मकवानपुर – मकवानपुरको हेटौंडामा रहेको मत्स्य प्रवर्द्धन संरक्षण केन्द्रले कर्रा खोलामा माछाका ३० हजार भुरा छाडेको छ । विश्व मत्स्य दिवसको अवसर पारेर केन्द्रले गर्दी जातका ३० हजार भुरा कर्रा खोलामा छाडेको हो ।
खोलामा माछाको भुरा छाड्दै हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाले खोलालाई प्रदूषणमुक्त राख्न सकेमा माछालगायत जलचरको संरक्षण हुने बताउनुभयो । खोलामा करेन्ट लगाएर, विषादी हालेर माछा मार्ने कामलाई नियन्त्रण गर्न पनि उहाँले आग्रह गर्नुभयो । हेटौंडा–५ पिप्लेमा माछापालनका लागि २०२४ सालमा दुई दर्जन पोखरी निर्माण गरिएको थियो ।
यस्तै भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नवलपुरले देवचुली–१ मा रहेको शनिश्चरे तालमा विभिन्न प्रजातिका माछाका १६ हजार भुरा छोडेका छ । कार्यालयले राहु, नैनी र कमनलगायतका प्रजातिका माछाका भुरा तालमा छोडेको हो ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नवलपुरका प्रमुख वरिष्ठ पशु विकास अधिकृत डा शर्मिला कुमालले जलीय जैविक विविधताको प्रवर्द्धन, खाद्य तथा पोषण सुरक्षाको संवद्र्धन भन्ने नारासहित माछाका भुरा छोडिएको जानकारी दिनुभयो ।