रहेनन् जर्मन दार्शनिक जुर्गेन हाबर्मास

5.4k Shares

प्रसिद्ध जर्मन दार्शनिक तथा सामाजिक समालोचक जुर्गेन हाबर्मासको ९६ वर्षको उमेरमा निधन भयो।
उनी फ्र्याङ्कफर्ट स्कूलका प्रमुख विचारक मानिन्थे, जसले पुँजीवादी समाजको आलोचना गर्थ्यो।
हाबर्मासले तर्कपूर्ण संवाद र सार्वजनिक बहसको क्षमताले समाजलाई स्थिर राख्छ भन्ने तर्क राखेका थिए।
बर्लिन । प्रसिद्ध जर्मन दार्शनिक तथा सामाजिक समालोचक जुर्गेन हाबर्मासको ९६ वर्षको उमेरमा निधन भएको छ । द्वितीय विश्वयुद्धपछिको जर्मनीका सबैभन्दा प्रभावशाली सार्वजनिक बौद्धिकमध्ये एक मानिने हाबर्मासको निधनको खबर शनिबार उनको प्रकाशक सुहक्र्याम्पले पुष्टि गरेको हो । 

सन १९२९ जुनमा डसेलडोर्फमा जन्मिएका हाबर्मासले दर्शनशास्त्र अध्ययन गरी मारबर्ग विश्वविद्यालयबाट विद्यावारिधि गरेका थिए । त्यसपछि उनले फ्र्याङ्कफर्ट विश्वविद्यालयअन्तर्गतको सामाजिक अनुसन्धान संस्थानमा अध्यापन र अनुसन्धान सुरु गरेका थिए ।

उनी फ्र्याङ्कफर्ट स्कूलका प्रमुख विचारक मानिन्थे । यो बौद्धिक समूहले पुँजीवादी समाजको आलोचना गर्दै आलोचनात्मक सिद्धान्तको विकास गरेको थियो । 

हाबर्माससँगै म्याक्स होर्कहाइमर र थियोडोर एडोर्नो पनि यस धाराका प्रमुख प्रतिनिधि थिए । १९६० को दशकमा उनले पश्चिम जर्मनीका विश्वविद्यालयहरूमा चलेको विद्यार्थी आन्दोलनलाई खुलेर समर्थन गरेका थिए । उनी नाजी जर्मनीको समयमा हुर्किएका थिए र पछि जर्मनीको इतिहास, विशेषगरी होलोकास्टको विषयमा भएको बहसमा सक्रिय रूपमा सहभागी भएका थिए ।

हाबर्मासको सबैभन्दा प्रभावशाली कृति द थ्योरी अफ कम्युनिकेटिभ एक्शन (१९८१) हो । यस पुस्तकमा उनले समाजको स्थायित्व राजनीतिक वा आर्थिक शक्तिले मात्र होइन, तर्कपूर्ण संवाद र सार्वजनिक बहसको क्षमताले कायम राख्छ भन्ने तर्क प्रस्तुत गरेका छन् । १९९० को दशकमा उनले एकीकृत युरोपको वकालत गर्दै राष्ट्रवादको पुनरुत्थान रोक्नका लागि युरोपेली एकता आवश्यक भएको बताएका थिए ।

सम्बन्धित समाचार