चार सहुलियत पसलबाट दसैँमा २८९ क्विन्टल चामल बिक्री

6.3k Shares

रेसुङ्गा(गुल्मी), असोज २२ गते । गुल्मीका सहरदेखि दुर्गम बस्तीसम्म चाडपर्व लक्षित सहुलियत मूल्य पसल सञ्चालन भएका छन् । नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम अनुसार खाद्य व्यवस्था एवं व्यापार कम्पनी लिमिटेड गुल्मी शाखाले चार बिक्री केन्द्र मार्फत सहुलियत मूल्य पसल सञ्चालन गरेको छ । 

मुख्य चाड दसैँ, तिहार र छठलाई केन्द्रमा राखेर भदौ ३० गतेदेखि कात्तिक १० गतेसम्म खाद्यका तम्घास, बलेटक्सार, बाँझकटेरी र अर्खबाङ्ग बिक्री केन्द्र मार्फत सहुलियत मूल्य पसल सञ्चालन गरिएको हो । खाद्य व्यवस्था एवं व्यापार कम्पनी लिमिटेड गुल्मीका सूचना अधिकारी राजाबाबु साहका अनुसार पसलबाट चार प्रकारका चामल र चिनी बिक्री हुनेछ । खाद्यान्यमा प्रति प्रतिकिलो पाँच रुपियाँ छुट छ । तेल र दालको माग भइरहेको छ । जिल्लाको लागि एक हजार क्विन्टल चामल र चिनी प्राप्त भएको साहले बताउनुभयो।

साहले दिएको विवरणमा दसैँमा मात्रै सहुलियत मुल्य पसल २८९.५ क्विन्टल चामल बिक्री भएको छ । सवैभन्दा बढी बाँझकटेरी डिपोबाट ९५ क्विन्टल चाम बिक्री भएको छ । त्यस्तै बलेटक्सार डिपोबाट ८९.५० क्विन्टल, अर्खाबाङ्ग डिपोबाट ६४ र तम्घास डिपोबाट ४१ क्विन्टल चामल बिक्री भएको छ । जिल्लाका बिक्री केन्द्रहरुबाट गुल्मी र अर्घाखाँचीका कारागार, सहकारी, डिलर र सर्वसाधरणहरुले खाद्यान्य खरिद गर्ने गरेका छन् । 

गुल्मीमा २०६४ सालमा बिस्थापित तत्कालिन खाद्य संस्थान डेढ दशकपछि २०८० मङ्सिरबाट खाद्य व्यावस्था तथा व्यापार कम्पनी लिमिटेडको रुपमा पुर्नस्थापना भएको छ । तत्कालिन समयमा तम्घासमा खाद्य संस्थानको प्रमुख कार्यालय र मजुवा तथा चौरासीमा डिपोहरु सञ्चालनमा थिए । निजी स्तरमा पसलहरु संचालन हुन थालेपछि विस्थापित कम्पनी फेरि नागरिकहरुको बिचमा आएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड गुल्मी शाखाको विवरण अनुसार गत वर्ष चिनी र चामल दुई हजार ३३७.१० क्विन्टल अर्थात् एक करोड ७१ लाख सात हजार ३४५ रुपियाँ मूल्य बराबरको बिक्री गरिएको थियो । जसमध्ये तम्घास शाखा कार्यालयले ५९ लाख ५७ हजार ५२६ रुपियाँ बराबरको ८३९.२५ क्विन्टल चामल र चिनी बिक्री गरेको खाद्य व्यवस्था एवं व्यापार कम्पनी लिमिटेड गुल्मीका लेखापाल समेत रहनुभएका राजाबाबु साहले जानकारी दिनुभयो । 

त्यस्तैबलेटक्सार बिक्री केन्द्रले ४५ लाख चार हजार १२५ रुपियाँ बराबरको ५५९.५० क्विन्टल खाद्यान्न बिक्री ग¥यो । त्यस्तै अर्खबाङ्ग बिक्री केन्द्रले ३० लाख २९ हजार २२५ रुपियाँको ४२६ दशमलव ६० क्विन्टल चामल र चिनी बिक्री गरेको थियो । बाँझकटेरी बिक्री केन्द्रले ३६ लाख १६ हजार ४७० रुपियाँको ५११.७५ क्विन्टल खाद्यान्न बिक्री गरेको थियो । विकट गाउँहरुमा चाडपर्वमा मात्रै नभएर १२ महिना खाद्यले गुणस्तरिय खाद्यान्य उपलब्ध गराएकाले स्थानीय खुसी रहेको मालिका गाउँपालिकाका प्रमुख देविराम अर्यालले बताउनुभयो । 

खाद्य सुरक्षाको सुनिश्चतामा योगदान दिने, खाद्यान्यको अभावमा जीवन जोखिमको न्यूनीकरण गर्ने र महामारी तथा प्रकोपमा खाद्यान्य अभाव हुने नदिने उद्येश्यले खाद्य डिपो स्थापना गरिएको खाद्य व्यावस्था तथा व्यापार कम्पनी लिमिटेड गुल्मीको शाखा प्रमुख लक्ष्मी भण्डारीले बताउनुभयो । 

सम्बन्धित समाचार