कञ्चनपुरमा तीनवटै सुरक्षा निकायलाई उच्च सतर्क रहन निर्देशन

1.1k Shares

महेन्द्रनगर- भारी वर्षाको पूर्वानुमानपछि कञ्चनपुरमा तीनवटै सुरक्षा निकायलाई उच्च सतर्क अवस्थामा राखिएको छ ।

सम्भावित बाढी तथा डुबानबाट जनधनको क्षति हुन नदिन जिल्लाका सबै स्थानीय तहमा सुरक्षा संयन्त्रलाई उद्धार सामग्री र तालिमप्राप्त जनशक्तिसहित तयारी अवस्थामा राखिएको हो ।

सशस्त्र प्रहरी बल, नेपाल नं. ३५ गण शैलेश्वरीका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रेमप्रकाश सिग्देलका अनुसार सशस्त्र प्रहरीले पाँच स्थानमा विपद् प्रतिकार्यका लागि तालिमप्राप्त जनशक्ति र उद्धार सामग्री तयारी अवस्थामा राखेको छ ।

‘कञ्चनपुरमा बाढी र डुबान हुनसक्ने सम्भावना रहेकाले सोहीअनुसार तयारी गरिएको छ । रबर बोटसहित तालिमप्राप्त सशस्त्र प्रहरी टोलीलाई तयारी अवस्थामा राखिएको छ,’ उनले भने, ‘डुबान हुनसक्ने अवस्थालाई मध्यनजर गर्दै विपद् व्यवस्थापनमा तालिमप्राप्त टोलीले तत्काल प्रतिक्रिया जनाउनेछ ।’

सशस्त्र प्रहरीले पुनर्वास नगरपालिका, बेलौरी नगरपालिका, दोधारा चाँदनी नगरपालिकाको देवीस्थान, भीमदत्त नगरपालिकाको मझगाउँ र शुक्लाफाँटा क्षेत्रमा टोली तयारी अवस्थामा राखेको छ । नदी तटीय क्षेत्रका सीमा सुरक्षा चौकी (बीओपी)लाई समेत उच्च सतर्क रहन निर्देशन दिइएको छ ।

सम्भावित बाढी तथा डुबानका बेला तत्काल उद्धार टोली परिचालन गर्न जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा ‘कमाण्ड पोस्ट’समेत स्थापना गरिएको छ । उक्त पोस्टले जिल्लाभरको वस्तुस्थितिको निगरानी गरिरहेको छ ।

त्यसैगरी नेपाली सेनाको श्री नं. २५ बाहिनीअन्तर्गतका गण तथा गुल्मलाई पनि विपद् प्रतिकार्यका लागि तयारी अवस्थामा राखिएको छ । बाहिनीअन्तर्गत रणसिंह दल गण र बराहदल गुल्मले सम्भावित बाढी तथा डुबान प्रभावित क्षेत्रका लागि तालिमप्राप्त टोलीलाई जिम्मेवारी तोकेर परिचालनको तयारी गरेको छ ।

कञ्चनपुरका नौवटै स्थानीय तहमा सेनाका विभिन्न टोलीलाई जिम्मेवारीअनुसार रबर बोट, सवारीसाधन तथा उद्धार सामग्रीसहित तयारी अवस्थामा राखिएको श्री नं. २५ बाहिनी अड्डाले जनाएको छ ।

भारी वर्षाको पूर्वानुमानपछि जिल्लाका स्थानीय तहले समेत नागरिकलाई सचेत गराउँदै आवश्यक तयारी थालेका छन् । जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको बैठकले विपद्का समयमा उद्धार, राहत तथा नागरिकको सुरक्षालाई प्राथमिकतामा राखेर प्रतिकार्य योजना अघि बढाएको छ ।

जिल्ला प्रशासन कार्यालयले उच्च सतर्कता अपनाउन आग्रह गर्दै भारी वर्षाका बेला अनावश्यक यात्रा नगर्न तथा महाकाली, जोगबुढा, मछेली, दोदा लगायतका नदी तथा खोलाका किनार र तटीय क्षेत्रमा विशेष सावधानी अपनाउन अनुरोध गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले पनि सम्भावित विपद्को पूर्वतयारीसहित प्रहरी टोलीलाई तयारी अवस्थामा राखिएको बताए।

‘प्रहरीले तटीय क्षेत्रमा सचेतनाका लागि माइकिङ गर्नुका साथै जिल्लामा समन्वय र सहकार्य गरी विपद् प्रतिकार्य, उद्धार तथा राहतका लागि तयारी अवस्थामा छ,’ उनले भने, ‘अहिलेसम्म क्षति हुने गरी वर्षा भएको छैन ।’

सम्बन्धित समाचार