सेनाले भन्याे– ‘जलविद्युत् आयोजनाको सुरुङभित्र १२१ जनामात्रै फसेको देखिन्छ’

819 Shares

काठमाण्डाै – नेपाली सेनाले रसुवा बाढीका कारण भोटेकोशी तथा त्रिशूली नदी क्षेत्रमा रहेका जलविद्युत् आयोजनाका सुरुङमा १२१ जनामात्रै फसेका बताएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा आज आयोजित कार्यक्रममा सेनाका सहायक रथी सुवासजङ्ग थापाले याे जानकारी दिनुभएको हो ।

उहाँका अनुसार रसुवागढीमा ५, लाङटाङमा ७, चिलिमेमा ७, माथिल्लाे त्रिशूली–१ मा झन्डै ५०, त्रिशूली–३ ए मा ४२ गरी १२१ जना सुरुङभित्र रहेका छन् ।

त्रिशूली ३ बी मा हराएका सबै व्यक्ति सुरुङभित्र प्रवेश गरेका व्यक्ति नभएका सहायक रथी थापाले बताउनुभयो । विभिन्न परियोजनामा काम गर्ने ९०० जनाभन्दा धेरै सम्पर्कविहीन भएका भए पनि ती सबै सुरुङभित्र नरहेका उहाँको भनाइ छ ।

सुरुङ पूर्णरूपमा नछिचाेलिएसम्म सुरुङभित्र फसेका व्यक्तिको खोजी चलिरहने सेनाले जनाएकाे छ ।

सहायक रथी थापाले अहिले सूचनामा आधारित उद्धारलाई प्राथमिकतामा राखेको जानकारी दिनुभयो । कुनै ठाउँमा व्यक्ति फसेको वा सम्भावित अवस्थाबारे सूचना प्राप्त हुनेबित्तिकै टोली परिचालन गरी खोजी गर्ने रणनीति अपनाइएको उहाँले बताउनुभयाे ।

खोजी तथा उद्धारसँगै सेनाले पुनर्निर्माण र पुनर्स्थापनाका काम पनि अघि बढाएको जनाएको छ ।

सम्बन्धित समाचार