इनरूवा । नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्य पदमा इनरूवाका युवा समाजसेवी राेशन भट्टराई चयन भएका छन ।
इनरूवा नगरपालिका–३ नम्बर वडा निवासी, समाजसेवी सावित्री गोपाल स्मृति ट्रष्टका अध्यक्ष, गीतकार, संगीतकार, रचनाकार तथा सक्रिय युवा नेता रोशन भट्टराई नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्य पदमा चयन भएका हुन।
पार्टीको केन्द्रीय समितिको हालै सम्पन्न निर्णयले भट्टराईलाई केन्द्रीय नेतृत्वमा समेट्दै संगठन विस्तार र वैचारिक सुदृढीकरणको महत्वपूर्ण जिम्मेवारी सुम्पिएको छ।
यससँगै भट्टराईको राजनीतिक यात्राले औपचारिक रूपमा राष्ट्रिय तहको प्रवेश गरेको विश्लेषकहरू बताउँछन्।
यसै सन्दर्भमा, आगामी २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सुनसरी ४ नम्बर निर्वाचन क्षेत्रबाट रोशन भट्टराई संसदीय उम्मेदवारका रूपमा मैदानमा उत्रिने निश्चित भएको छ।
लामो समयदेखि स्थानीय राजनीति, सामाजिक सेवा र वैचारिक अभियानमा सक्रिय रहँदै आएका भट्टराईको उम्मेदवारीले इनरूवा क्षेत्रको चुनावी वातावरणलाई थप तातेको छ।
विशेषतः युवा पुस्ता, श्रमिक, किसान, बुद्धिजीवी तथा परिवर्तनकामी मतदातामाझ उहाँप्रतिको आकर्षण बढ्दो क्रममा रहेको देखिन्छ।
भट्टराईको उदयसँगै यस निर्वाचन क्षेत्रमा त्रिपक्षीय प्रतिस्पर्धा हुने निश्चित देखिएको छ।
नेपाली कांग्रेसका पूर्व मन्त्री तथा निवर्तमान सांसद ज्ञानेन्द्र बहादुर कार्की र नेकपा एमालेका नेता, पूर्व मन्त्री एवं पूर्व सांसद जगदीश कुसियैत जस्ता स्थापित र अनुभवी नेताहरूलाई यसपटक भट्टराईले कडा टक्कर दिने आंकलन गरिएको छ।
अनुभवी र पुराना राजनीतिक अनुहारहरूको बीचमा नयाँ सोच, ऊर्जाशील नेतृत्व र वैकल्पिक राजनीतिका प्रतिनिधिका रूपमा भट्टराईको उपस्थितिलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
रोशन भट्टराई केवल राजनीतिक नेता मात्र नभई सामाजिक र सांस्कृतिक क्षेत्रमा गहिरो पहिचान बनाइसकेका व्यक्तित्व हुन।
उनको नेतृत्वमा रहेको सावित्री गोपाल स्मृति ट्रष्टले शिक्षा, स्वास्थ्य, विपन्न तथा असहाय वर्गको सहयोग, सामाजिक सचेतना र मानवीय सेवाका क्षेत्रमा उल्लेखनीय योगदान गर्दै आएको छ।
यस्तै, गीत–संगीत र साहित्यिक सिर्जनामार्फत सामाजिक विकृति, असमानता र परिवर्तनको आवाज बुलन्द गर्दै आएकाे छ ।
राजनीतिक रूपमा भट्टराईले सुशासन, सामाजिक न्याय, भ्रष्टाचारविरुद्धको संघर्ष, रोजगारी सिर्जना, स्थानीय विकास र समावेशी आर्थिक नीतिलाई आफ्नो मुख्य एजेन्डा बनाउँदै आएका छन।
संसदमा पुगेर जनताको आवाज निर्भीक रूपमा उठाउने, नीति निर्माणमा युवाको सहभागिता बढाउने र राज्य संयन्त्रलाई जनमुखी बनाउने उनको प्रतिबद्धताले समर्थकहरूमा आशा जगाएको छ।
स्थानीय तहदेखि राष्ट्रिय राजनीतिसम्म निरन्तर संघर्ष र योगदानका आधारमा अघि बढिरहेका भट्टराईलाई परिवर्तनको प्रतीकका रूपमा हेरिन थालेको छ।
आगामी प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा इनरूवा क्षेत्रको राजनीतिक सरगर्मी थप चर्किने देखिन्छ।
रोशन भट्टराईको केन्द्रीय नेतृत्वमा प्रवेश र संसदीय उम्मेदवारीले यस निर्वाचनलाई केवल जित–हारको प्रतिस्पर्धा नभई नयाँ र पुरानो राजनीतिक धारबीचको निर्णायक संघर्षका रूपमा स्थापित गर्ने निश्चित देखिन्छ।