिवादी पक्राउ परेसँगै अब फैसला कार्यान्वयनको प्रक्रिया अघि बढेको छ ।