काठमाण्डाै – सरकारले ल्याएको आउँदाे आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम छलफलका लागि राष्ट्रियसभामा पेश भएको छ । आज बसेको सभाको दोस्रो बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलले अस्ति सोमवार सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । त्यही नीति तथा कार्यक्रममाथि राष्ट्रियसभामा छलफल शुरू भएको छ । राष्ट्रियसभाका १९ जना सांसदले नीति तथा कार्यक्रममा ८ वटा संशाेधन प्रस्ताव दर्ता गराएका छन् ।
यसैबीच सरकारले ल्याएको आउँदाे आर्थिक वर्षको नीति तथा कार्यक्रमको राष्ट्रियसभामा चर्को आलोचना भएको छ । नीति तथा कार्यक्रममाथि छलफल गर्ने क्रममा सांसदहरूले सरकारले ल्याएको नीति तथा कार्यक्रम लक्ष्यविहीन भएको टिप्पणी गरेका छन् ।
नेपाली कम्युनिस्ट पार्टीका राष्ट्रियसभा संसदीय दलका नेता झक्कुप्रसाद सुवेदीले नीति तथा कार्यक्रममा नयाँ आर्थिक नीति, स्पष्ट विकास मोडेल तथा रूपान्तरणकारी दृष्टिकोणको अभाव रहेको टिप्पणी गर्नुभयो । देशको अवस्थाको यथार्थ विश्लेषण नगरी नारा केन्द्रित कार्यक्रम ल्याइएको उहाँको आरोप छ ।
नेकपा एमालेका राष्ट्रियसभा संसदीय दलका नेता प्रेमप्रसाद दङ्गालले सरकारको नीति तथा कार्यक्रमलाई सारहीन, लक्ष्यहीन र गन्तव्यहीन भएको टिप्पणी गर्नुभयो । उहाँले देशको आर्थिक अवस्था, लगानी सङ्कट, व्यावसायिक सुस्तता तथा आर्थिक वृद्धिमा आएको सङ्कुचनजस्ता गम्भीर विषयलाई नीति तथा कार्यक्रमले सम्बोधन गर्न नसकेको बताउनुभयो ।
नेपाली कांग्रेसका सांसद किरणबाबु श्रेष्ठले सरकारले वर्तमान आर्थिक तथा सामाजिक सङ्कटलाई समाधान गर्ने गरी नीति तथा कार्यक्रम ल्याउन नसकेको बताउनु भयो । उहाँले २०८१ र २०८३ सालमा प्रस्तुत नीति तथा कार्यक्रमबीच उल्लेखनीय भिन्नता नदेखिएको टिप्पणी गर्दै धेरैजसाे कार्यक्रम दोहोरिएको आरोप लगाउनुभयो । उहाँले केही सुधारात्मक र महत्त्वाकाङ्क्षी विषय समेटिए पनि नयाँ पन नदेखिएको उल्लेख गर्नुभयो ।
सांसदहरूले नीति तथा कार्यक्रम कार्यान्वयनयोग्य, जवाफदेही र नतिजामुखी हुनुपर्नेमा जोड दिएका छन् ।