काठमाण्डाैँ । सशस्त्र प्रहरी बल नेपाललाई अनुशासन, त्याग र राष्ट्रसेवाको प्रतीकका रूपमा हेरिन्छ। तर यही संगठनभित्र कार्यरत तल्लो तहका सिपाही तथा हवल्दारहरूले भोग्दै आएको समस्याप्रति सम्बन्धित निकाय मौन बसिरहेको देखिँदा गम्भीर प्रश्न उठ्न थालेको छ। मकवानपुर जिल्ला स्थित सशस्त्र प्रहरी बलको १४ नम्बर गणमा सरकारले तोकेअनुसार उपलब्ध गराइनुपर्ने राशन र नास्ता व्यवहारमा कहिल्यै पनि पूरा रूपमा दिइँदैन।
सरकारले निर्धारण गरेको मापदण्डअनुसार तरकारी, मासु, खाजा तथा नास्ताको स्पष्ट स्केल भए पनि ती सुविधा कागजमै सीमित देखिन्छन्। दैनिक रूपमा खपत हुने राशनको गुणस्तर अत्यन्तै निम्न छ, जसले ड्युटीमा खटिएका सिपाही–हवल्दारको स्वास्थ्य र मनोबल दुवैमा नकारात्मक असर पारिरहेको छ। देशको सुरक्षा जिम्मेवारी बोकेकाहरूलाई आधारभूत खानासमेत पर्याप्त नहुनु दुःखद विषय हो।
अझ चिन्ताजनक कुरा के छ भने, रोलकलका क्रममा राशनसम्बन्धी विषयमा सामान्य प्रश्न उठाउँदा पनि सिपाही तथा हवल्दारमाथि दण्डस्वरूप मुडा बोकाउने, लामो समयसम्म कठिन ड्युटीमा पेल्ने जस्ता व्यवहार हुने गरेको गुनासो छ। यसले आफ्ना समस्या खुलस्त रूपमा राख्न नसक्ने वातावरण सिर्जना गरेको छ र आवाज उठाउनेहरू मानसिक रूपमा त्रसित हुनुपरेको अवस्था छ।
त्यसैगरी, गणमा धेरै जनालाई ‘आउट’मा देखाएर उनीहरूको नाममा आएको राशनको रकम गणपतिले लिने गरेको भन्ने गम्भीर आरोप पनि बारम्बार उठ्दै आएको छ। एकातिर यस्तो अनियमितता हुने र अर्कोतिर तल्लो तहका जनशक्तिले निम्नस्तरको राशन खान बाध्य हुनुपर्ने अवस्था न्यायोचित हुन सक्दैन।
हामी कुनै व्यक्ति विशेषलाई दोषारोपण गर्न चाहँदैनौँ, तर संगठनभित्र देखिएका यस्ता समस्याले सशस्त्र प्रहरी बलको गरिमा र विश्वसनीयतामाथि नै प्रश्न उठाइरहेको छ। त्यसैले सशस्त्र प्रहरी मुख्यालय, गृह मन्त्रालय तथा सम्बन्धित अनुगमन निकायहरूले मकवानपुरको १४ नम्बर गणमा देखिएको यो समस्याप्रति गम्भीर ध्यान दिई निष्पक्ष छानबिन गर्न आवश्यक छ। सत्यतथ्य बाहिर ल्याई दोषीलाई कारबाही र पीडितलाई न्याय दिलाइयोस् भन्ने अपेक्षा तल्लो तहका सिपाही तथा हवल्दारहरूको छ।
मकवानपुरस्थित
सशस्त्र प्रहरी बल १४ नम्बर गणका
सिपाही तथा हवल्दारहरूको तर्फबाट