रातो मच्छिन्द्रनाथको क्षमापूजा गरिने, २१ गते आंशिक रथ तानिने

16k Shares

ललितपुर । निशेधाज्ञा तोड्दै रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा स्थानीय र प्रहरीबीच भएको झडपपछि बिहीबार बसेको जात्रा व्यवस्थापन कार्यदल तथा ज्यापु समाजको बैठकले रथयात्रा कसरी सम्पन्न गर्ने भनी निर्णय गरेको छ ।
बैठकपछि जारी प्रेस विज्ञप्तिअनुसार सम्बन्धित सबै सरोकारवालाको सहमतिमा रातो मच्छिन्द्रनाथ जात्राका सबै विधि हाल रथ भएकै स्थानमा सम्पन्न गर्ने निर्णय भएको छ ।
बैठकले यसको निम्ति कार्यतालिका पनि सार्वजनिक गरेको छ । यसअनुसार भदौ १९ गते शुक्रबार क्षमापूजा गरिनेछ । यसको निम्ति ललितपुर महानगरको रिङरोडभित्र पर्ने क्षेत्रमा बिहान ४ देखि राति १० बजेसम्म कर्फ्यू लगाइएको छ ।
कर्फ्यूकै बीच क्षमापूजा सम्पन्न गरेपछि भदौ २१ गते सोह्रखुट्टे पाटीसम्म रथ तान्ने र छ्वयलाबु विधि गरिनेछ । त्यसको भोलिपल्ट भदौ २२ गते भुज्या मनाइनेछ र साइत हेरिनेछ ।
सम्भवतः भदौ २६ गतेको साइत जुर्न सक्ने कार्यदलको अनुमान छ । त्यही साइतमा रातो मच्छिन्द्रनाथलाई बुंगमति प्रस्थान गराउने निर्णय भएको विज्ञप्तिमा छ ।
यस वर्ष असोज २ गतेबाट मलमास सुरू हुँदैछ । मलमास सुरू भएपछि एक महिना रथ तान्न मिल्दैन । त्यो अवधिभरि रथयात्रा नगर्ने हो भने दसैंअगाडि जात्रा सम्पन्न गर्न सकिँदैन । जबकि, दसैंका लागि बुंगमतीमा मच्छिन्द्रनाथ नभई हुँदैन ।
बुंगद्यःलाई मलमास अगाडि नै बुंगमति पु¥याउने उद्देश्यका साथ रथ तान्न खोजिँदा बिहीबारको घटना भएको स्थानीय बताउँछन् । कार्यदलको बैठकले बिहीबार भएको घटनाप्रति खेद पनि व्यक्त गरेको छ ।
 

सम्बन्धित समाचार