बैंकमा थुप्रिएको पैसा व्यवस्थापन गर्न राष्ट्र बैंकले तिर्‍यो २२ अर्ब ब्याज

877 Shares
काठमाडौं । बैंक तथा वित्तीय संस्थामा थुप्रिएको पैसा व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षमा मात्रै २२ अर्ब १२ करोड रुपैयाँभन्दा बढी ब्याज खर्च गरेको छ। बैंकमा निक्षेप बढे पनि त्यसअनुसार कर्जा प्रवाह हुन नसकेपछि राष्ट्र बैंकले बैंकहरूको अतिरिक्त पैसा ब्याज दिएर आफूसँग राखेको हो।
सामान्यतया राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई पैसा उपलब्ध गराउँछ र त्यसबापत ब्याज लिन्छ। बैंकहरूलाई पैसा अभाव भएका बेला राष्ट्र बैंकले रिपो, स्थायी तरलता सुविधा लगायतका उपकरणमार्फत रकम उपलब्ध गराउँछ। बैंकहरूले यस्तो सुविधा लिएबापत राष्ट्र बैंकलाई ब्याज तिर्छन्। तर बैंकिङ प्रणालीमा पैसा बढी हुँदा अवस्था उल्टिन्छ।
बैंकहरूले कर्जा प्रवाह गर्न नसकेको अतिरिक्त पैसा राष्ट्र बैंकमा राख्छन्। राष्ट्र बैंकले त्यस्तो पैसा लिएबापत बैंकहरूलाई ब्याज दिन्छ। पछिल्लो समय बैंकिङ प्रणालीमा यही अवस्था देखिएको छ।
नेपाल राष्ट्र बैंकको वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८२र८३ मा बैंक तथा वित्तीय संस्थालाई तरलता व्यवस्थापनबापत २२ अर्ब १२ करोड ९३ लाख रुपैयाँ ब्याज भुक्तानी गरिएको छ। अघिल्लो आर्थिक वर्ष २०८१—८२ मा यस्तो ब्याज खर्च ९ अर्ब २ करोड ६५ लाख रुपैयाँ थियो। एक वर्षमै यस्तो खर्च करिब डेढ गुणा बढेको छ।
यसअघि आर्थिक वर्ष २०७९—८० मा यस्तो ब्याज खर्च ६ करोड १२ लाख रुपैयाँ मात्रै थियो। आर्थिक वर्ष २०८०—८१ मा बढेर २ अर्ब ८ करोड ८८ लाख रुपैयाँ पुगेको थियो। त्यसपछि खर्च तीव्र रूपमा बढेको देखिन्छ। निक्षेपअनुसार कर्जा विस्तार हुन नसक्नु बैंकमा पैसा थुप्रिदै गएको छ।
सर्वसाधारण तथा संस्थाले बैंकमा पैसा जम्मा गरिरहेका छन्। तर उद्योग, व्यापार तथा अन्य क्षेत्रमा लगानीको माग अपेक्षित रूपमा बढ्न सकेको छैन।
बैंकले कर्जा दिन नसकेको पैसा आफूसँगै राख्दा तरलता बढ्छ। यसले बजारमा ब्याजदर घटाउने दबाब सिर्जना गर्छ। यस्तो अवस्थामा राष्ट्र बैंकले बजारबाट पैसा खिच्छ।
गत आर्थिक वर्षमा निक्षेप सङ्कलन उपकरणमार्फत ३ खर्ब ६२ अर्ब ३० करोड रुपैयाँ र स्थायी निक्षेप सुविधामार्फत ३८ खर्ब ४९ अर्ब ५९ करोड ५० लाख रुपैयाँ खिचेको छ। त्यस्तै, ४० अर्ब रुपैयाँ बराबरको राष्ट्र बैंक ऋणपत्र जारी गरेको छ।
यी उपकरणमार्फत वर्षभरि खिचिएको रकम र असार मसान्तमा बाँकी रहेको रकम फरक हुन्। २०८३ असार मसान्तसम्म निक्षेप सङ्कलन उपकरण, स्थायी निक्षेप सुविधा र राष्ट्र बैंक ऋणपत्रमा गरी कुल १२ खर्ब ७७ अर्ब ४० करोड रुपैयाँ बाँकी रहेको छ। राष्ट्र बैंकले बैंकहरूबाट लिएको पैसामा फरक–फरक ब्याजदर दिएको छ। स्थायी निक्षेप सुविधामा २।७५ प्रतिशत ब्याजदर छ।
निक्षेप संकलन उपकरणमा औसत २.७२ प्रतिशत र राष्ट्र बैंक ऋणपत्रमा औसत २.७१ प्रतिशत ब्याजदर कायम भएको छ। बैंकमा पैसा अभाव हुँदा भने राष्ट्र बैंकले उल्टै पैसा उपलब्ध गराउँछ। आर्थिक वर्ष २०७८—७९ मा बैंकिङ प्रणालीमा तरलता अभाव हुँदा राष्ट्र बैंकले विभिन्न उपकरणमार्फत ९७ खर्ब रुपैयाँभन्दा बढी तरलता प्रवाह गरेको थियो। त्यसमध्ये स्थायी तरलता सुविधामार्फत मात्रै ९१ खर्ब ७० अर्ब रुपैयाँभन्दा बढी प्रवाह भएको थियो। बैंकहरूले यस्तो रकम लिएबापत राष्ट्र बैंकलाई ब्याज तिर्थे।
अहिले त्यस्तो सुविधा लिनुपर्ने अवस्था छैन। गत आर्थिक वर्षमा ओभरनाइट तरलता सुविधामार्फत १२ अर्ब ५० करोड रुपैयाँ प्रवाह भए पनि रिपो र स्थायी तरलता सुविधामार्फत तरलता प्रवाह शून्य छ। यसरी बैंकमा पैसा अभाव हुँदा राष्ट्र बैंकले ब्याज लिएर पैसा दिन्छ। बैंकमा पैसा बढी हुँदा ब्याज दिएर पैसा लिन्छ। तर अहिलेको अवस्थाले निक्षेप बढ्नु मात्रै अर्थतन्त्रका लागि पर्याप्त नहुने देखाएको छ।
सम्बन्धित समाचार