भारतमा क्यान्सर पत्ता लगाउन कुकुर र एआईकाे सहकार्य

848 Shares

विश्व। भारतमा कुकुरको सुघ्ने क्षमता र कृत्रिम बुद्धिमत्ता अर्थात् एआईको संयोजनबाट क्यान्सरको प्रारम्भिक सङ्केत पहिचान गर्ने प्रयास अघि बढाइएको छ । बेङ्गलुरुमा रहेको स्टार्टअप ‘डोग्नोसिस’ ले कुकुरको गन्धप्रतिको प्रतिक्रिया एआईमार्फत विश्लेषण गरी परीक्षण विधि विकास गरिरहेको समाचार संस्था एएफपीले जनाएको छ ।

‘डोग्नोसिस’ ले १५ वटा कुकुरलाई तालिम दिएको छ । कुकुरलाई सेन्सरयुक्त उपकरण लगाएर मस्तिष्क गतिविधि, श्वासप्रश्वास र शरीरको भाषा अभिलेख गरिन्छ । बिरामीले झन्डै १० मिनेट कपासको मास्कमा सास फेरेपछि त्यो नमूना प्रयोगशालामा लगेर कुकुरमार्फत परीक्षण गरिन्छ । यस क्रममा बिरामी र कुकुरबीच प्रत्यक्ष सम्पर्क हुँदैन ।

‘डोग्नोसिस’ का अनुसार कर्नाटकका ६ अस्पतालमा १ हजार ५०० जनाभन्दा धेरै सहभागिमा गरिएको अध्ययनमा ७ प्रमुख प्रकारका क्यान्सर पहिचानमा ९० प्रतिशतभन्दा धेरै शुद्धता हासिल भएको छ । यो अध्ययन ‘जर्नल अफ क्लिनिकल ओन्कोलोजी’ मा प्रकाशित भएको छ । कम्पनीले अर्को वर्ष यसको व्यावसायिक प्रयोग शुरू गर्ने लक्ष्य राखेको छ ।

क्यान्सरको प्रारम्भिक पहिचानले उपचारको प्रभावकारिता बढाउन सक्ने भए पनि भारतमा धेरै बिरामीको रोग विकसित भएपछि मात्र पहिचान हुने गरेको छ । त्यसैले कुकुरको सुघ्ने क्षमतालाई सहज र कम खर्चिलो प्रारम्भिक परीक्षणका रूपमा प्रयोग गर्न सकिने अपेक्षा गरिएको छ ।

स्वतन्त्र क्यान्सर विशेषज्ञहरूले भने प्रारम्भिक परिणामलाई आशाजनक भए पनि थप ठूलो अध्ययन आवश्यक रहेको बताएका छन् । रमैया मेमोरियल अस्पतालका सन्तोष कुमार देवदास र मणिपाल अस्पतालका नीलेश रेड्डीले प्रविधिको वास्तविक चिकित्सकीय उपयोगिता थप अनुसन्धानबाट पुष्टि हुनुपर्ने बताउनुभयो ।

मानिसको तुलनामा कुकुरमा झन्डै ३० करोड घ्राण रिसेप्टर हुने र रोगका कारण शरीरबाट निस्कने रसायनमा हुने परिवर्तनले विशेष गन्ध सिर्जना गर्न सक्ने अनुसन्धानले देखाएको छ । यही क्षमतालाई एआईसँग जोडेर क्यान्सर पहिचानको नयाँ विधि विकास गर्न खोजिएको खबरमा उल्लेख छ ।

‘डोग्नोसिस’ ले कुकुरलाई सकारात्मक प्रोत्साहनमार्फत विशेष गन्ध पहिचान गर्न तालिम दिने गरेको छ । कुकुरलाई दिनमा ३० देखि ४५ मिनेट मात्र काम गराइने कम्पनीले जनाएको छ ।

सम्बन्धित समाचार