विश्व। सहआयोजक देश मेक्सिकोलाई ३–२ गोल अन्तरले पराजित गर्दै इंग्ल्यान्ड विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । मेक्सिकोको घरेलु मैदान अज्टेका रंगशालामा आज बिहान भएको खेलमा इंग्ल्यान्डका लागि जुड बेलिङहमले २ तथा कप्तान ह्यारी केनले १ गोल गरे ।
मेक्सिकोका जुलियन क्विनोनेस र राउल जिमिनेजले १–१ गोल गरे । इंग्ल्यान्डले पहिलो हाफमा २–१ को अग्रता बनाएको थियो । दोस्रो हाफमा दुवैले थप १–१ गोल गरेका हुन् । ५४औँ मिनेटमा जारेल क्वान्साह रातो कार्ड खाएर बाहिरिएपछि इंग्ल्यान्ड १० खेलाडीमा सीमित थियो ।
घरेलु टोली मेक्सिको विश्वकपबाट बाहिरिने दोस्रो आयोजक बनेको छ । यसअघि अर्को आयोजक टोली क्यानडा पनि अन्तिम १६ बाटै बाहिरिसकेको छ । खराब मौसमका कारण मेक्सिको र इंग्ल्यान्डबीचको खेल एक घण्टा ढिला शुरु भएको थियो । इंग्ल्यान्डले अब क्वाटरफाइनलमा नर्वेसँग खेल्नेछ ।