बारा । बारा जिल्लाको सीमावर्ती क्षेत्र कबहीगोठ नाका पछिल्लो समय संगठित तस्करीको केन्द्र बन्दै गएको स्थानीयले गम्भीर आरोप लगाएका छन्। नेपाल–भारत सीमासँगै जोडिएको यो नाका दिनको समयमा शान्त देखिए पनि राति १० बजेदेखि १२ बजेसम्म तस्करहरूको खुला खेल मैदान बन्ने गरेको स्थानीय बासिन्दाको भनाइ छ।स्थानीय स्रोतका अनुसार, यहाँबाट दैनिक लाखौंदेखि करोडौं रुपैयाँ बराबरका कपडा, सुखा सामान तथा किराना सामग्री अवैध रूपमा भारततर्फ निकासी भइरहेको छ। अझ गम्भीर कुरा के छ भने, यो सम्पूर्ण गतिविधि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संरक्षण र मिलेमतोमै भइरहेको आरोप छ।
‘ठेक्का प्रणाली’मा तस्करी सञ्चालन
कबहीगोठ नाकामा तस्करी कुनै सामान्य अवैध गतिविधि नभई संगठित ‘ठेक्का प्रणाली’मार्फत सञ्चालन भइरहेको स्थानीयले बताएका छन्। सतगंज घर भएका इन्द्रजित लाई नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्त रूपमा तस्करीको लाइन जिम्मा दिएको दाबी गरिएको छ।स्थानीयका अनुसार, इन्द्रजितले तस्करी सञ्चालनका लागि करिब १० जनालाई छुट्टाछुट्टै ‘लाइन’ बाँडेर काम गराइरहेका छन्। यी लाइनमार्फत विभिन्न प्रकारका सामान नियमित रूपमा सीमापार गरिन्छ।इन्द्रजितको घर नै सीमाबाट करिब २० मिटर दूरीमा रहेको बताइन्छ, जसले गर्दा तस्करी नियन्त्रण गर्नुपर्ने निकायकै आँखामुनि अवैध गतिविधि निर्बाध रूपमा सञ्चालन भइरहेको देखिन्छ।
राति मात्र ‘सक्रिय’ हुने नाका
दिउँसो सुनसान देखिने कबहीगोठ नाका राति भने अत्यन्तै सक्रिय हुने गरेको छ। स्थानीयका अनुसार, राति १० बजेदेखि १२ बजेसम्मको समय तस्करीका लागि ‘सुरक्षित समय’ तोकिएको छ।यस अवधिमा कुनै चेकजाँच नगरी तस्करहरूले निर्बाध रूपमा सामान ओसारपसार गर्ने गरेका छन्। कतिपय अवस्थामा सुरक्षा निकायका व्यक्तिहरू स्वयं उपस्थित भई ‘लाइन क्लियर’ गराउने कामसमेत हुने गरेको आरोप छ।
प्रहरीकै मिलेमतोरु
कबहीगोठमा रहेको नेपाल प्रहरी चौकीका प्रमुख रामकुमार यादव माथि तस्करी नियन्त्रणमा उदासीनता मात्र नभई संलग्नता रहेको आरोप लागेको छ।स्थानीय स्रोतका अनुसार, तस्करीसम्बन्धी सम्पूर्ण ‘मैनेजमेन्ट’ सई यादवका विश्वासपात्र घुमुवा हवल्दार सन्दिप ठाकुर ले गर्दै आएका छन्। ठाकुरले तस्करहरूसँग प्रत्यक्ष भेटघाट गर्ने, रकम असुल्ने र ‘लाइन मिलाउने’ काम गर्ने गरेको आरोप छ।
सशस्त्र प्रहरी पनि ‘मौन सहमति’मा
नेपाल प्रहरी मात्र होइन, सशस्त्र प्रहरी बलको कबहीगोठस्थित बीओपी ९बोर्डर आउट पोस्ट० पनि यस प्रकरणमा मुछिएको छ।स्रोतका अनुसार, बीओपीका इन्चार्ज प्रकाश राज पन्त ले तस्करीका लागि आवश्यक सम्पूर्ण ‘व्यवस्था मिलाउने’ काम गर्ने गरेका छन्।स्थानीयहरू भन्छन्, “दुवै सुरक्षा निकायको मिलेमतो बिना यति ठूलो परिमाणमा तस्करी सम्भव नै हुँदैन।”
दैनिक ठूलो राजस्व क्षति
कबहीगोठ नाकाबाट हुने तस्करीका कारण नेपाल सरकारले दैनिक ठूलो मात्रामा राजस्व गुमाइरहेको छ।व्यापारिक कर, भन्सार शुल्क तथा अन्य राजस्व संकलन हुनुपर्ने सामानहरू अवैध रूपमा बाहिरिँदा राज्यकोषमा गम्भीर असर परेको छ। यसले कानुनी व्यवसायीहरूलाई समेत प्रतिस्पर्धामा असर पारिरहेको छ।तस्करीको विषयमा खुला रूपमा बोल्न स्थानीयहरू डराउने गरेका छन्। कारण—तस्कर र सुरक्षा निकायबीचको कथित साँठगाँठ।एक स्थानीयले नाम नखुलाउने सर्तमा भने, “हामीले आवाज उठायौं भने उल्टै हामीमाथि नै मुद्दा लगाइन्छ भन्ने डर छ। यहाँ सबै कुरा मिलेमतोमै चलिरहेको छ।”
यति ठूलो स्तरमा भइरहेको तस्करी र त्यसमा सुरक्षा निकायकै संलग्नताको आरोप गम्भीर विषय भए पनि हालसम्म कुनै उच्चस्तरीय छानबिन सुरु भएको छैन।सरकार, गृह मन्त्रालय तथा सुरक्षा निकायका उच्च अधिकारीहरूले यस विषयमा तत्काल ध्यान नदिए स्थिति झन् जटिल बन्ने देखिन्छ।कबहीगोठ नाकामा भइरहेको यो गतिविधिले केवल राजस्व मात्र होइन, राज्यको सुरक्षा प्रणालीमाथिको विश्वाससमेत कमजोर बनाएको छ।कबहीगोठ नाका अहिले संगठित तस्करीको ‘हब’ जस्तै बनेको छ, जहाँ सुरक्षा निकायको संरक्षणमै अवैध व्यापार फस्टाइरहेको आरोप छ। यदि यथाशीघ्र निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गरिएन भने, यसले समग्र राज्य व्यवस्थामै गम्भीर प्रश्न उठाउने निश्चित छ।