बसन्त कुँवर
आईजीपी र गृह मन्त्री भन्ने पदले रातदिन नभनी काम गरेकै हुन्छन् तर पनि जस भने बिरलै पाउँछन्, कारण यो पद नै अपजसे छ। नेपालमा म पनि २०४० सालदेखि २०६४ सालसम्म प्रहरी अधिकृतको रूपमा रहें र यसबीच दर्जनौँ आईजीपी र गृह मन्त्रीहरू भोगेँ। दुःखको कुरा, कुनै पनि आईजीपी वा गृह मन्त्रीहरूले जस पाएका वा स्याबास पाएका देखिनँ। यो पदमा पुग्न हर कोहीले टाउकै फुटाएको वा कोसिस गरेको देखेँ, तर तिनको अन्त्य भने दुःखदायी, अपमानपूर्ण र विवादित नै भएको पाएँ।
यी पदमा पुगेकाहरूमध्ये कोही जेल पर्छन्, कोही मुद्दामा पर्छन्, कोही आरोपै आरोपमा घेरिन्छन् त कोही पूरै विवादित भई बीचैमा हटाइन्छन्। पूरा समय अडेका हरूलाई पनि जागिर जोगाउन धौ–धौ परेको र अख्तियारमा उजुरबाजुर परेकै सुनिन्छ।
धेरै नेताहरू वा प्रहरी अफिसरहरू यदि गृह मन्त्री नभई अरू मन्त्री भएका भए वा धेरै अफिसरहरू आईजीपी नभई एआईजीपीबाटै घर गएका भए सुखी हुन्थे होला। खुमबहादुर, विजय गच्छदार, चिरञ्जीवी वाग्ले, बालकृष्ण खाँड र रमेश लेखकहरू सायद गृह मन्त्री नभई अरू मन्त्री भएका भए प्रधानमन्त्री पनि बन्न सक्थे होला! नबने पनि मुद्दा–मामिलामा पर्नु पर्दैनथ्यो होला। रवि लामिछाने पनि गृह मन्त्री नभई अरू मन्त्री भएका भए मुद्दा झेल्नु पर्दैनथ्यो होला। अहिले उहाँ पनि प्रधानमन्त्री हुनुहुन्थ्यो होला।
यो दुवै पद कानुन कार्यान्वयनसँग सम्बन्धित छन् र त्योभन्दा पनि बढी यी दुवै पद आफ्नो सरकार बचाउन सक्रिय रूपमा क्रियाशील हुन्छन्! सरकार बचाउने र आफू प्रधानमन्त्री बन्ने महत्त्वाकांक्षाले गृह मन्त्री पदलाई अनैतिक बनाएको पनि देखियो। आईजीपीहरूले चाहिँ आफ्नो पद रक्षाका लागि मन्त्रीको साथ दिँदा अर्को शासन बदलिएसँगै संकट भोगेको पाइयो।
दक्षिण एसियाली मुलुकहरूमा गृह मन्त्री र प्रहरी प्रमुख दुवैले शासन जोगाउन भित्री रूपमा मिलेर काम गरेको देखिन्छ, जसका कारण यी दुई पदले सरकार जोगाउन वा बलियो पार्न आफ्ना विपक्षीहरूलाई झुठै भए पनि मुद्दा लगाउने गरेका प्रशस्त उदाहरण छन्। जब यस्तो हुन्छ तब हरेक विपक्षीका आँखामा ती दुवै पद सधैँ तारोमा रहने गर्दछन्। त्यसैले जब सरकार वा शासन बदलिन्छ, सबैभन्दा पहिले यिनै दुई पद आक्रमणमा पर्दछन्। आफूले अरूलाई जसरी व्यवहार गरेका थिए, उनीहरूले पनि त्यस्तै व्यवहार नयाँ शासकबाट पाउँछन्।
शासन चलाउँदा सबैभन्दा बढी काम पनि यिनै दुई पदले नै गरेका हुन्छन्, सबैभन्दा बढी चर्चा पनि यिनै दुई पदले नै पाएका हुन्छन् र जसै शासन बदलिन्छ, यिनै दुई पद नै सबैभन्दा बढी र पहिल्यै संकटमा परेका हुन्छन्। सायद नेपालमा यी दुवै पद नै अपजसे छन्।शेरबहादुर देउवा र केपी ओली चाहिँ गृह मन्त्री पदबाट फाइदा लिँदै प्रधानमन्त्री हुन सफल भए पनि, प्रधानमन्त्री भएपछि चाहिँ बदनाम वा अपमानित हुनुपरेको देखियो, बाँकी तत्कालै वा केही वर्ष, महिना वा दिनमै संकटमा परेको देखियो।सायद नेपालका लागि, गृह मन्त्री र आईजीपी पद दुवै अपजसे पद नै हो कि ? — पूर्व एसएसपी