मलंगवा, सर्लाही । यातायात व्यवस्था कार्यालय मलंगवाबाट सञ्चालन हुने सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को लिखित तथा प्रयोगात्मक परीक्षामा गम्भीर अनियमितता भएको आशंका सार्वजनिक रूपमा उठ्न थालेको छ। लिखित परीक्षाको नतिजामा देखिएको अस्वाभाविक तथ्यांक, परीक्षार्थीहरूको अनुभव र स्थानीयस्तरमा फैलिएको चर्चा–परिचर्चाले लाइसेन्स वितरण प्रक्रिया निष्पक्ष छ कि छैन भन्ने गम्भीर प्रश्न खडा गरेको छ।
कबिलासी नगरपालिका–८ का एक स्थानीय युवाले मोटरसाइकल लाइसेन्सका लागि उमेर पुगेपछि गत महिना यातायात व्यवस्था कार्यालय मलंगवामा अनलाइन फाराम भरेका थिए। सम्पूर्ण प्रक्रिया पूरा गरी उनलाई लिखित परीक्षाका लागि मलंगबाबा ट्रायल सेन्टर, मलंगवा बोलाइएको थियो। उनी भन्छन्, “मैले सकेसम्म राम्रोसँग परीक्षा दिएँ। थाहा भएका प्रश्न ढुक्कसँग र केही अन्दाजमै सबै प्रश्नमा टिक मार्क लगाएँ। राम्रो भएको अनुभूति थियो, तर नतिजा आउँदा फेल भएको देखियो।”
तर उनको असन्तुष्टि फेल हुनुमा मात्र सीमित रहेन। उनले एउटै बेन्चमा बसेका दुई महिला परीक्षार्थीलाई ४–५ वटा प्रश्नमा मात्र टिक लगाएको प्रत्यक्ष देखेको दाबी गर्छन्। “उहाँहरू धेरै प्रश्न छाडेर बसेको देखेको थिएँ, तर दुर्भाग्यवश उहाँहरू दुवै पास हुनुभयो,” उनले भने।
यस घटनापछि उनले यातायात व्यवस्था कार्यालय मलंगवाले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत सार्वजनिक गरेका लिखित परीक्षाका नतिजा सूक्ष्म रूपमा अध्ययन गरे। अध्ययन गर्दा देखिएको तथ्यले उनलाई झनै चकित बनायो।उनका अनुसार, २०८२ साल मंसिरदेखि पुससम्म विभिन्न मितिमा लिइएका लिखित परीक्षामा महिलाको पास प्रतिशत अस्वाभाविक रूपमा उच्च देखिन्छ। उदाहरणका लागि—मंसिरमा सहभागी १७ महिलामध्ये १६ जना पास , मंसिर २२ गते सहभागी ६ मध्ये ६ जना पास , मंसिर २९ गते सहभागी ४ मध्ये ४ जना पास , पुस १ गते सहभागी ३ मध्ये ३ जना पास , पुस २ गते सहभागी १६ मध्ये १४ जना पास , पुस ७ गते सहभागी ७ मध्ये ७ जना पास , पुस ९ गते सहभागी ११ मध्ये १० जना पास , पुस १४, १६ र २० गते सहभागी सबै महिला परीक्षार्थी १०० प्रतिशत पास ।
“कतिपय दिन त महिलाको पास प्रतिशत १०० मा १०० देखिन्छ, कतै ९७ प्रतिशत,” उनी भन्छन्, “तर पुरुष परीक्षार्थीको हकमा एउटै दिन पनि १०० प्रतिशत पास भएको तथ्य भेटिँदैन।”
उनका अनुसार पुरुषको आवेदन संख्या बढी हुनु स्वाभाविक भए पनि, निरन्तर रूपमा महिलाको शतप्रतिशत पास हुनु सामान्य संयोग मात्र मान्न गाह्रो छ। “यो त कपि जाँचमै केही गडबड भएको शंकालाई बल पु¥याउने आधार हो,” उनी दाबी गर्छन्।
स्थानीयस्तरमा लाइसेन्स वितरण प्रक्रिया निष्पक्ष र विवादरहित होला भन्ने आम नागरिकको विश्वास रहेको भए पनि यस्ता तथ्यांक र अनुभवले त्यो विश्वास डगमगाएको गुनासो बढ्दै गएको छ। ती परीक्षार्थी भन्छन्, “लिखित परीक्षामै यस्तो चलखेल हुन्छ भने प्रयोगात्मक परीक्षामा के–कस्तो हुन्छ होला, आफैं अनुमान गर्न सकिन्छ।”उनले यातायात व्यवस्था कार्यालय मलंगवासँग लिखित परीक्षामा प्रयोग भएका सम्पूर्ण उत्तरपुस्तिका (कपि) झिकाएर निष्पक्ष छानबिन गर्न माग गरेका छन्। साथै, नतिजा तोडमोडमा संलग्न जो–कोही भए पनि कडा कारबाही हुनुपर्ने उनको माग छ।
आरोप केवल लिखित परीक्षासम्म सीमित छैन। प्रयोगात्मक (ट्रायल) परीक्षामा समेत अनियमितता हुने गरेको आशंकासहित उनले ट्रायल सेन्टरका सीसीटीभी फुटेजसमेत अध्ययन–अनुसन्धान गर्न माग गरेका छन्। “यदि सबै प्रक्रिया पारदर्शी छ भने सीसीटीभी जाँच्न किन डराउनु ?” उनको प्रश्न छ।
यस प्रकरणमा जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट ट्रायल सेन्टरमा खटिएका वरिष्ठ सई भानुभक्त नेपालको नाम पनि जोडिएपछि विवाद झनै चर्किएको छ। स्थानीयस्तरमा उनी “विवादास्पद ट्राफिक प्रहरी” को रूपमा चिनिने गरेको, ट्रायल सेन्टर सञ्चालकदेखि यातायात कार्यालयमा दलाली गर्ने समूहसम्मसँग उनको नजिकको उठबस रहेको आरोप लगाइन्छ । यद्यपि यी आरोपहरू प्रमाणित भइसकेका छैनन्। जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक अशोक कुमार साह र यातायात व्यवस्था कार्यालय मलंगवाका प्रमुख अधिकृत दिपेन्द्र कुमार यादवको नेतृत्वमा रहेको कार्यालयमाथि समेत निष्पक्ष छानबिनको माग उठाइएको छ।
लाइसेन्स जस्तो संवेदनशील विषयमा पारदर्शिता, निष्पक्षता र जवाफदेहिता अनिवार्य हुन्छ। लिखित परीक्षाको नतिजामा देखिएको अस्वाभाविक तथ्य, परीक्षार्थीहरूको प्रत्यक्ष अनुभव र सार्वजनिक रूपमा उठेका प्रश्नले अब सम्बन्धित निकायलाई गम्भीर छानबिन गर्न बाध्य पार्ने देखिन्छ। यदि यी सबै केवल संयोग हुन् भने प्रमाणसहित स्पष्ट पारिनुपर्छ। होइन भने, दोषी जो–कोही भए पनि कानुनी दायरामा ल्याएर कडा कारबाही हुनु नै सुशासनको न्यूनतम शर्त हो। अब प्रश्न उठेको छ । यातायात व्यवस्था कार्यालय मलंगवा यस विषयमा मौन बस्छ, कि निष्पक्ष छानबिन गरेर नागरिकको विश्वास फर्काउँछ ?