काठमान्डौ । जिल्ला प्रहरी कार्यालय पर्सा मातहत प्रहरी चौकी गण्डक रहेको छ। उक्त चौकी अतिरिक्त आम्दानी हुने भएकाले उक्त चौकीको प्रमुख हुनका लागि ठूलै मेहनत र टेन्डर हाल्नुपर्ने कुरा वीरगञ्ज प्रहरीमा कसैलाई छुपेको छैन। कुनै बेला हवल्दार प्रमुख हुने उक्त चौकीमा यसअघि सई समेत बसे, अहिले असई जगदीश यादव प्रमुख रहेका छन्। उनलाई प्रहरीको नीति, नियम र मापदण्डले छुँदैन भन्ने कुरा उनको पोस्टिङ्ग हेर्दा सबैलाई थाहा भएको छ। पर्सा नै घर भएका असई जगदीश यादव यसअघि बारा जिल्लाको सीमा क्षेत्रमा रहेका अतिरिक्त कमाइ हुने राम्रा चौकीहरूमा बसिसकेका छन्। बाराका कचरवा, खजानी, पथलवाघाट, बैरियाका चौकीहरू असई दर्जाका लागि अति नै राम्रो चौकीहरूमा पर्छन्। यी सबै चौकीहरूमा असई जगदीश प्रमुख भएर बसिसकेका छन्। यी चौकीहरूमा जानका लागि जिल्ला प्रहरी कार्यालय बारामा बोलकबोल (टेन्डर) हुने गरेको कुरा कसैलाई छिपेको छैन। जसले बढी रकम जिल्ला स्थित प्रहरी प्रमुखलाई बुझाउन सक्छ, उही यी चौकीमा प्रमुख भएर जाने गर्छ। यो परम्परा जिल्ला प्रहरी कार्यालय बारामा विगतदेखि नै चल्दै आएको छ र अहिले पनि चलिरहेकै छ।
सीमाका चौकी भएकै कारण भारतबाट भन्सार छली गरी तस्करी भएका सामानहरू यिनै चौकी वरपरका नाकाबाट भित्रिने गर्छन्। भन्सार छली गरी तस्करी भएर ल्याइएका ती सामानहरू प्रहरीद्वारा नपक्रने सर्तमा तस्करहरूले प्रहरीलाई रकम बुझाउने गर्दछन्। त्यसैले पनि यी चौकीहरूमा जानका लागि टेन्डर हाल्ने परम्परा रहँदै आएको छ। कि त जिल्ला प्रहरी प्रमुखको अति नजिकको हुनुप¥यो, या त प्रदेश प्रहरी प्रमुखको; अन्यथा यी थानाचौकीमा जानका लागि टेन्डर नै हाल्नुपर्ने अवस्था विगतदेखि नै थियो र आज पनि छ।
यी थाना–चौकीमा बसिसकेका असई जगदीश यादव अहिले पर्सामा कार्यरत छन्। बारा जिल्लामा महेन्द्र श्रेष्ठ एसपी भएका बेला असई जगदीश यादव एउटा आर्थिक कारोबारमा संलग्न भएको भेटिएपछि श्रेष्ठले यादवलाई उनको दरबन्दी महोत्तरी पठाइदिएका थिए। तर पछि तत्कालीन मधेस प्रदेशका डीआईजी लालमणि आचार्यलाई भनसुन गरेर असई जगदीश यादव पर्सा आउन सफल भए। जबकि उनको घर पर्साको एक टाँगामा हो। प्रहरीको आन्तरिक नीतिले घर रहेको जिल्लामा बस्न निषेध छ। यस बाहेक, काजमा आएको खण्डमा पनि त्यस्ता व्यक्तिलाई चौकीको प्रमुख नदिने नीति छ। तर असई जगदीश यादव महोत्तरीबाट पर्सा हाजिर भएको भोलिपल्ट नै पर्साको अतिरिक्त कमाइ हुने चौकीका रूपमा रहेको टियुकी जान सफल भए। तस्करीका लागि टियुकी नाका अति राम्रो मानिन्छ।
त्यसपछि असई यादवलाई फेरि अर्को अतिरिक्त कमाइ हुने मुख्य स्थानका रूपमा चिनिँदै आएको पर्साको गण्डकस्थित चौकीको प्रमुख बनाइएको छ। जबकि पर्सामा दरबन्दी भएका धेरै असईहरू जिल्लामा घाम तापेर बस्न बाध्य छन्, तर असई जगदीश यादवलाई भने टियुकीपछि गण्डक जस्तो अतिरिक्त कमाइ हुने चौकीको प्रमुख बनाइएको छ। उनलाई प्रहरीको काज वा खटनपटन गर्ने आन्तरिक नीतिले छोएको छैन।
पर्सामा नयाँ एसपी हाजिर भएपछि भने उनी गएका होइनन्; यसअघिका एसपीले नै उनलाई टियुकी र गण्डकमा पठाउन सफल भएका हुन्। तत्कालीन एसपीले सईलाई हटाएर असईलाई गण्डकको जिम्मेवारी दिएका हुन्। जिल्लामा कार्यरत धेरै असईहरूले प्रमुख हुने मौका नपाएको अवस्थामा असई जगदीश यादवलाई भने बारा र पर्साका अतिरिक्त कमाइ हुने सीमा क्षेत्रका चौकीमा र सीमा बाहेक पनि चेकजाँचका नाममा असुली हुने अखडामा बारम्बार प्रमुखको जिम्मेवारी दिइएको छ। “हाम्रो पालो कहिले आउँछ?“ भनेर हामी पूर्ण रूपमा बाध्य छौँ।