बमसहित प्रतिनिधिसभा उम्मेदवार पक्राउ परेपछि पर्सामा सुरक्षा सतर्कता कडाई

5.2k Shares

पर्सा । प्रतिनिधिसभा निर्वाचनको पूर्वसन्ध्यामा बमसहित एक उम्मेदवार पक्राउ परेपछि पर्सामा सुरक्षा सतर्कता कडा बनाइएको छ ।
नेपाल कम्युनिस्ट पार्टी पर्सा क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार मनोज चौधरीलाई बमसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी गराएको छ ।
प्रहरीका अनुसार चौधरी सवार बा १० च १२५० नम्बरको गाडीमा ‘होक्सी बम’ फेला परेपछि उनलाई पर्सागढी नगरपालिका–बढनिहार क्षेत्रबाट नियन्त्रणमा लिएको हो । गाडीमा सवार अन्य तीन जनालाई पनि सोही घटनासम्बन्धी सोधपुछका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
पर्सा प्रहरी प्रमुख सुदिपराज पाठकले बुधबार बिहान आयोजित पत्रकार सम्मेलनमा गाडीबाट शंकास्पद वस्तु फेला परेपछि सुरक्षाका दृष्टिले सेनाको सहयोगमा उक्त बम डिस्पोज गरिएको जानकारी दिए । ‘उम्मेदवार सवार गाडीमा बमजस्तो वस्तु भेटिएपछि तत्काल नियन्त्रणमा लिएर बिहानै सेनामार्फत् निष्क्रिय पारिएको हो,’ एसपी पाठकले बताए ।
प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको भन्दै पक्राउ परेकाहरूको विस्तृत विवरण सार्वजनिक गर्न नमिल्ने जनाएको छ ।
चौधरीविरुद्ध निर्वाचन ऐन २०७३, मुलुकी फौजदारी संहिता अन्तर्गत विस्फोटक पदार्थसम्बन्धी कसुर तथा सार्वजनिक शान्तिविरुद्धको कसुर गरी तीन शीर्षकमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
दुई नम्बर प्रदेशका प्रमुख डीआईजी गोविन्द थपलियाले निर्वाचन बिथोल्ने वा शान्ति–सुरक्षामा खलल पु‍¥याउने जो–कोहीलाई कानुनी दायरामा ल्याएर कारबाही अगाडि बढाउने चेतावनी दिएका छन् ।
निर्वाचनको ठीक अघिल्लो दिन उम्मेदवार नै बमसहित पक्राउ परेपछि पर्सा जिल्लामा राजनीतिक तथा सुरक्षा वृत्तमा तरंग सिर्जना भएको छ । प्रहरीले जिल्लाभर निगरानी र सुरक्षा व्यवस्था थप कडा बनाएको जनाएको छ ।

सम्बन्धित समाचार