काठमाण्डाै – सरकारले खाना पकाउने एलपी ग्यास भरी सिलिन्डर बिक्री गर्न थालेपछि शुरू भएको अभाव अहिले देशव्यापी बनेको छ ।
मध्यपपूर्वको तनावका कारण आपूर्तिमा समस्या भएपछि गएको फागुन २९ गतेदेखि आधा सिलिन्डर ग्यास बिक्री गर्न थालेको सरकारले गएको असार ३१ गतेदेखि भरी अर्थात् १४.२ किलोकै सिलिन्डर बिक्री गर्न थालेको हो । त्यसको केही दिनमै मुख्य शहरी क्षेत्रहरूमा ग्यास अभाव देखिएकोमा अहिले जुम्ला, सोलुखुम्बुजस्ता जिल्लामा पनि ग्यासको अभाव तीव्र बनेको छ ।
समस्या जटिल बनेपछि त्यसलाई समाधान गर्न पछिल्लो १ हप्ता सरकारले प्रयासलाई तीव्र बनाएको छ । तर समाधान भएको छैन । अहिले कतिपय उपभोक्ता पालो बसेको हप्ता १० दिनसम्म पनि ग्यास नपाएको बताउँछन् । केहीले कालोबजारीमा किन्नुपरेको बताउँछन् ।
हिजो भक्तपुरमा १ सिलिन्डर ग्यासको ७ हजार रुपैयाँमा बेचेको भन्दै प्रहरीले १ जनालाई पक्राउ गरेकाे थियाे । हिजो उद्योगमन्त्री आफैँले सङ्घीय राजधानी काठमाण्डौको उद्योग तथा बिक्री केन्द्रमा अनुगमनसमेत गर्नुभयो । तर पनि गुनासो आइरहेपछि आजदेखि वितरणका लागि प्रहरी परिचालन गरिएको छ ।
जिल्ला प्रहरी परिसरका अनुसार आज काठमाण्डौका ५५ वटा डिपोमा प्रहरी परिचालन गरेर ग्यास बिक्री गरिँदैछ । हिजो पनि प्रहरीले डिपोसँग समन्वय गरेर ७ हजार ७०० भन्दा धेरै सिलिन्डर ग्यास बिक्रीमा साथ दिएको थियो ।
ग्यासको कालोबजारी रोक्न काठमाण्डाै उपत्यकाका सबै डिपोमा सादा पोसाकमा प्रहरी परिचालन भएका छन् ।
ग्यासको आपूर्ति निरन्तर भइरहेको र अनावश्यक भण्डारण नगर्न आमउपभोक्तालाई निगमले आग्रह गरेको छ ।