ललितपुर । सम्पादक समाज नेपालले आन्तरिक पर्यटन क्षेत्रलाई प्रवद्र्धनका लागि ‘पत्रकार पदयात्रा’ कार्यक्रमहरु गर्दै आइरहेको छ ।
सोही क्रममा ललितपुरको दक्षिणी भेगको गोदावरी नगरपालिकाका प्राकृतिक, धार्मिक तथा सांस्कृतिक सम्पदालाई राष्ट्रियस्तरमा प्रवद्र्धन गर्ने उद्देश्यले सम्पादक समाज नेपालले असार २० गते शनिबार गोदावरी नगरपालिका वडा नं. ७ देवीचौरमा शनिबार पत्रकार पदयात्रा कार्यक्रम गरेको हो ।
गोदावरी नगरपालिका र सम्पादक समाज नेपालको समन्वयमा सो कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा विभिन्न सञ्चारमाध्यममा कार्यरत सम्पादक तथा पत्रकारहरूले गोदावरी नगरपालिकाभित्र रहेका धार्मिक, ऐतिहासिक तथा पर्यटकीय क्षेत्रहरूको अवलोकन गरेका थिए । पदयात्रा टोलीले गोदावरी नगरपालिकासँगै शक्ति पीठको रुपमा रहेको बज्रबाराही मन्दिर, देवीचौरको स्वर्गद्वारी, नवनिर्मित पिकनिक स्पर्ट, देवीचौर–देउरालीमा नवनिर्मित भ्यू टावरको अवलोकन गरेका थिए ।

देवीचौरको भ्युटावरमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको थियो । सो कार्यक्रममा सम्पादक समाज नेपालका महासचिव श्याम डोटेलले स्वागत मन्तव्य दिँदै समुदायसँग जोडिएको पत्रकारिताको आवश्यकता औँल्याउँदै अहिले पनि नेपाली पत्रकारिता कार्यक्रममुखी र गतिविधिमुखी समाचारमा बढी केन्द्रित रहेको जानकारी गराएका थिए । समुदायले आफ्नो दैनिकीसँग जोडिएका, तथ्यपरक, सन्तुलित र यथार्थमा आधारित सामग्री अपेक्षा गरिरहेको उल्लेख गर्दै उनले पत्रकारिताले स्थानीय समुदायका आवश्यकता, समस्या, सम्भावना र विकासका विषयलाई प्राथमिकतामा राख्नुपर्ने बताएका थिए ।
सम्पादक समाजले पत्रकार र स्थानीय समुदायबीच संवाद विस्तार गर्दै स्थानीय मुद्दालाई राष्ट्रिय बहसमा ल्याउने उद्देश्यले देशका विभिन्न स्थानमा यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको उनको भनाई राखेका थिए ।
सो कार्यक्रमका प्रमुख अतिथि गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले प्राकृतिक सौन्दर्य, धार्मिक तथा सांस्कृतिक सम्पदा र पर्यटनको अथाह सम्भावना हुँदाहुँदै पनि गोदावरीका धेरै पक्ष राष्ट्रिय सञ्चार माध्यममा अपेक्षाअनुसार आउन नसकेको बताएका थिए । उनले यस्ता कार्यक्रमले नगरपालिकाका सम्भावना र पहिचानलाई राष्ट्रियस्तरमा स्थापित गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । आफ्नो कार्यकालमा स्वास्थ्य, शिक्षालगायतका क्षेत्रमा उल्लेख प्रगति गरेको जानकारी गराएका थिए । करिब—करिब विद्यार्थी अभाव कारण विस्थापित हुन लागेका सामुदायिक विद्यालयहरुमा अहिले विद्यार्थीहरुको चाप बढेका कारण भवनको अभाव पर्दै गइरहेको र भवन थपका लागि केन्द्रसँग बजेटको माग गरेको जानकारी गराएका थिए । त्यस्तै मेयर महर्जनले स्वास्थ्यमा पनि सुविधा सम्पन्न जिल्ला अस्पताल निर्माण अन्तिम अवस्थामा पुगेको र गोदावरी नगरपालिकाका १४ वटै वडामा स्वास्थ्य केन्द्रमा डाक्टरहरु उपलब्ध गराई विरामीहरुको वडास्तरमै उपचार गर्ने वातावरण भइसकेको जानकारी गराएका थिए ।
मेयर महर्जनका अनुसार गोदावरी नगरपालिका भित्र पर्ने ठेचो, चापागाउँ, बाडेगाउँ, ठैव, झरुवारासी, लेलेलगायत क्षेत्रमा रहेका सांस्कृतिक सम्पदाको सूचीकरण गरी संरक्षण तथा विकासका काम भइरहेको छ । बाजागाजा, परम्परागत नाच, मठ–मन्दिर, गुठी तथा अन्य ऐतिहासिक संरचनाको संरक्षण, पुनर्निर्माण र प्रवद्र्धनलाई पनि प्राथमिकतामा राखी कतिपय कामहरु सम्पन्न भइसकेको र केही हुन बाँकी रहेको जानकारी गराएका थिए ।
विशेष अतिथि उपमेयर मुना अधिकारीले सम्पदा संरक्षणका लागि जनचेतना अभिवृद्धिमा सञ्चारमाध्यमको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै यस्ता पदयात्राले सम्पदाप्रतिको अपनत्व बढाउने विश्वास व्यक्त गरेकी थिइन् । स्थानीय सम्पदालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रचार–प्रसार गर्न पत्रकारहरूको योगदान उल्लेखनीय रहने उनको भनाई रहेको थियो । त्यस्तै गोदावारी नगरपालिका नामकरण भएको थोरै समय भएकाले राज्यले अलि ठूलो बजेट दिए धेरै काम गर्न सकिने पनि उनले जानकारी गराएकी थिइन् ।

यस्तै गोदावरी नगरपालिका वडा नं. ७ देवीचौरका वडाध्यक्ष मथुरा शर्मा वजगाईले गोदावरीको बिकट भनेर चिनिने देवीचौरलाई रोजेर सम्पादक समाजले पदयात्राको आयोजना गरेकोप्रति खुशी व्यक्त गर्दै यस्ता कार्यक्रमले स्थानीयस्तरमा पर्यटन प्रवर्धनमा ठूलो सहयोग पुग्ने बताएका थिए । उनले सम्पादक समाजको कामको प्रशंसा गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमहरू गर्न अनुरोध गरेका थिए ।
पदयात्राका क्रममा सहभागी पत्रकारहरूले देवीचौर क्षेत्रका विभिन्न मठ–मन्दिर, पाटी–पौवा, ढुंगेधारा, पुरातात्वीक संरचना तथा स्थानीय सांस्कृतिक सम्पदाको अवलोकन गरेका थिए । सम्बन्धित क्षेत्रका जानकारहरूले प्रत्येक सम्पदाको ऐतिहासिक पृष्ठभूमि, धार्मिक महत्व, वर्तमान अवस्था तथा संरक्षणका चुनौतीबारे जानकारी गराएका थिए । सहभागी पत्रकारहरूले सम्पदाको वास्तविक अवस्था प्रत्यक्ष अवलोकन गर्दै तस्बिर तथा भिडियो अभिलेखीकरण गरेका थिए । उनीहरूले सम्पदा संरक्षणका विषयलाई समाचार, फोटो फिचर, वृत्तचित्र तथा डिजिटल माध्यमबाट व्यापकरूपमा उजागर गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
नेपाल पत्रकार महासंघ ललितपुर शाखाका अध्यक्ष रामहरि कार्कीले तीव्र शहरीकरण, अव्यवस्थित विकास निर्माण, प्राकृतिक क्षयीकरण तथा संरक्षणप्रतिको कमजोर सचेतनाका कारण कतिपय ऐतिहासिक सम्पदा जोखिममा परेको उल्लेख गर्दै यस्ता सम्पदाको संरक्षणका लागि सरकार, स्थानीय तह, समुदाय र सञ्चारमाध्यमबीच प्रभावकारी सहकार्य आवश्यक रहेको धारणा राखेका थिए ।

सहभागीहरूले यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै गोदावरी नगरपालिकाभित्र रहेका अन्य ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको समेत अध्ययन, अवलोकन र प्रचार–प्रसार गरिनुपर्ने सुझाव दिएका थिए । सम्पादक समाजले हरेक वर्ष यस्तै कार्यक्रमहरू गर्दै आइरहेको छ । ०८१ सालको भदौमा नुवाकोटको लौके झरनामा पदयात्रा गरेको थियो भने गतवर्ष मेलम्चीको गुफाडाँडामा कार्यक्रम गरेको थियो ।

सम्पादक समाज नेपालका अध्यक्ष पुरु रिसालले स्थानीय तह र सञ्चारमाध्यमबीच सहकार्यलाई थप सुदृढ बनाउँदै स्थानीय मुद्दालाई राष्ट्रिय बहसमा स्थापित गर्ने उद्देश्यले यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताएका थिए ।