ललितपुर । ललितपुरको गोदावरी नगरपालिका वडा नं. ६ स्थित आनन्दबन लेप्रोसी अस्पतालमा उपचारका लागि पुग्ने बिरामीले उपचार होइन झन् सास्ती भोग्दै आउनुपरेको गुनासो बढ्न थालेको छ । नियमित ओपीडी सेवाका क्रममा विरामीले अस्पतालको लापरवाहीको कारण भोग्नुपरेको समस्याका कारण अस्पताल व्यवस्थापनमाथि प्रश्न नै प्रश्न उठेको छ ।
अस्पतालमा इमर्जेन्सी सेवा २४ घण्टा सञ्चालनमा रहनु सकारात्मक कुरा हो। तर नियमित ओपीडी समयमा दिउँसो १२ बजेदेखि १ बजेसम्म खाना खाने समय भन्दै ल्याबलगायतका सेवाहरु बन्द हुने भएका कारण त्यसको प्रत्यक्ष मारमा बिरामीहरु पर्ने गरेका छन् ।
उपचारका लागि बिरामीहरु टाढाटाढाबाट अस्पताल आउँछन्। नाम दर्ता गराउन, चिकित्सकलाई देखाउन र आवश्यक परीक्षण गराउन आएका बिरामीले सेवा बन्द भएकै कारण एक घण्टासम्म कुर्नुपर्ने अवस्था आएको छ । यसले प्रत्यक्ष रुपमा विरामीहरुलाई समस्या पारिरहेको छ । यसतर्फ व्यवस्थापनले ध्यान दिनुपर्ने उपचारमा आएका विरामीहरुको गुनासो रहेको छ ।
अझ गम्भीर प्रश्न त यो छ कि, ओपीडीमा सेवा लिन आएको बिरामीले ल्याब बन्द भएकै कारण इमर्जेन्सीमा जानुपर्ने अवस्था छ । यदि सामान्य ओपीडी सेवाबाटै काम हुने बिरामीलाई इमर्जेन्सीमा जान बाध्य पारिन्छ भने त्यसले बिरामीमाथि थप आर्थिक तथा मानसिक भार थोपर्ने काम भइरहेको छ । इमर्जेन्सी भनेको आपत्कालीन अवस्थाका बिरामीका लागि हो, नियमित सेवाको व्यवस्थापन कमजोर भएर ओपीडीका बिरामीलाई इमर्जेन्सीतर्फ धकेलिनुपर्ने अवस्था आउनु हुँदैन। कर्मचारीलाई खाना खाने समय चाहिन्छ—यो स्वाभाविक हो। तर अस्पतालमा कर्मचारी पालैपालो व्यवस्थापन गरेर ल्याब र आवश्यक सेवा निरन्तर सञ्चालन गर्न सकिन्छ कि सकिदैन ?
आनन्दबन अस्पताल सामान्य अस्पताल मात्र होइन, लामो समयदेखि विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्दै आएको महत्वपूर्ण संस्था हो। उपलब्ध विवरणअनुसार अस्पतालमा क्लिनिकल ल्याबसहित विभिन्न सेवा सञ्चालन हुँदै आएका छन्।
त्यसैले अस्पताल प्रशासनसँग उपचारमा आएका विरामीहरुले गुनासो गर्ने गरेका छन् । बिरामीको एक घण्टाको समयको जिम्मेवारी कसले लिने ?, ल्याब सेवा बीचमै बन्द गर्नुको विकल्प किन खोजिँदैन ?, ओपीडी र इमर्जेन्सी सेवाबीच स्पष्ट र बिरामीमैत्री व्यवस्थापन किन हुँदैन ? अस्पताल प्रशासनले यस विषयलाई सामान्य गुनासोका रूपमा नभई बिरामीको सेवा र अधिकारसँग जोडिएको विषयका रूपमा लिएर तत्काल सुधार गर्न आवश्यक देखिएको विरामीहरुको गुनासो छ। स्वास्थ्य संस्थामा कर्मचारीको सुविधा महत्वपूर्ण छ, तर बिरामीको समय र स्वास्थ्य त्योभन्दा कम महत्वपूर्ण हुन सक्दैन। विरामीलाई उपचार र सेवा चाहिएको हो बहाना होइन यसतर्फ सम्बन्धित निकायको चासो जाओस् ।