बिकाश पाण्डेय नेतृत्वको सीएनआईवाईईएफ लुम्बिनीले अघि बढायो नयाँ योजना

1k Shares

बुटवल । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनआईवाईईएफ) लुम्बिनीले नवनियुक्त अध्यक्ष बिकाश पाण्डेयको नेतृत्वमा दुईदिने रणनीतिक योजना तथा रिट्रिट कार्यक्रम सम्पन्न गरेको छ ।
गैँडाकोटस्थित मौलाकालिका मन्दिर क्षेत्रको पहाडको टुप्पोमा रहेको इला रिसोर्टमा आयोजित कार्यक्रममा सीएनआईवाईईएफ लुम्बिनीको आगामी कार्यकालका वार्षिक योजना, कार्यक्रम, नवगठित बोर्डका जिम्मेवारी तथा संस्थालाई थप प्रभावकारी र दिगो बनाउने रणनीतिबारे छलफल गरिएको थियो ।
रिट्रिटमा सदस्यबीच आपसी विश्वास, सहकार्य र जिम्मेवारीबोध बढाउँदै संस्थाको साझा उद्देश्यअनुसार अघि बढ्ने विषयलाई प्राथमिकता दिइएको थियो । नयाँ बोर्डका पदाधिकारी तथा सदस्यहरूले आगामी कार्यकालमा संस्थाका गतिविधिलाई थप व्यवस्थित र परिणाममुखी बनाउने प्रतिबद्धता जनाएका थिए ।
अध्यक्ष पाण्डेयले आफ्नो कार्यकालमा सदस्यबीचको सम्बन्ध सुदृढ बनाउने, सदस्यका व्यवसायबीच व्यावसायिक सहकार्य विस्तार गर्ने तथा युवा उद्यमीको ज्ञान र नेतृत्व क्षमता अभिवृद्धि गर्ने कार्यक्रमलाई प्राथमिकतामा राखिने बताए ।
सदस्यहरूबीच एकअर्काको व्यवसायबारे जानकारी आदानप्रदान, अनुभव साटासाट तथा नयाँ व्यावसायिक अवसरको खोजीका लागि नियमित गतिविधि सञ्चालन गर्ने योजना बनाइएको छ । सदस्यहरूको सिकाइ, व्यावसायिक सम्पर्क विस्तार र सक्रिय सहभागितालाई वार्षिक योजनासँग जोडेर अघि बढाउने विषयमा पनि छलफल भएको थियो ।
आगामी वर्षको प्रमुख कार्यक्रमका रूपमा ‘सीएनआईवाईईएफ इग्नाइट’ आयोजना गर्ने योजना बनाइएको छ। युवा उद्यमशीलता, नयाँ व्यवसाय र रोजगारीका अवसरलाई केन्द्रमा राखेर कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको अध्यक्ष पाण्डेयले बताए ।
त्यसैगरी, भारतको उत्तर प्रदेशसँग व्यावसायिक सम्पर्क विस्तार गर्ने उद्देश्यले ‘कनेक्ट यूपी’ कार्यक्रमलाई समेत प्राथमिकतामा राखिएको छ । उक्त कार्यक्रममार्फत सीमापार युवा उद्यमीबीच व्यावसायिक सम्बन्ध विस्तार गर्नुका साथै सम्भावित लगानी तथा व्यापारिक अवसरको खोजी गर्ने लक्ष्य राखिएको छ ।
कार्यक्रममा सीएनआईवाईईएफका राष्ट्रिय गभर्निङ काउन्सिल सदस्य आशिष अग्रवालले नेतृत्व, बोर्डको भूमिका, संस्थागत सहकार्य तथा रणनीतिक योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने विषयमा प्रशिक्षण दिएका थिए ।
त्यसैगरी, राष्ट्रिय लर्निङ चेयर चिराग सरावगीले बोर्डका सदस्यहरूको भूमिका र जिम्मेवारीबारे मार्गदर्शन गरेका थिए । प्रशिक्षणले पदाधिकारी तथा सदस्यलाई आफ्नो कार्यक्षेत्र स्पष्ट रूपमा बुझ्न र संस्थाको साझा लक्ष्यअनुसार काम गर्न सहयोग पुगेको आयोजकले जनाएको छ ।
निवर्तमान अध्यक्ष राजन कसजुले अघिल्लो कार्यकालको अनुभव साझा गर्दै संस्थालाई थप प्रभावकारी बनाउन आगामी नेतृत्वले ध्यान दिनुपर्ने विषयमा सुझाव दिएका थिए ।
रिट्रिटका क्रममा ग्रोथ एन्ड एक्सपान्सन चेयर अभिनव थापा तथा स्टार्टअप चेयर अनमोल मित्तलको नेतृत्वमा विभिन्न रणनीतिक खेल तथा समूहगत गतिविधिसमेत सञ्चालन गरिएको थियो । ती गतिविधिमार्फत सामूहिक निर्णय, समस्या समाधान, नेतृत्व क्षमता तथा टोलीगत सहकार्यको अभ्यास गराइएको थियो ।
कार्यक्रमकै अवसरमा अघिल्लो कार्यकालका फाइनान्स चेयर अर्जुन पाठकले गत वर्षको वित्तीय विवरण तथा जिम्मेवारी नयाँ बोर्डलाई हस्तान्तरण गरेका थिए । वर्तमान फाइनान्स चेयर अभिषेक पाठकले उक्त जिम्मेवारी ग्रहण गरेका थिए ।
रणनीतिक बैठकपछि कार्यकारी निर्देशक रुस्तम कँडेलको सहजीकरणमा नवगठित बोर्डको पहिलो बैठकसमेत बसेको थियो । बैठकमा आगामी कार्यक्रम, पदाधिकारीहरूको जिम्मेवारी तथा वार्षिक योजनालाई कार्यान्वयनमा लैजाने विषयमा छलफल गरिएको थियो ।
कार्यक्रमको दोस्रो दिन सहभागीहरूले मौलाकालिका मन्दिरसम्म पदयात्रा गरी दर्शन गरेका थिए । सामूहिक पदयात्राले सदस्यबीच अनौपचारिक संवाद र आपसी सम्बन्ध विस्तारमा सहयोग पुगेको आयोजकले जनाएको छ ।
अध्यक्ष पाण्डेय यसअघि नेपालिज होटलियर्स एसोसिएसनका संस्थापक महासचिवसमेत रहेका थिए । पर्यटन तथा व्यावसायिक क्षेत्रमा अनुभव हासिल गरेका पाण्डेयले युवा उद्यमीबीचको सहकार्य र सदस्यहरूको व्यावसायिक क्षमतालाई संस्थाको विकाससँग जोडेर अघि बढाउने बताएका छन् ।
सीएनआईवाईईएफ लुम्बिनीको नयाँ बोर्डमा अध्यक्ष बिकाश पाण्डेय, निवर्तमान अध्यक्ष राजन कसजु, लर्निङ चेयर विवेक कसौधन, ग्रोथ एन्ड एक्सपान्सन चेयर अभिनव थापा, नेटवर्क एन्ड कम्युनिकेसन चेयर अर्जुन पाठक, फाइनान्स चेयर अभिषेक पाठक, गभर्नमेन्ट एन्ड डिप्लोम्याटिक चेयर अमृत भुसाल, मेम्बरशिप चेयर अनिश पाठक, मेम्बरशिप को–चेयर सिद्धार्थ गोयल, स्टार्टअप चेयर अनमोल मित्तल, फाइनान्स को–चेयर आशिष घिमिरे र कार्यकारी निर्देशक रुस्तम कँडेल रहेका छन् ।
नयाँ बोर्डले वार्षिक योजना, जिम्मेवारी बाँडफाँट, सदस्य विकास, व्यावसायिक सहकार्य र युवा उद्यमशीलतासम्बन्धी कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाउने जनाएको छ । दुईदिने रणनीतिक योजना तथा रिट्रिटले नयाँ कार्यकालका गतिविधिलाई व्यवस्थित रूपमा अघि बढाउन आधार तयार गरेको आयोजकको भनाइ छ ।

सम्बन्धित समाचार