महोत्तरीमा कोदोखेतीको क्षेत्रफल बढ्दै

5.1k Shares

महोत्तरी– पछिल्ला केही वर्षयता जिल्लामा कोदोखेतीको क्षेत्रफल बढ्दै गएको छ । चार दशक पहिले मुख्यबालीका रूपमा मानिएको कोदोको प्रयोग पछिल्लो केही वर्षयता कम हुँदै गएपनि स्वास्थ्यका दृष्टिकोणले कोदो उपयुक्त मानिने भएकाले यसको प्रयोगकर्तासँगै खेतीको क्षेत्रफल पनि बढ्दै गएको हो ।

आर्थिक वर्ष २०७८-२०७९ मा जिल्लामा ३०० हेक्टर क्षेत्रफलमा भएको कोदोखेती गत आवमा आइपुग्दा ३७५ हेक्टरमा विस्तार भएको जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ । चालु आवमा करिब ४०० हेक्टरभन्दा बढी क्षेत्रफलमा खेती भएको कार्यालयका सूचना अधिकारी अविरलकुमार महतोले जानकारी दिए ।

‘चार दशक पहिले कोदो जिल्लाको मुख्यबालीका रूपमा रहेको तत्कालीन समयका कृषि विज्ञले बताए । तर कार्यालयमा यकिन तथ्यांक र कुनै अभिलेख भने भेटिएन’, कार्यालयका कृषि विज्ञसमेत रहेका महतोले भने, ‘तर पछिल्ला तीन–चार वर्षयता कोदोखेती अलिअलि गरेर बढेको छ ।’

उनका अनुसार चार वर्षयता कोदोबाली लगाउने क्षेत्रफलसँगै उत्पादन पनि बढेको छ । 

‘आर्थिक वर्ष २०७८र२०७९ मा ३३० मेट्रिकटन उत्पादन भएको थियो, त्यसयता यो बर्सेनि अलिअलि बढ्दै गएको छ । आव २०८१र८२ मा आइपुग्दा ४१३ मेट्रिकटन उत्पादन भएको छ’, सूचना अधिकारी महतोले भने, ‘यसपालिको हिउँदे बाली धमाधम काट्ने, माड्ने र थन्क्याउने काम भइरहेकाले तथ्यांक संकलनमा केहीदिन लाग्न सक्छ, तर जिल्लाभरिबाट प्राप्त सूचनाका आधारमा यसपालि करिब ५०० मेट्रिकटन उत्पादन पुग्ने आकलन गरिएको छ ।’

पछिल्ला केही दशकयता असन्तुलित खानपिन र दूषित वातावरणले मधुमेहलगायत नसर्ने रोग बढ्दै गएको छ । रगतमा चिनीको मात्रा बढ्ने समस्या देखिन थालेसँगै यसको नियन्त्रणका लागि कोदोको प्रयोग बढाउन चिकित्सकले सुझाव दिँदै आएका छन् । सोही कारणले यहाँका किसानले पनि पुनः कोदोखेती विस्तार गर्दै लगेका महतोले धारणा राखे ।

बर्दिबास नगरपालिका–२ बुद्धचोकका श्याम यादवले यसपालि आफैँले कोदोखेती गरेको बताए । मधुमेहको मात्रा बढेपछि चिकित्सकले कोदोका परिकार सेवान गर्नु प्रभावकारी हुने सल्लाह दिएपछि करिब चार कठ्ठामा खेती गरेको उनको भनाइ छ ।

‘चिकित्सकले खानेकुरामा कोदोको परिकार बढाउन सल्लाह दिएका छन् । किनेर उपभोग गर्न पनि बजारमा प्रशस्त मात्रामा भेटिँदैन, त्यसैले यसपालि आफैँले कोदो लगाएको हुँ’, यादवले भने, ‘वर्षभरिलाई एक छाक खान पुग्ने कोदो फलेको छ, यसले स्वास्थ्य सुधार हुने विश्वास छ ।’

आगामी वर्ष खेती विस्तार गर्ने योजना बनाएको उनले उल्लेख गरे।

भङ्गाहा नगरपालिका–४ का गङ्गाराम महतो र सोही बस्तीका भरतराज बरालले पनि बाँझो बारीमा आफैँले कोदोखेती गरेका छन् । महतोले पाँच कठ्ठा र बरालले तीन कठ्ठामा कोदो लगाएका थिए । कोदो अरु अन्नबालीभन्दा पानी र खडेरी बढी खप्ने, कीरा र रोगको सङ्क्रमण कम हुने र यो लामो समयसम्म भण्डारण गर्न सकिने भएकाले खेती गर्न सजिलो हुने महतोले बताए। 

सम्बन्धित समाचार