प्रहरीकै ‘सेटिङ’मा भारतीय कुखुराको तस्करी,  पश्चिम नवलपरासीका दुई नाका तस्करको सुरक्षित मार्ग

8k Shares

परासी । पश्चिम नवलपरासीका सीमावर्ती क्षेत्रबाट भारतीय कुखुराको व्यापक तस्करी भइरहेको तथ्य बाहिरिएको छ । जिल्लाको गेर्मी र सनई नाकाबाट दैनिक रूपमा साइकल र मोटरसाइकल प्रयोग गरेर ठूलो परिमाणमा भारतीय कुखुरा नेपाल भित्र्याइँदै आएको स्थानीय स्रोतले जनाएको छ।
सीमा क्षेत्रमा भइरहेको यो अवैध कारोबारमा तस्करहरू मात्र सक्रिय छैनन्, बरु सुरक्षामा खटिएका प्रहरी अधिकारीहरूसँगैको ‘सेटिङ’का कारण तस्करी झन् निर्बाध भइरहेको आरोप समेत उठ्न थालेको छ। स्थानीय व्यवसायी र स्रोतका अनुसार गेर्मीस्थित प्रहरी चौकीका प्रमुख असई रामप्रसाद यादव र सनई प्रहरी चौकीका प्रमुख सई भुपेन्द्र कार्कीको मिलेमतोमा तस्करहरूले सहज रूपमा कुखुरा भित्र्याइरहेका छन्।
स्रोतका अनुसार यी दुवै नाकाबाट तस्करी हुने भारतीय कुखुरा मुख्यतः साइकल, मोटरसाइकल तथा साना सवारी साधन प्रयोग गरेर नेपालतर्फ ल्याइन्छ। सीमावर्ती भारतीय बजारबाट सस्तो मूल्यमा खरिद गरिएको कुखुरा रातको समयमा तथा बिहान सबेरै नेपाल भित्र्याइन्छ।स्थानीयका अनुसार दैनिक सयौँको सङ्ख्यामा कुखुरा यिनै नाकाबाट नेपाल ल्याइन्छ, जसले गर्दा सीमावर्ती गाउँहरूमा तस्करीको जालो फैलिएको छ। सीमाबाट ल्याइएको कुखुरा पछि विभिन्न साना सवारी साधनमा लोड गरी जिल्लाभित्र मात्र नभई रुपन्देही, कपिलवस्तु लगायतका जिल्लामा समेत पठाइने गरिएको बताइन्छ।
यसैबीच दुई दिनअघि तस्करी गरेर नेपाल ल्याइएको कुखुरा रुपन्देही लैजाने क्रममा प्रहरीले एक पिकअपसहित ठूलो परिमाणमा कुखुरा बरामद गरेको घटना सार्वजनिक भएको छ।रुपन्देही प्रहरीले नियन्त्रणमा लिएको उक्त कुखुरा पश्चिम नवलपरासीको सीमावर्ती क्षेत्रबाट तस्करी गरेर ल्याइएको प्रारम्भिक अनुसन्धानबाट खुलेको स्रोत बताउँछ।यो घटनाले सीमामा भइरहेको तस्करीको वास्तविकता उजागर गरेको छ। सीमाबाट सजिलै भित्रिएको कुखुरा अन्य जिल्लासम्म पुगिरहेको तथ्यले सुरक्षा संयन्त्रको प्रभावकारितामाथि नै गम्भीर प्रश्न उठाएको छ।
स्थानीय स्रोतका अनुसार तस्करहरूले सीमामा खटिएका प्रहरी अधिकारीसँग नियमित ‘सेटिङ’ मिलाएर अवैध कारोबार सञ्चालन गरिरहेका छन्।जिल्ला प्रहरी कार्यालय स्रोतका अनुसार गेर्मी र सनई प्रहरी चौकीमा कार्यरत प्रमुखहरूलाई त्यहीँ बसाइ राख्न पनि माथिल्लो तहसम्म मिलेमतो भएको आशंका व्यक्त गरिएको छ।स्रोत भन्छ,“सीमामा यति ठूलो मात्रामा कुखुरा तस्करी भइरहेको छ भने चौकीका प्रहरीलाई थाहा नहुने कुरा सम्भव छैन। बरु उनीहरूकै सहमतिमा तस्करी भइरहेको जस्तो देखिन्छ।”स्थानीयका अनुसार प्रहरी चौकी आसपासमै खुलेआम कुखुरा बोकेर साइकल र मोटरसाइकल आवतजावत गर्ने दृश्य सामान्यजस्तै बनेको छ।
भारतीय कुखुराको अवैध आयातका कारण नेपाली कुखुरा व्यवसायीहरू गम्भीर संकटमा परेका छन्।नेपालमा उत्पादन हुने कुखुराको लागत भारतको तुलनामा महँगो पर्ने भएकाले तस्करी गरेर ल्याइने कुखुरा सस्तो मूल्यमा बजारमा बिक्री हुने गर्छ।यसका कारण स्थानीय किसान तथा व्यवसायीले उत्पादन गरेको कुखुरा बिक्री हुन नसक्ने अवस्था सिर्जना भएको छ।पश्चिम नवलपरासी र आसपासका जिल्लामा कुखुरा पालन व्यवसाय सञ्चालन गरिरहेका किसानहरूका अनुसार तस्करीका कारण बजार अस्थिर भएको छ।
एक व्यवसायीले भने,“हामीले वैधानिक रूपमा उत्पादन गरेर बजारमा ल्याएको कुखुरा लागत नै उठ्दैन। तर तस्करी गरेर ल्याइएको भारतीय कुखुरा सस्तोमा बेचिन्छ। यसले हाम्रो व्यवसाय नै धरापमा परेको छ।”उनका अनुसार सरकारले नियन्त्रण नगरे धेरै किसान व्यवसाय बन्द गर्न बाध्य हुने अवस्था आउन सक्छ।
भारतीय कुखुराको अवैध आयातले नेपाली व्यवसायी मात्र होइन, राज्यको अर्थतन्त्रलाई समेत प्रत्यक्ष असर पु¥याइरहेको छ।वैधानिक रूपमा आयात हुने कुखुरा तथा कुखुरा जन्य पदार्थमा सरकारले भन्सार राजस्व उठाउने व्यवस्था छ। तर तस्करी भएर भित्रिने कुखुराबाट राज्यले कुनै पनि प्रकारको राजस्व पाउँदैन।अर्थतन्त्रका जानकारहरूका अनुसार यस्ता अवैध कारोबारले राज्यको राजस्व प्रणालीलाई कमजोर बनाउनुका साथै अवैध अर्थतन्त्रलाई प्रोत्साहन गर्छ।विशेषज्ञहरू भन्छन्,“सीमा क्षेत्रमा हुने यस्तो तस्करीले सरकारलाई करोडौँ रुपैयाँ बराबरको राजस्व घाटा पु¥याउँछ। यसले वैधानिक व्यापारलाई समेत हतोत्साहित गर्छ।”
तस्करी भएर आउने कुखुराले जनस्वास्थ्यमा समेत जोखिम बढाउने विज्ञहरूले चेतावनी दिएका छन्।किनभने सीमाबाट ल्याइने कुखुरामा स्वास्थ्य परीक्षण वा पशु क्वारेन्टिनको प्रक्रिया पूरा गरिएको हुँदैन।यस्तो अवस्थामा विभिन्न प्रकारका रोग फैलिने खतरा पनि उच्च हुने पशु स्वास्थ्य विज्ञहरू बताउँछन्।सीमा क्षेत्रमा तस्करी नियन्त्रण गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी र भन्सार कार्यालय जिम्मेवार हुन्छन्।
तर व्यवहारमा भने यी निकायबीच समन्वय अभाव र कतिपय अवस्थामा भ्रष्टाचारका कारण तस्करी नियन्त्रण हुन नसकेको स्थानीयको आरोप छ।विशेषगरी साना नाकाहरूबाट हुने तस्करी नियन्त्रणमा सरकारी निकायको ध्यान कम जाने गरेको देखिन्छ।स्थानीयका अनुसार गेर्मी र सनई नाका यस्तै संवेदनशील तर कमजोर निगरानी भएका नाकामध्येका हुन्।
उनीहरूले सीमामा खटिएका प्रहरी अधिकारीहरूको भूमिका समेत गम्भीर रूपमा अनुसन्धान गर्नुपर्ने बताएका छन्।स्थानीयको भनाइ छ,“यदि प्रहरीकै मिलेमतोमा तस्करी भइरहेको हो भने त्यसले राज्यको कानुनी प्रणालीप्रति नै जनताको विश्वास कमजोर बनाउँछ।”उनीहरूका अनुसार सीमामा कडाइ नगरेसम्म भारतीय कुखुराको तस्करी रोक्न सम्भव छैन।

सम्बन्धित समाचार