भट्टेडाँडामा घुमुवा प्रहरीको असुली आतंक

65 Shares

प्रहरीको जिम्मेवारी नागरिकको सुरक्षा गर्नु, कानुन कार्यान्वयन गर्नु र गैरकानुनी गतिविधि नियन्त्रण गर्नु हो। तर प्रहरीकै नाममा खटिएका केही कर्मचारीले आफ्नो जिम्मेवारीलाई आर्थिक लाभ उठाउने माध्यम बनाउँछन् भने त्यसले सिंगो प्रहरी संगठनकै छविमा प्रश्न खडा गर्छ। यस्तै गम्भीर गुनासो अहिले ललितपुरको भट्टेडाँडा क्षेत्रमा व्यवसाय गर्दै आएका व्यवसायीहरूले गरिरहेका छन्।
प्रहरी परिसर ललितपुर मातहतको प्रहरी चौकी भट्टेडाँडाबाट परिचालित घुमुवा प्रहरीको कथित असुली धन्दाले व्यवसायीहरू आजित भएको गुनासो छ। चौकीका सई आमोदकुमार झाले वरिष्ठ हवल्दारद्वय वृजकिशोर यादव र जयप्रकाश सहनीलाई घुमुवाका रूपमा परिचालन गरेको र उनीहरूले उक्त सडकखण्डमा सञ्चालन हुने मालवाहक सवारीसाधनबाट विभिन्न बहानामा रकम उठाउने गरेको आरोप व्यवसायीहरूले लगाएका छन्।व्यवसायीहरूका अनुसार तराईबाट ढुंगन हुँदै उपत्यका प्रवेश गर्ने कुखुरा, माछा तथा भैंसी बोकेका पिकअपदेखि ठूला मालवाहक ट्रकसम्मलाई विभिन्न बहाना बनाएर रोक्ने र पाँच सयदेखि एक हजार रुपैयाँसम्म रकम माग्ने गरिएको छ। रकम नदिए अनावश्यक दुःख दिने र विभिन्न कारण देखाएर सवारीसाधन रोक्ने गरिएको उनीहरूको गुनासो छ।अझ गम्भीर विषय त सडकमा १० चक्के ट्रक सञ्चालन गर्न निषेध रहेको अवस्थामा पनि रातिको समयमा रकम बुझाउने सवारीसाधनलाई आवतजावत गर्न दिने गरिएको आरोप छ। यदि यो आरोप सत्य हो भने यो केवल घुस असुलीको विषय मात्र होइन, सडक सुरक्षा र कानुन कार्यान्वयनमाथिकै गम्भीर खेलबाड हो।घुमुवा प्रहरीको काम अपराध नियन्त्रणका लागि सूचना संकलन गर्नु हो कि सडकमा गुड्ने सवारीसाधनबाट रकम उठाउनु ? कुखुरा, माछा र भैंसी बोकेर जीविकोपार्जन गर्ने व्यवसायीलाई अनावश्यक आर्थिक भार थपेर राज्यको सुरक्षा संयन्त्रप्रति नै वितृष्णा पैदा गर्ने अधिकार कसैलाई छैन।
अर्को गम्भीर आशंका पनि व्यवसायीहरूले व्यक्त गरेका छन्। भट्टेडाँडाबाट उठाइएको भनिएको रकम प्रहरी परिसर जावलाखेलसम्म पुग्ने गरेको चर्चा आफूहरूले सुनेको उनीहरूको भनाइ छ। यद्यपि, यस विषयमा कुनै प्रमाण सार्वजनिक भएको छैन। त्यसैले रकम उठाउने व्यक्तिको भूमिका मात्र होइन, त्यसको सम्भावित माथिल्लो तहसम्मको सम्बन्धबारे समेत निष्पक्ष छानबिन हुनुपर्छ।प्रहरी संगठनभित्र घुमुवा परिचालनको उद्देश्य अपराध नियन्त्रण र सूचना संकलन हो। तर त्यसको आवरणमा आर्थिक असुली भइरहेको हो भने सम्बन्धित प्रहरी नेतृत्वले तत्काल रोक्नुपर्छ। प्रहरी कर्मचारीको परिचालन, कार्यक्षेत्र, गतिविधि र जिम्मेवारीबारे नियमित अनुगमन हुनुपर्छ।हामी व्यवसायीहरू प्रहरीसँग कुनै विशेष सुविधा मागिरहेका छैनौँ। कानुनबमोजिम व्यवसाय गर्न र सवारीसाधन सञ्चालन गर्न पाउने वातावरण मात्र चाहेका हौँ। गल्ती गरेको भए कानुनअनुसार कारबाही होस्, तर अनाहकमा रकम बुझाउनुपर्ने बाध्यता अन्त्य गरियोस्।त्यसैले उपत्यका प्रहरी कार्यालय, प्रहरी परिसर ललितपुर तथा नेपाल प्रहरी प्रधान कार्यालयको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौँ। भट्टेडाँडामा परिचालित घुमुवा प्रहरीको गतिविधि, कथित रकम असुली, १० चक्के ट्रकको आवतजावत र रकम माथिल्लो तहसम्म पुग्ने गरेको आरोपबारे निष्पक्ष छानबिन गरी दोषी देखिए कारबाही गरियोस्।प्रहरीको वर्दी जनताको सुरक्षा र सम्मानका लागि हो, व्यवसायीको खल्ती रित्याउनका लागि होइन। घुस नदिई व्यवसाय गर्न पाउने वातावरण बनाउनु प्रहरी प्रशासनको दायित्व हो।

सम्बन्धित समाचार