राष्ट्रिय परिचयपत्र भएकाको मतदाता नामावली दर्ता अब अनलाइनबाटै

7.9k Shares

काठमाडौं । राष्ट्रिय परिचयपत्र बनाइसकेका नागरिकले अब मतदाता नामावलीमा नाम दर्ता गराउन पुनः बायोमेट्रिक (औंठा छाप र तस्वीर) विवरण दिनु नपर्ने भएको छ ।
निर्वाचन आयोगले राष्ट्रिय परिचयपत्रको भण्डारमा रहेको बायोमेट्रिक विवरणलाई सोझै मतदाता नामावलीको अनलाइन आवेदनसँग जोड्ने निर्णय गरेपछि मतदाता नामावलीमा नाम दर्ता थप सहज बनेको हो । यो व्यवस्थाले नागरिकले बेहोर्दै आएको झन्झट अन्त्य हुने र दर्ता प्रक्रिया छिटो र प्रभावकारी हुने कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिएका छन् ।

उनले भनेका छन् ‘राष्ट्रिय परिचयपत्रको भण्डारमा जम्मा भएको बायोमेट्रिक विवरणलाई तपाईंहरूले अनलाइनमा भर्नुभएको निवेदनमा ल्याएर जोड्ने र छानबिन गरेर नामावली प्रकाशन गर्ने निर्णय हामीले गरेका छौं ।’
नयाँ व्यवस्थाअनुसार राष्ट्रिय परिचयपत्र प्राप्त गरिसकेका व्यक्तिले निर्वाचन आयोगको वेबसाइटमार्फत अनलाइन फाराम भर्न सक्नेछन् । आयोगले सो आवेदनलाई राष्ट्रिय परिचयपत्रको प्रणालीमा रहेको बायोमेट्रिक विवरणसँग आबद्ध गरी प्रमाणीकरण गर्नेछ । यसले गर्दा नागरिकले नामावली दर्ताका लागि जिल्ला निर्वाचन कार्यालय वा इलाका प्रशासन कार्यालयमा भौतिक रूपमा उपस्थित भएर घण्टौं लाइन बस्नुपर्ने अवस्थाको अन्त्य भएको छ ।
यसअघि नाम, ठेगाना, जन्ममिति, पारिवारिक विवरण, नागरिकता प्रमाणपत्र आदि विवरण भरेर बायोमेट्रिक दिन सम्बन्धित निर्वाचन कार्यालय धाउन पर्ने बध्यता थियो । आयोगको सो निर्णयले अध्ययन, रोजगारी वा अन्य कामले विदेशमा रहेका नेपालीहरूलाई पनि मतदाता नामावलीमा नाम दर्ता गर्न सहज हुने भएको छ ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले विदेश जाने अधिकांश नेपालीले राष्ट्रिय परिचयपत्र बनाइसकेको उल्लेख गर्दै उनीहरूले पनि अनलाइनमार्फत आवेदन दिन सक्ने बताए । विदेशमा रहेका नेपालीहरूको राष्ट्रिय परिचयपत्रको बायोमेट्रिकलाई हामीले (नेपालमा) जोड्ने व्यवस्था मिलाएका पनि भण्डारीको भनाइ रहेको छ ।
जेन–जी समर्थकहरू राष्ट्रिय परिचय पत्र विभाग र निर्वाचन आयोगका प्राविधिकसँग ३÷४ पटकको छलफल र परीक्षणपछि नयाँ व्यवस्था सम्भव भएको हो । हाल मतदाता नामावली दर्ताका लागि देखिएको अत्यधिक चापलाई व्यवस्थापन गर्न आयोगले दर्ता केन्द्रहरूमा बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म दुई सिफ्टमा काम गरिरहेको छ । अनलाइन प्रणाली र राष्ट्रिय परिचयपत्रसँगको आबद्धताले आगामी दिनमा यो चाप स्वतः घट्ने आयोगको विश्वास छ । नाम दर्ताको समय कात्तिक मसान्तसम्म रहेको छ ।

सम्बन्धित समाचार