अर्थमन्त्री शर्मासँग भागबण्डाको कुरा मिलेपछि एआईजी दरबन्दी थपिँदै

19.7k Shares

काठमाडौं । शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेलगत्तै सुरु भएको नेपाल प्रहरीको तीन एआईजी दरबन्दी थपको अभ्यास अर्थमन्त्री जनार्दन शर्माका कारण रोकिँदै आएको भए पनि भागबण्डा मिलेपछि दरबन्दी थप गर्ने अन्तिम चरणमा पुगेको छ ।

अर्थमन्त्री शर्माले सुरुमा बजेटको समस्या हुने बताउँदै स्वीकृति दिन नसकिने अडान लिएका थिए । तर, आफ्नो तर्फबाट एक जनालाई एआईजीमा बढुवा गर्नुपर्ने सर्त राखेपछि गृहमन्त्री बालकृष्ण खाण र प्रधानमन्त्री देउवा उनले भनेका डीआईजीलाई एआईजीमा बढुवा गर्न तयार भएपछि एआईजी दरबन्दी थप गर्ने अन्तिम तयारीमा पुगेको हो ।

अहिले निर्वाचन आचारसंहिताका कारण रोकिएको भए पनि माघ १२ गते राष्ट्रिय सभाको निर्वाचन सकिएपछि एआईजी थपको निर्णय गर्ने सरकारको तयारी छ । त्यतिबेलासम्म अर्थ मन्त्रालयबाट स्वीकृति लिइसक्ने गृहले तयारी गरेको छ । 

गृह मन्त्रालय श्रोतका अनुसार बढुवा हुने एआईजीबारे पनि मोटामोटी सहमति भइसकेको जनाएको छ ।  निर्वाचन आचारसंहिताका कारण केही दिन ढिलाइ भएको गृहका एक सहसचिवले जानकारी दिए । यसअघि केपी ओली नेतृत्वको सरकारले आफूनिकट दुई डीआईजीलाई एआईजीमा बढुवा गरेको थियो । सुरुमा तत्कालीन उपप्रधानमन्त्री ईश्वर पोख्रेलको जोडमा विश्वराज पोख्रेल बढुवा भएका थिए । सरकार परिवर्तन हुने बेलामा सहकुल थापालाई पनि दरबन्दी थप गरेरै एकल एआईजीमा बढुवा गरिएको थियो ।

एमाले नेतृत्वको सरकारले आफूनिकटलाई एआईजी बनाएपछि बाँकी रहेका डीआईजीले शेरबहादुर देउवा प्रधानमन्त्री बनेलगत्तै एआईजीको दरबन्दी थप गर्न लबिइङ गरिरहेका थिए । सुरुमा आर्थिक व्यवस्थापनमा समस्या हुने बताउँदै आएका अर्थमन्त्री जनार्दन शर्माकै कारण दरबन्दी थपमा ढिलाइ भएको गृह मन्त्रालय श्रोत बताउँछ । तर, अहिले भागबण्डा पाएपछि भने मन्त्री शर्मा दरबन्दी थपका लागि स्वीकृति दिन तयार भएका हुन् । 

एआईजी बढुवामा डीआईजी रवीन्द्र धानुक बढुवा हुने निश्चित रहेको गृह श्रोतले जानकारी दिएको छ । हालका डीआईजीमध्ये माथिल्लो वरीयतामा रहेका चार जना डीआईजी आईजीपीकै ब्याची हुन् । तीमध्ये ईश्वरबाबु कार्कीको एआईजीमा बढुवा हुने सम्भावना बढि छ । सोही ब्याचका वसन्तकुमार पन्त पनि एआईजीका लागि लबिइङमा छन् । सोही ब्याचका घनश्याम अर्याल र प्रकाशजंग कार्कीको भने जोडबल देखिएको छैन । पाँचौँ नम्बरमा डीआईजी भएका सहकुलबहादुर थापा यसअघि नै एआईजी भइसकेका छन् ।

रबिन्द्र धानुकसँगै धिरजप्रताप सिंह र वसन्तकुमार लामा पनि एआईजीको दौडमा छन् । तर सिंहको तुलनामा लामाको सम्भावना कम छ । सिंहको पनि बालुवाटार जग्गा प्रकरणको मुद्दापछि गृह र प्रधानमन्त्रीसँग सम्बन्ध सुमधुर छैन । 

यस्तै, यसअघि एआईजी भएका सोही ब्याचका दुई जनाले पनि सिंहलाई रोक्न जोडबल लगाइरहेका छन् । सिंहलाई शैलेश थापापछि आईजीपीका रुपमा हेरिएको भए पनि एसएसपी बढुवाबाट उनी पछि पर्दै गएका छन् । त्यसअघि यो ब्याचको पहिलो नम्बरमा सिंह नै थिए । 

बाँकी दुई एआईजीका लागि डीआईजी उत्तमराज सुवेदी र अरुणकुमार बीसीको पनि नाम चर्चामा छ । उनीहरु १० जना डीआईजी बढुवा गर्दा क्रमशः नवौँ र दशौँ नम्बरमा बढुवा भएका हुन् । 

दरबन्दी थप गर्दै एआईजीमा बढुवा भएसँगै भावी आईजीपीको खेल सुरु हुनेछ । हालका आईजीपी शैलेश थापा क्षेत्रीले वैशाख १८ गते अवकाश पाउनेछन् । उनीसँगै एआईजीहरु हरि पाल, निरज शाही र प्रद्युम्नकुमार कार्कीले पनि अनिवार्य अवकाश पाउँदा सोही ब्याचका सबै डीआईजीहरु पनि घर जानेछन् । 

वैशाख १८ पछिको आईजीपीमा विश्वराज पोख्रेलको सम्भावना बढी छ । एमाले नेतृत्वको सरकारले एकल एआईजी बनाएका पोख्रेलको देउवासँग पनि पहिल्यैबाट सम्बन्ध राम्रो छ । त्यसो त अन्य एआईजीभन्दा पहिले नै उनी बढुवा भएका कारण पनि थप सहज देखिएको छ । देउवा सरकारसँग एआईजी सहकुल थापाले पनि पछिल्लो समय सम्बन्ध सुधार गरेका छन् । थापा र पोख्रेलसँगै अब एआईजीको दौडमा रहेका डीआईजीहरु एउटै ब्याचका हुन् । सरकारले एआईजी मध्येबाट आईजीपी बनाउन सक्ने भएकाले उनीहरुको पनि दौडधुप रहने देखिन्छ । यसअघि पनि वरीयतामा अगाडि रहेकालाई जिल्याउँदै सरकारले आईजीपी नियुक्त गरेका उदाहरण छन् ।

सम्बन्धित समाचार