लमजुङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेस लमजुङले आंकाक्षी उम्मेदवार सबैको नाम केन्द्रीय समितिमा सिफारिस गरेको छ ।
केन्द्रीय समितिले जिल्ला कार्य समितिलाई परिपत्र गर्दै प्रत्यक्षतर्फका लागि बढीमा एक महिलासहित तीन जना र समानुपातिकतर्फका लागि समावेशीतालाई ध्यानमा राखेर कम्तिमा एक महिलासहित बढीमा दुई जनाको नाम सिफारिस गर्न निर्देशन दिएको थियो ।
लमजुङबाट प्रत्यक्षतर्फ ११ जना र समानुपातिकतर्फ पनि १० जनाको नाम सिफारिस भएको छ । यसैगरी राष्ट्रिय सभातर्फ तीन जनाको नाम सिफारिस भएको काँग्रेस लमजुङका सचिव कृष्णबहादुर अधिकारीले जानकारी दिनुभयो । सिफारिस भएका प्रत्यक्ष तर्फका उम्मेदवार सबै पुरुष हुनुहुन्छ ।
कांग्रेस लमजुङले प्रतिनिधि सभा सदस्यका लागि प्रत्यक्षतर्फ गमप्रसाद गुरुङको नाम १ नम्बरमा सिफारिस गरेको छ । शनिबार बसेको जिल्ला कार्य समितिको वैठकमा उमेदवार सिफारिसका सम्बन्धमा सर्वसम्मति नबनेपछि गुरुङसंगै सबै ११ जना आकांक्षीको नाम केन्द्रलाई सिफारिस गरेको हो ।
प्रतिनिधि सभाको समानुपातिकतर्फ राधादेवी श्रेष्ठ, कोपिला विक, अस्मिता गुरुङ, ज्ञानु शाह, धनकुमारी गुरुङ, रामकृष्ण बराल, भिउसिन दमै, सन्तोष न्यौपाने, स्थिरबाबु खाती र सुरेन्द्रप्रसाद पौडेलले उमेदवारी दावी गरेकामा उहाँहरु सबै जनाको नाम जिल्ला कार्य समितिले सिफारिस गरेको जनाएको छ ।
शनिबारको वैठकले राष्ट्रिय सभाका लागि पनि उम्मेदवार सिफारिस गरेको छ । राष्ट्रिय सभाका लागि गर्जबहादुर गुरुङ, शुभनाथ मिश्र र विष्णुमाया धिताल सिफरिसमा पर्नुभएको छ । गत मङ्सिर २४ गते उहाँहरुले राष्ट्रिय सभा सदस्य पदका लागि आफ्नो दावी पेश गर्दै जिल्ला कार्य समितिमा निवेदन दिनुभएको थियो ।