अध्यक्ष ओली र साहसँगको बढ्दो फोटो ‘क्रेज’

7.2k Shares
 

दमक। झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेद्वार बनेसँगै नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा काठमाडौँ महानगरपालिकाका निवर्तमान मेयर बालेन्द्र साह (बालेन) सँग अहिले स्थानीयले तस्बिर लिने क्रेज बढेको छ । 

झापा निर्वाचन ५ बाट उहाँहरुको उम्मेद्वारी घोषणा भए यता दुबै नेतासँग भेटघाट र तस्बिर खिचाउने सर्वसाधारण, कार्यकर्ता र समर्थकहरूको घुइँचो थामिनसक्नु भएको छ । घरदैलो कार्यक्रमभन्दा पनि ‘भेटेर फोटो खिचाउने लाइन’ लामो देखिन्छ । बिहानदेखि राति अबेरसम्म फोटो खिचाउनेको ओइरो लागेपछि दुबै नेताको सचिवालयलाई समय व्यवस्थापन, भिड नियन्त्रण र सुरक्षा समन्वयमा हम्मे परेको छ । 

अध्यक्ष ओली र साह दुवैको लोकप्रियता फरक आधारमा स्थापित छ । ओली अनुभवी नेता हुनुहुन्छ, पटक–पटक प्रधानमन्त्री भइसक्नु भएको छ । एमालेको केन्द्रीय नेतृत्व सम्हालिरहेका र स्थापित राजनीतिक धारका प्रतिनिधिको रुपमा उहाँलाई हेरिएको छ ।

अर्कोतर्फ, बालेन्द्र साह पछिल्लो समय वैकल्पिक राजनीति, युवाको आकांक्षा र परम्परागत सोचलाई चुनौती दिने व्यक्तित्वका रूपमा देखिनुभएको छ । यही फरक राजनीतिक पृष्ठभूमिका कारण झापा –५ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चासोको विषय बनेको छ ।  

जेनजी आन्दोलनका क्रममा ओलीको झापास्थित बासस्थानमा तोडफोड र आगजनी भएको छ । उहाँ हाल एक होटलमा बस्दै आउनुभएको छ । सोही होटल अहिले भेटघाट र फोटो खिचाउनेहरूको केन्द्र बनेको छ । अर्कोतर्फ, बालेन्द्र साह नयाँ स्थापना गरिएको चुनावी सचिवालयबाट चुनावी गतिविधि सञ्चालन गरिरहनु भएको छ । 

ओली र साह वरिपरि चर्चा केन्द्रित हुँदा अन्य उम्मेद्वारहरू केही हदसम्म ओझेलमा परेकाछन् । स्थानीय चोक तथा चिया पसल, सामाजिक सञ्जाल र सञ्चार माध्यममा हुने बहसको केन्द्र पनि प्रायः यी दुई नेतामै सीमित भइरहेको देखिन्छ । झापा –५ मा देखिएको यो माहोलले आगामी निर्वाचन परिणामलाई थप चासोको विषय बनाएको छ । 

फोटो खिचाउनेको घुइँचो, भेटघाटको चाप र निरन्तरको राष्ट्रिय चर्चा हेर्दा, यसपटक झापा –५ को चुनाव केवल स्थानीय प्रतिस्पर्धामा सीमित नरही राष्ट्रिय राजनीतिक बहसको केन्द्र बनेको छ । नेकपा (एमाले) को झापा जिल्ला सचिव तुलसी कार्कीका अनुसार सामूहिक तथा एकल फोटो खिचाउनेहरुको संख्या अधिक रहेको छ । बालबालिका, युवादेखि लिएर सबै समुहका मानिसहरु फोटो खिचाउन आउने गरेकाछन् । 

सम्बन्धित समाचार