रोजगारीको प्रलोभनमा होटलमा देहव्यापारको धन्दा

761 Shares

विराटनगर । रोजगारी र राम्रो आम्दानीको आश्वासन दिएर युवतीहरूलाई होटलमा काम लगाउने, पछि विभिन्न प्रलोभन र दबाबमा पारेर जबर्जस्ती यौनधन्दामा धकेल्ने प्रवृत्तिले विराटनगरमा गम्भीर सामाजिक तथा सुरक्षा चुनौती खडा गरेको छ। होटल, लज र गेस्टहाउसको आवरणमा सञ्चालन भइरहेका यस्ता गतिविधिमाथि प्रभावकारी निगरानी हुन नसकेको भन्दै प्रहरी प्रशासनको कार्यशैलीमाथि समेत प्रश्न उठ्न थालेको छ।
दुई युवतीलाई प्रलोभनमा पारी बन्धक बनाएर जबर्जस्ती यौनधन्दामा लगाएको आरोपमा पक्राउ परेका विराटनगरका होटल सञ्चालक परवेज महमद आलम पुर्पक्षका लागि कारागार चलान भएपछि यो विषय फेरि चर्चामा आएको छ।मोरङ जिल्ला अदालतका न्यायाधीश गोकुलबहादुर निरौलाको इजलासले मंगलबार आलमलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो। अदालतको आदेशपछि उनलाई मोरङ कारागार चलान गरिएको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए।
यस घटनामा संलग्न रहेको आरोप लागेका अर्का प्रतिवादी रामविलास महतो भने फरार छन्। सरकारी वकिलको कार्यालयले महतोलाई फरार प्रतिवादी कायम गर्दै मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी कसुरमा अदालतमा अभियोगपत्र दर्ता गरेको छ।यो घटना दुई युवतीमाथि भएको कथित शोषणको एउटा प्रतिनिधि उदाहरण मात्र हो कि विराटनगरमा फैलिएको ठूलो समस्याको संकेत ? अहिले उठेको गम्भीर प्रश्न यही हो।स्थानीय स्तरमा प्राप्त जानकारी र विभिन्न गुनासाअनुसार विराटनगरका सीमावर्ती क्षेत्रदेखि मुख्य बजारसम्म रहेका कतिपय श्रेणीविहीन होटल, लज तथा गेस्टहाउसमा यौनधन्दा सञ्चालन हुने गरेको आरोप लाग्दै आएको छ। विशेषगरी पहाडी जिल्लाबाट रोजगारीको खोजीमा तराई झर्ने आर्थिक रूपमा कमजोर तथा सोझा युवतीहरू यस्तो शोषणको जोखिममा पर्ने गरेका छन्।
होटलमा काम पाइने, राम्रो तलब हुने र बस्ने व्यवस्था मिलाइदिने आश्वासन दिएर युवतीहरूलाई ल्याउने, सुरुमा सामान्य काममा लगाउने र पछि विभिन्न दबाब, प्रलोभन तथा धम्कीमार्फत यौनधन्दामा संलग्न गराउने प्रवृत्तिबारे स्थानीय स्तरमा गुनासो सुनिने गरेको छ। कतिपय अवस्थामा युवतीहरूको स्वतन्त्र आवागमन नियन्त्रण गर्ने, पारिश्रमिक नदिने र घर फर्किनसमेत नदिने गरी शोषण गरिने गरेको आरोप छ।यस्ता गतिविधि रोक्न होटल तथा लजको नियमित अनुगमन, सञ्चालक र कर्मचारीको विवरण परीक्षण, श्रमिकको अवस्थाबारे जानकारी संकलन तथा सम्भावित पीडितको उद्धार आवश्यक हुन्छ। तर विराटनगरमा यस्ता गतिविधिबारे पटक–पटक प्रश्न उठ्दा पनि प्रहरी, प्रशासन र सम्बन्धित नियमनकारी निकायको निगरानी कति प्रभावकारी छ भन्ने विषयमा सार्वजनिक जवाफदेहिताको आवश्यकता देखिएको छ।
होटल व्यवसायको नाममा हुने हरेक गतिविधिलाई अपराधसँग जोड्नु उचित हुँदैन। तर व्यवसायको आवरणमा मानव बेचबिखन, बन्धक बनाउने र जबर्जस्ती यौनशोषण गर्ने कार्य भइरहेको छ भने त्यसलाई सामान्य अनियमितता ठानेर बेवास्ता गर्न मिल्दैन।विशेषगरी सीमावर्ती सहर भएकाले विराटनगरमा मानव बेचबिखन तथा ओसारपसारको जोखिमलाई गम्भीरतापूर्वक लिनुपर्ने देखिन्छ। प्रहरी प्रशासनले शंकास्पद होटल तथा लजको निष्पक्ष अनुगमन गर्नुका साथै पीडितको पहिचान, उद्धार, सुरक्षा र पुनःस्थापनालाई प्राथमिकता दिनुपर्छ।प्रश्न होटलमा कति कोठा छन् वा कति ग्राहक आउँछन् भन्ने मात्र होइन, रोजगारीको खोजीमा आएका युवतीहरू कसरी शोषणको सिकार भइरहेका छन् र यस्तो धन्दा सञ्चालन गर्नेहरूलाई कसले संरक्षण गरिरहेको छ भन्ने पनि हो। विराटनगरलाई सुरक्षित व्यावसायिक सहर बनाउने हो भने होटलको आवरणमा हुने सम्भावित मानव शोषणको जालो पहिचान गरी निष्पक्ष अनुसन्धान र प्रभावकारी कारबाही अपरिहार्य छ।

सम्बन्धित समाचार