काठमाडौं, १९ पुस । नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवाले शनिबार १० जनालाई केन्द्रीय सदस्य मनोनीत गरेका थिए । उनले थप तीन जनालाई आइतबार केन्द्रीय सदस्य मनोनीत गरेका छन् ।
नेपाली कांग्रेसको विधान अनुसार ३३ जनालाई समावेशी सिद्धान्तका आधारमा केन्द्रीय सदस्यमा मनोनीत गर्ने अधिकारको प्रयोग गर्दै देउवाले शनिबार १० र आइतबार तीन जनालाई केन्द्रीय सदस्य नियुक्त गरेका हुन् ।
कांग्रेसको १४औं महाधिवेशनमा सभापति निर्वाचित देउवाले आफू गुटमा रमाएका र आफू निकटकालाई मात्रै मनोनीत गरेका छन् ।
उनले महाधिवेशनमा प्रत्यक्ष सहयोग गरेका, तटस्थ बसिदिँदा आफूलाई फाइदा पुगेका तथा आफ्नो गुटकालाई मात्र नियुक्त गरेको आरोप छ ।
शनिबार नियुक्त हुनेहरुमा अन्तिम समयमा महाधिवेशनको प्रक्रिया बहिस्कार गरेका रामचन्द्र पौडेल, देउवाको प्रस्तावक बसेका कृष्णप्रसाद सिटौला, देउवाकै प्यालनबाट उपसभापतिमा हारेका विजय गच्छदार, उनकै प्यालनबाट महामन्त्री हारेका डा. डा. प्रकाशरण महत र प्रकाशमान सिंहको प्यालनबाट उपसभापति लडेर हारेपछि दोस्रो चणमा देउवालाई समर्थन दिएकी सुजाता कोइराला छन् ।
यस्तै शनिबार नै देउवाले केन्द्रीय सदस्यमा दर्ता गरेको मनोनयन देउवाकै आग्रहमा फिर्ता लिएका मीन विश्वकर्मा र देउवाको मन्त्रिपरिषदमा रहेका उनकै गुटका दुई मन्त्री उमा रेग्मी र डा. नारायण खड्कालाई केन्द्रीय सदस्यमा नियुक्त गरेका छन् ।
आइतबार देउवाको नियुक्तिमा १४औं महाधिवेशनमा सभापतिको उमेदवार बनेर दोस्रो चरणमा देउवालाई नै सघाएका कल्याण गुरुङ परेका छन् । यस्तै देउवाकै प्यालनमा महामन्त्री उमेदवार बनेर पराजित प्रदिप पौडेल पनि केन्द्रीय सदस्य नियुक्त भएका छन् भने देउवाको प्यानलबाट सहमहामन्त्रीमा पराजित कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही पनि केन्द्रीय सदस्य नियुक्त भएका छन् ।
यससँगै देउवा गुटबाट पदाधिकारी लडेर पराजित भएकामा मानबहादुर विश्वकर्माबाहेक सबै केन्द्रीय समितिमा निय्ुक्त भएका छन् । सहमहामन्त्री लडेर पराजित विश्वकर्मा भने अहिलेसम्म केन्द्रीय समितिमा नियुक्त भएका छैनन् । बाँकी टिमबाट हारेका सबैलाई देउवाले केन्द्रीय समितिमा तानेका छन् ।
तर, निर्वाचनमा आएको परिणाम हेरेर नैतिकताका आधारमा रक्षामन्त्री पदबाट राजीनामा दिएका डा. मिनेन्द्र रिजाल, प्यालनविहीन रुपमा उपसभापति लडेर पराजित महेश आचार्य, उपसभापतिमा पराजित भएका डा. चन्द्र भण्डारी भने देउवाको नियुक्ति सूचीमा परेका छैनन् ।
अहिले शेखर कोइरालाको प्यानलबाट उपसभापति लडेका चन्द्र भण्डारी १३औं महाधिवेशनमा देउवाकै टिममा थिए ।
देउवा टिमबाटै निर्वाचित भएका उनी देउवाले मन्त्री बनाउने आश्वासन दिएर पनि अन्तिममा नबनाएपछि देउवा विरोधी खेमामा पुगेका थिए ।
कांग्रेसको विधानले सभापतिलाई दिएको ३३ जना केन्द्रीय सदस्य नियुक्ति गर्ने अधिकारमा अब २० जना मात्र नियुक्ति गर्ने ठाउँ बाँकी छ । त्यसमध्ये पनि कम्तिमा १५ जना महिलालाई केन्द्रीय समितिमा ल्याउनुपर्ने विधानको बाध्यता छ ।
प्रतिस्पर्धाबाट कांग्रेसको केन्द्रीय समितिमा ४१ जना महिला निर्वाचित भएका छन् । कांग्रेस विधानले सुनिश्चित गरेको ३३ प्रतिशत महिला प्रतिनिधित्वका लागि एकसय ६७ सदस्यीय केन्द्रीय समितिमा ५६ जना महिला अनिवार्य हुन्छ । त्यसका लागि केन्द्रीय सदस्यमा १५ जना महिला नियुक्त गर्नुपर्नेछ ।
देउवाले अब पाँचजनामात्रै पुरुषलाई केन्द्रीय सदस्य बनाउन पाउनेछन् ।
देउवासँग सभापतिमा दोस्रो चरणमा पराजित भएका डा. शेखर कोइरालाले सभापतिले गुटको विजारोपण पहिलो नियुक्तिबाट गरेको बताएका छन् ।
“अहिले रामचन्द्र पौडेलसहितका १० जनालाई सभापति देउवाले नियुक्त गर्दा नै गुटको विजारोपण गर्नुभएको छ,” डा. कोइरालाले एक अन्तर्वार्तामा भने, “अहिले नियुक्त हुनुभएकाहरु केन्द्रीय समितिमा आउनु जरुरी थियो, तर के डा. मिनेन्द्र रिजाल, महेश आचार्य, चन्द्र भण्डारी केन्द्रीय समितिमा आवश्यक छैनन् ?” उनले केन्द्रीय समितिमा ल्याएका व्यक्तिहरु जत्तिकै उनीहरु पनि केन्द्रीय समितिमा आवश्यक हुने बताए ।
डा. कोइरालाले सबैलाई ल्याउन सम्भव नभए देउवाले रामचन्द्र पौडेललाई मात्र नियुक्त गर्नसक्ने भए पनि सबैलाई एउटै डालोमा राखेको बताए ।
“सम्मान नै दिने हो भने उहाँले रामचन्द्र दाइलाई मात्र नियुक्त गर्न सक्नुहुन्थ्यो, तर, एउटै डालोमा राख्ने काम गर्नुभयो,” शेखरले भने ।
उनले देउवाका बाँकी नियुक्तिले सफल वा असफल हुने कुरा निर्धारित हुने बताए ।
“अझै बाँकी पदमा उहाँले कसरी नियुक्ति दिनुहुन्छ, त्यसले नै उहाँलाई सफल असफल हुने कुरा निर्धारित हुन्छ,” शेखरले भने, “उहाँ सफल भए कांग्रेस सफल हुन्छ, उहाँ असफल हुँदा कांग्रेस असफल हुन्छ । कांग्रेसलाई कस्तो बनाउने उहाँको छनौट हो ।”
प्रदेश नम्बर १ को सभापतिमा २ मतले पराजित गुरु घिमिरेले भने पौडेलाई नियुक्ति अस्वीकार गर्न आह्वान गरेका छन् । १४औं महाधिवेशनको प्रक्रिया नै अस्वीकार गरेको व्यक्तिले त्यही महाधिवेशनबाट सभापति निर्वाचित सभापतिबाट मनोनीत भएर पद लिनु उपयुक्त नहुने उनको सुझाव छ ।
“हाम्रा श्रद्धेय नेता रामचन्द्र पौडेल नेपाली कांग्रेसको चौधौं महाधिवेशनको नेतृत्व छनौट प्रक्रियाबाट अलग रहने निर्णय गर्नुभो, आज केन्द्रीय सदस्यको मनोनयनमा पर्नुभो । प्रक्रियाबाटै अलग्गिएको व्यक्ति मनोनीत कसरी हुनुभो ?” घिमिरेले प्रश्न गरेका छन्, “राजनीतिमा नैतिकताको प्रश्न उठाउने उहाँ नै हैन ? अनि साझा सभापति हुन्छु भन्ने नेताको चयन यही हो ?”
उपसभापति पराजित भएका चन्द्र भण्डारीले भने प्रजातन्त्र भाषण नभएर व्यवहार भएको भन्दै व्यवहारबाटै त्यसको परीक्षण हुने बताएका छन् ।
“प्रजातान्त्रिक संसारमा आफूसँग फरकमत राख्ने व्यक्तिलाई सबैभन्दा नजिकको साथीको रूपमा सम्मान गरिन्छ,” भण्डारीले फेसबुकमा लेखेका छन्, “प्रजातन्त्र व्यवहार हो, भाषणमात्र होइन ।”