बर्दिया । लागुऔषध नियन्त्रणको नाममा प्रहरीले फेरि गोली चलाएको छ। बर्दिया जिल्लामा खैरो हेरोइन कारोबारमा संलग्न रहेको आरोपमा एक युवकलाई गोली हानी नियन्त्रणमा लिइएको घटनाले प्रहरी कारबाहीको शैलीमाथि प्रश्न उठाएको छ। पछिल्लो समय देशका विभिन्न जिल्लामा दोहोरिँदै आएका यस्ता घटनाले प्रहरी ‘फायरिङ ट्रेन्ड’ मा गइरहेको हो कि भन्ने आशंका थपिएको छ।
लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगन्जका शाखा प्रमुख असई नवीनकुमार शाहीको नेतृत्वमा खटिएको प्रहरी टोलीले बुधबार बर्दिया जिल्लाको गुलरिया नगरपालिका–११, लालपुर नजिक उक्त कारबाही गरेको हो। प्रहरीका अनुसार लागुऔषध खैरो हेरोइनको खरीद–बिक्री भइरहेको भन्ने गोप्य सूचनाका आधारमा सो क्षेत्रमा शंकास्पद व्यक्तिको खोजी गरिएको थियो।
प्रहरीले बताएअनुसार खोजतलासका क्रममा एक शंकास्पद व्यक्ति फेला परेपछि कानुनबमोजिम चेकजाँच गर्न खोज्दा ती व्यक्ति भाग्न खोजे। त्यसपछि प्रहरी टोलीले नियन्त्रण लिन दुई राउन्ड गोली प्रहार गरेको थियो। प्रहार गरिएका दुई राउन्डमध्ये एक गोली ती व्यक्तिको दाहिने खुट्टामा लागेको प्रहरीले जनाएको छ। गोली लागेपछि उनलाई नियन्त्रणमा लिइएको हो।
प्रहरीले नियन्त्रणमा लिइएका व्यक्तिको पहिचान फिरोज खान भएको जनाएको छ। खानले लगाएको पाइन्टको दाहिने खल्तीभित्र लुकाईछिपाई राखिएको अवस्थामा लागुऔषध खैरो हेरोइन बरामद गरिएको दाबी गरिएको छ। बरामद गरिएको खैरो हेरोइनको शुद्ध तौल २६६ ग्राम ५६० मिलिग्राम रहेको प्रहरीले जानकारी दिएको छ। साथै घटनास्थलबाट तीन थान मोबाइल फोन पनि बरामद गरिएको बताइएको छ।
घाइते अवस्थामा पक्राउ परेका खानलाई उपचारका लागि अस्पताल लगिएको थियो। आवश्यक उपचारपछि थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बर्दियामा बुझाइएको प्रहरीको भनाइ छ।
घटनापछि स्थानीयस्तरमा तथा सामाजिक सञ्जालमा प्रहरी कारबाहीको आवश्यकतामाथि प्रश्न उठ्न थालेको छ। प्रत्यक्षदर्शीहरूका अनुसार घटनास्थल खुला क्षेत्र थियो र त्यहाँ सर्वसाधारणको आवतजावत पनि हुने गर्दछ। यस्तो अवस्थामा भाग्न खोजेको भन्दै गोली चलाउनु कत्तिको उपयुक्त थियो भन्ने प्रश्न उठाइएको छ।
कानुनविद्हरूका अनुसार प्रहरीले आत्मरक्षा वा अत्यन्तै अपरिहार्य अवस्थामा मात्र गोली चलाउन पाउने व्यवस्था छ। तर पछिल्लो समय ‘भाग्न खोज्यो’ भन्ने एउटै कारण देखाएर गोली चलाउने घटनाहरू बढ्दै जानुले कानुनी शासनको मर्ममाथि प्रहार भएको उनीहरूको टिप्पणी छ।
बर्दियाको घटना नयाँ भने होइन। केही समयअघि सप्तरी, झापा, बाँके, कैलालीलगायतका जिल्लामा पनि लागुऔषध, गाँजा वा हतियार बरामदको नाममा प्रहरीले गोली चलाएका घटनाहरू सार्वजनिक भएका थिए। ती घटनाहरूमा पनि अधिकांश अवस्थामा शंकास्पद व्यक्ति घाइते भएका छन् भने प्रहरीको तर्फबाट “आत्मरक्षा” वा “भाग्न खोज्दा बाध्य भएर” गोली चलाइएको भन्ने जवाफ दिइँदै आएको छ।
मानवअधिकारकर्मीहरू यस्ता घटनाहरूले प्रहरी ‘इन्काउन्टर शैली’ मा अघि बढ्न थालेको संकेत गरेको बताउँछन्। उनीहरूका अनुसार अनुसन्धान र प्रमाण संकलनमा कमजोरी हुँदा बल प्रयोगलाई सजिलो विकल्प बनाउने प्रवृत्ति देखिन थालेको छ।
खैरो हेरोइन पछिल्लो समय विशेषगरी तराई र सीमावर्ती क्षेत्रमा गम्भीर समस्याका रूपमा देखिँदै आएको छ। तर यस्ता कारबाहीमा पक्राउ पर्नेहरू प्रायः साना कारोबारी वा भरिया मात्रै हुने गरेको आरोप लाग्दै आएको छ। ठूला कारोबारी र सञ्जालका मुख्य नाइके भने अझैसम्म कानुनको दायराभन्दा बाहिर रहेको भन्दै आलोचना हुने गरेको छ।
बर्दियाको घटनामा पनि पक्राउ परेका फिरोज खान सञ्जालका मुख्य व्यक्ति हुन् वा केवल भरिया मात्रै भन्ने विषय अझै स्पष्ट हुन सकेको छैन।प्रहरी कारबाहीको विश्वसनीयतामाथि प्रश्न उठ्नुको अर्को कारण पारदर्शिताको अभाव रहेको बताइन्छ।गोली चलाउनु अघि चेतावनी दिइयो कि दिइएन?घटनास्थलमा स्वतन्त्र साक्षी थिए कि थिएनन्?बरामद गरिएको लागूऔषध घटनास्थलमै फेला परेको हो कि पछि देखाइएको?यी प्रश्नहरूको स्पष्ट जवाफ नआउँदा आम नागरिकमा प्रहरीप्रति अविश्वास बढ्दै गएको जानकारहरूको भनाइ छ।
नेपालको संविधानले प्रत्येक नागरिकलाई जीवनको अधिकार सुनिश्चित गरेको छ। अपराधी ठहर नभएसम्म कुनै पनि व्यक्ति निर्दोष मानिने कानुनी सिद्धान्त रहेको छ। यस्तो अवस्थामा प्रहरीले गोली हानी नियन्त्रणमा लिने अभ्यास बढ्दै जानु मानवअधिकारको दृष्टिले पनि गम्भीर विषय भएको अधिकारकर्मीहरू बताउँछन्।
बर्दियामा भएको यो घटना लागुऔषध नियन्त्रणको एउटा कारबाही मात्रै होइन, प्रहरीको कार्यशैली, कानुनी प्रक्रिया र मानवअधिकारको अवस्थामाथि उठेको गम्भीर प्रश्न पनि हो। खैरो हेरोइनसँगै ‘खैरो’ बन्दै गएको प्रहरी कारबाहीमाथि अब गम्भीर समीक्षा र स्वतन्त्र छानबिन आवश्यक देखिएको छ।यदि यस्ता घटनाहरूको निष्पक्ष मूल्याङ्कन गरिएन भने प्रहरी–जनता सम्बन्धमा थप दरार आउन सक्ने चिन्ता व्यक्त गरिएको छ।