वेदका रक्षक हिन्दू देवता मष्टो, कर्णाली जस्तै अपेक्षित र अपमानित

13.7k Shares

-प्रेम कैदी 

मष्टो देवताका बारेमा नेपालका बूढापाका सबै कुलका रुपमा जान्दछन् तर पश्चिमा शिक्षा पढेका आधुनिक ढाँचामा हुर्केको युवा पिढी प्रायः अनभिज्ञ देखिन्छन्। यसैको लाभ लिनका लागि केही पश्चिमा परस्त तत्वहरूले नेपाली समाजमा मष्टो बारे अनेक थरि भ्रमहरू फैलाउने मौका छोपेको देखिन्छ।

मष्टो बारे अहिलेसम्म प्राप्त प्रमाण लिखतमा कुशाभट्टको फाग भन्ने कृति नै उल्लेख्य मान्नु पर्दछ। कुशाभट्टहरूले आफ्नो झोलामा जुम्ला देशको जालन्धर (रास्कोट) बाट एउटा शिला बझाङ लिएर गएको कथा छ। हाल यो जालन्धर कालिकोट जिल्लामा पर्दछ।

रास्कोट नगरपालिकाको वडा नं. ५ बिजयपुर गाउँको अग्लो डाँडामा मौलाकोट भन्ने स्थान छ। त्यही मौलाकोट शिवको राजधानी हो र त्यो राज्य शिवले अलकापुरी राजा खस (सक) बहादुरलाई प्रदान गर्नु भएको र राजाको नाम बदलेर देवेन्द्र वा इन्द्र राखिदिनु भएको थियो। तिनै देवेन्द्रले स्वर्ग आफूले लिएर पृथ्वीको राज्य आफ्नो छोरा मष्टोलाई प्रदान गरेको फाग जस्ता ग्रन्थबाट थाहा हुन्छ।

मष्टो हिन्दूहरूको देवादिदेव शिव जस्तै दूग्ध भोगी, ज्ञान कर्म गर्ने र वेद आदि हिन्दू धर्मशास्त्रका रक्षक मानिन्छन्। मष्टोले समुद्रमन्थनका बेला इन्द्र पुत्र जयन्तका रूपमा अमृत कलशको रक्षा गरेकोले महादेवले सबै देवताहरूले पूजाको भोग मष्टो मार्फत ग्रहण गर्ने धार्मिक प्रचलन कायम गर्नु भएकोले हिमवत खण्डका समग्र हिन्दू समाजले देवताहरूको पूजा मूलरूपमा कुलायनको पूजा के रूपमा ग्रहण गरिएको पाइन्छ।

मष्टोका अनेक स्थानीय रूपहरू पाइन्छन्। मष्टोले आवश्यक परे युद्ध गर्नु परे सती देवीले कालीको रूप धारण गरे जस्तै दाहिने मष्टो जस्तो भयानक स्वरूपमा आउने गरेको पाइन्छ। मष्टोलाई इन्द्रको जाया (छोरा) मात्र नभई उनकी माता मष्टो मण्डाल्नी अर्थात् स्वस्थानीमाताको मण्डलकी अधिपति भनेपछि इन्द्रले गरेको पाइन्छ।

भगवानकी रानी शची पनि हुन सक्ने कुरा अनुमान छ, तर मष्टो मण्डाल्नीलाई प्रष्ट रूपमा फागमा सची नै भनी नलेखिएकोले यसबारे अझै अनुसन्धान गर्नु आवश्यक छ। हिमवत खण्डको काश्मीरदेखि सिक्किमसम्म कुनै न कुनै रूपमा हिन्दू देवता कै रूपमा मष्टोको पूजा गरिएको पाइन्छ भने विदेशमा पनि उनको कम महत्व छैन।

उत्तराखण्डमा ३ दिनसम्म राजकीय सम्मानका साथ चण्डाक मष्टोको पूजा हुने गरेको छ। चीनमा उक्सिन व्यानर भन्ने भित्री मंगोलियाको राजधानीमा हान हार मष्ट टेंग्री भनी मष्टो देवको पूजा गरिन्छ। त्रिशूल र स्वस्तिक चिन्हका साथ विशाल मन्दिर बनाइएको छ। मंगोलहरूमा ८०% जनसंख्याकै आधारमा मष्टो मान्ने हिन्दूहरू रहेको देश हो चीन गणराज्यको भित्री मंगोलिया।
यस्तै कोरियादेखि पोल्याण्डसम्म कुनै न कुनै रूपमा टेग्री वा टेन्जर (मष्टो देवताको पूजा गरिएको) पाइन्छ। कज्जाक क्षेत्रमा त राजकीय स्तरमा टेंग्रीलाई राष्ट्र धर्म बनाउने आन्दोलन चलेको पाइन्छ।

इराक र इरानमा स्थानीय वेदका रूपमा मानिने जरथ्रुष्ट भन्ने सन्तले लेखेको अभेस्ता भन्ने ग्रन्थका मुख्य देवता मध्ये अहुर मज्दा (मष्टो देव) कै उल्लेख भएको पाइन्छ। हिन्दू धर्मका चिन्ह त्रिशूल, स्वस्तिक, घण्ट र अनेक मूर्ति जस्तै नन्दी आदि स्थापना गरिएको मन्दिर क्षेत्र विश्वका अनेकौं भूभागमा पाइन्छन्।

पश्चिमाहरूले पूर्वका आस्थामाथि (जंगली आस्था भएको) जस्ता निम्न कोटीको व्याख्या गरेका छन्। आफ्ना भक्तहरूबीच बोलिने यस दैवी प्रचलनबारे हाल अनेकथरी अनुसन्धान भैरहेको छ। योगी नरहरीनाथले शुरु गरेको मष्टो देवको अनुसन्धान सन् १९६० को दशकपछि पश्चिमका विद्वानहरूले पनि छिटफुट लेख्न थालेका छन्, तर गम्भीरतापूर्वक गरिएको अनुसन्धान आजसम्म पाइँदैन। नेपालका विश्वविद्यालयहरू तथा सरकारले राष्ट्रको कुलदेवता मष्टोबारे कहिल्यै कुनै उत्थान गर्ने सोच राखेको पाइँदैन। स्वयं मष्टोका पालीहरूले पनि कुनै खास चासो लिएको देखिँदैन। यस क्षेत्रमा काम गरिरहेका विद्वानहरूबारे राजनैतिक र सामाजिक क्षेत्र पूर्ण रूपमा मौन देखिन्छ। मष्टो पृथ्वीका शासक र कुलायन कर्णालीमा उत्पन्न भएकोले हो कि कर्णाली क्षेत्र जस्तै पूर्ण रूपमा उपेक्षित छ। यस्तो उपेक्षाप्रति कर्णाली कहिले जाग्ने हो भन्ने कुनै ठेगाना छैन।

कर्णालीका रास्कोट, मान्म, सिंजा, जुम्ला लगायत अनेकौं धार्मिक तथा ऐतिहासिक महत्वका क्षेत्रबारे न राष्ट्र जागरुक छ न स्थानीय बुद्धिजीवीहरू नै कहिल्यै कुनै कुरामा अग्रसर छन्। योगी नरहरीनाथ, रत्नाकर देवकोटो जस्ता त्यस क्षेत्रका लागि अनुसन्धान गर्नेहरू पनि हिजोको पञ्चायतकालभन्दा कयौं गुणा गणतन्त्रमा अपमानित र उपेक्षित छन्। कर्णाली क्षेत्रमा मात्र होइन, त्यहाँ जरा भएका देवी-देवताहरू पनि उपेक्षित र अपमानित भैरहने अवस्थामा सुधार आउने सम्भावना न्यून हुनु झन् दुःखद पक्ष हो।

लेखकः मष्टो कुलदेवता प्रतिष्ठानका संस्थापक सदस्य एवम् वरिष्ठ पत्रकार साथै राजनीतिक विश्लेषक हुनुहुन्छ।
सम्बन्धित समाचार