महर्जनले गरे अध्यक्ष पदमा उम्मेदवारी घोषणा

993 Shares

ललितपुर । ललितपुर उद्योग वाणिज्य संघको नेतृत्वका लागि सुशन महर्जनले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । संघको मंगलबार बसेको कार्यसमिति बैठकले आगामी असोज २३ र २४ गते ४७औँ वार्षिक साधारणसभा तथा नयाँ नेतृत्व चयनका लागि निर्वाचन गर्ने निर्णय गरेसँगै महर्जनले पहिलो उम्मेदवारका रूपमा आफ्नो दाबी सार्वजनिक गरेका हुन् ।
लामो समयदेखि संघको गतिविधिमा सक्रिय रहँदै आएका महर्जन हाल वरिष्ठ उपाध्यक्षको जिम्मेवारीमा छन् । उनले नेपाल उद्योग वाणिज्य महासंघको समिति सदस्यका रूपमा समेत काम गरिसकेका छन् । वरिष्ठ उपाध्यक्षको हैसियतले अध्यक्ष पदमा आफ्नो दाबी स्वाभाविक रहेको उनको भनाइ छ ।
उम्मेदवारी घोषणा गर्दै महर्जनले संघमा आबद्ध उद्योगी तथा व्यवसायीको विश्वास र साथ आफूले प्राप्त गर्नेमा आशावादी रहेको बताए । निजी क्षेत्रले भोगिरहेका समस्या, चुनौती र व्यवसायिक वातावरण सुधारका विषयलाई संघीय, प्रदेश र स्थानीय सरकारसँग प्रभावकारी रूपमा उठाउँदै व्यावहारिक समाधान खोज्न आफू प्रतिबद्ध रहने उनले बताए ।
‘निजी क्षेत्रको आवाजलाई अझ सशक्त रूपमा सम्बन्धित निकायसम्म पुर्‍याउँदै उद्योगी(व्यवसायीको हकहित र व्यवसायिक सुरक्षालाई प्राथमिकतामा राखेर काम गर्नेछु’, महर्जनले भने ।
व्यवसायिक क्षेत्रमा सफल उद्यमीका रूपमा परिचित महर्जन महालक्ष्मी ह्युमपाइप उद्योगका प्रबन्ध निर्देशक हुन् । साथै उनी महालक्ष्मी एग्रिगेट इन्डस्ट्रिज, हिमालय क्राफ्ट, महालक्ष्मी मोटर्स, सुसन कन्स्ट्रक्सन तथा प्रिकास्ट कन्क्रिट सोलुसन नेपाललगायत विभिन्न व्यावसायिक संस्थामा आबद्ध छन् ।
संघको निर्वाचन नजिकिँदै जाँदा महर्जनको उम्मेदवारी घोषणासँगै नेतृत्व चयनको राजनीतिक तथा व्यावसायिक गतिविधि थप सक्रिय हुने अपेक्षा गरिएको छ ।

सम्बन्धित समाचार