सही शिक्षा नीति बिना राष्ट्र सक्षम हुन सक्दैन

5.4k Shares

- बन्दना सिल्वाल

शिक्षा भनेको ज्ञान लिने र दिने क्रिया हो, सिकेर, सुनेर वा अन्य कुनै पनि प्रकारले समाज र प्रकृतिद्वारा ग्रहण गरिने सैद्धान्तिक तथा व्यावहारिक विषयको बोध हो शिक्षा। यसलाई सरल भाषामा सबैले बुझ्ने गरी भन्नुपर्दा शिक्षा भनेको सिक्ने कला हो। मैले जीवनमा कि त सिकेँ कि त जितें, कहिल्यै हारिन। यसको अर्थ हार नै भएन भन्ने होइन तर त्यो हारबाट पनि केही न केही त सिकिन्छ नि? यसैलाई मैले जीवनको चुरो बनाए। शिक्षक लगायत सबैमा हुनु पर्ने गुण पनि यही हो भन्ने मलाई लाग्यो, हुन सक्छ यो अरुको लागि ग्राह्य नहोला। कसैको लागि मूल मन्त्र पनि बन्न सक्छ, यो व्यक्तिगत समझको विषय हो।

हामी सबैले पक्कै सुनेका छौं कि शिक्षा मात्रै नभएर पढाउने क्रममा शिक्षा दीक्षा दिने भनिन्छ। दीक्षा भन्ने शब्दको भाष्य त्यत्तिकै उत्तम छ, दीक्षा भनेको व्यक्तिको मानसिक र चारित्रिक विकास तथा सद्गुणका निम्ति दिइने शिक्षा हो। नेपालको परिप्रेक्ष्यमा राष्ट्रिय शिक्षा योजना अन्तर्गत सक्षम जनशक्ति तयार पार्ने तथा व्यवसायमूलक पद्धतिमा विशेष जोड दिने उद्देश्य राखी शिक्षा दीक्षा दिनु पर्दछ भन्ने प्रष्ट रूपमा उल्लेख गरिएको छ।

के अहिलेको २१ औं शताब्दीको शिक्षा प्रणालीमा यसमा जोड दिइएको छ त? यस तथ्यतर्फ सबैको ध्यानाकर्षण हुनु आवश्यक छ। आँखा बन्द गर्दैमा सूर्यको प्रकाश निष्तेज हुँदैन। साथै शाश्वत सत्यको लागि कुनै प्रमाण चाहिँदैन। शाश्वत सत्य आफैं उभिन सक्षम हुन्छ, शाश्वत सत्यलाई कसैको साथ र सहयोग चाहिँदैन। समस्याबाट भाग्नु समस्याको समाधान होइन। नेपाल कृषि प्रधान देश हो। यहाँको शिक्षा नीति पनि यसै बमोजिम हुनु आवश्यक छ। सबै राष्ट्रमा शिक्षा नीति एकै प्रकारको हुनु पर्दछ भन्ने छैन। राज्यको आफ्नै नियम हुन्छ, जसलाई Law of the land (भूमि कानून) भनिन्छ। जुन राज्यमा हामी बसेका छौं, त्यस राज्यका नीति नियमलाई मान्नु आवश्यक छ, नत्र अराजकता फैलिन्छ।

आधुनिक शिक्षा प्रणाली बिना विद्यार्थीहरू आत्मनिर्भर बन्न सक्दैनन्। आधुनिक शिक्षा भन्नाले व्यवहारिक र प्राविधिक सीपमूलक तरिकाले शिक्षा प्रदान गर्ने पद्धतिलाई बुझ्नु आवश्यक छ। सीपमूलक जनशक्ति उत्पादन गर्नका लागि पनि यो अति आवश्यक छ। राष्ट्रिय शिक्षा योजना अन्तर्गत सक्षम जनशक्ति तयार पार्ने तथा व्यवसायमूलक र प्राविधिक शिक्षामा विशेष जोड दिने लक्ष्य राखिएको थियो, तर करनी र गरनीमा एकरूपता देखिएन, जुन हुनु जरूरी छ।

राजा विरेन्द्रले २०३१ सालमा राज्याभिषेकको अवसरमा नेपालमा प्राथमिक शिक्षा निशुल्क गराउनु भएको थियो। आधुनिक शिक्षा प्रणाली भनेको अहिलेको समयले खोजेको सीप र आवश्यकता हो। अहिलेको शिक्षामा हेर्ने दृष्टि, सुन्ने शक्ति, बोल्ने कला, विभिन्न प्रविधिको ज्ञान आदि पर्दछन्।

शिक्षा प्रणाली यस्तो हुनु पर्दछ जसले विद्यार्थीहरूलाई आफूभन्दा ठूलोलाई आदर गर्ने, सानोलाई माया गर्ने र परिवारमा मेलमिलापको वातावरण कायम गर्न सकोस्। कुनै पनि बाबु आमाको आशा र भरोसा छोरा छोरीबाट निष्फल नबनियोस्, बाबु आमाको सपना बीचैमा नटुटोस्, यस्तो जनशक्ति उत्पादन गर्नु आवश्यक छ जसले यो धर्तीलाई स्वर्ग तुल्याउन र यस धर्तीमा बस्ने मानिसहरूलाई देवता तुल्याउन सकोस्।

शिक्षकहरू पनि सिर्जनशील (Creative) हुनु आवश्यक छ र विद्यार्थीहरू पनि सिर्जनशील हुन जरुरी छ। बलेको आगोले नै अर्को दाउरालाई सल्काउँछ, त्यसैगरी आत्मपरीक्षण (Self-introspection) हुनु आवश्यक छ। हरेक आमा बाबुले आफ्ना छोरा छोरीको भविष्य राम्रो बनाउनका लागि विद्यालयमा पढ्न पठाएका हुन्छन्। के शिक्षकले त्यस यथार्थलाई मध्यनजर गरेर मेहनत गरेका छन् त? त्यसै अनुसार मेहनत गर्नु पर्दछ, जसले गर्दा जतिसुकै अपवाद आए पनि खेप्न सकिन्छ र आत्मा सन्तुष्टि मिल्दछ। नेपालको परिप्रेक्ष्यमा अहिलेसम्म कुनै पनि विद्यालयमा कसरी जमिनलाई उर्वर बनाउन सकिन्छ, कसरी गोबरलाई सही प्रकारले बालीनालीमा प्रयोग गर्नु पर्दछ भन्ने जस्ता विषयको ज्ञान दिइएको पाइँदैन। यसका साथै खेतीपातीको उत्पादन कसरी बढाउन सकिन्छ, पौष्टिक खाने कुराहरु के के हुन्, आफूलाई कसरी स्वास्थ्य राख्न सकिन्छ जस्ता विषयको पढाइ हुनु आवश्यक छ। यस्तो किन भने मानिस कति लामो समय बाँच्छ भन्दा पनि स्वस्थ जीवन जिउन सक्छ कि सक्दैन भन्ने महत्वपूर्ण पक्ष हो। आफ्नो मुलुकमा उत्पादन बढाएर, कलकारखाना खोलेर रोजगारीको सिर्जना कसरी गर्न सकिन्छ, यसबारे विद्यालयमा शिक्षा दीक्षा दिन सुरु गर्नु आवश्यक छ।

यसरी शिक्षा दीक्षा दिने हो भने हामी शिक्षामा स्वावलम्बी हुन सक्छौं, चिकित्सामा स्वावलम्बी हुन सक्छौं, योग शिक्षा समेत दिन आवश्यक छ। यसरी शिक्षा दिनका लागि प्रत्येक शिक्षकले आफूलाई न्यायधीशको रूपमा स्थापित गर्नु पर्दछ। किनभने विद्यालयमा विद्यार्थीलाई दिइने सजाय प्रतिशोधमूलक होइन, सुधारात्मक हुनु आवश्यक छ। पूर्वाग्रहबाट ग्रसित नभई निष्पक्ष न्याय हुनु जरुरी छ। शिक्षक उपदेशक होइन, उदाहरण बनेर उभिन सक्नुपर्दछ र विद्यालय सञ्चालकले पनि त्यसै प्रकारको वातावरण दिनु आवश्यक छ। सेकेण्ड सेकेण्ड समयको महत्व बुझेर पूर्ण रूपमा उत्तरदायी भएर आफ्नो कर्ममा खट्नु आवश्यक छ। यदि हामी आफ्नो कर्तव्य ठीकसँग पूरा गर्छौं भने सबैले हामीलाई सम्मान गर्नेछन् र यदि हामी आफ्नो कर्तव्य ठीकसँग पूरा गर्दैनौं भने सबैले हामीलाई निन्दा गर्नेछन्।

यसरी सैद्धान्तिक मात्रै नभएर व्यावहारिक शिक्षा नीतिलाई अगाडि बढाउन सकेमा कुनै पनि समयमा बेरोजगार बस्नु पर्दैन। हाम्रो देशको शिक्षा नीतिको कारणले नै हो, आजभन्दा ४५ वर्ष पहिले दक्षिण कोरिया र नेपालको अवस्था समान थियो तर आज त्यही दक्षिण कोरिया जानका लागि नेपाली दाजुभाइ, दिदीबहिनीहरू प्रतिस्पर्धा गरिरहेका छन् किन? आजका विद्यार्थीहरू नै भविष्यका कर्णधार हुन्। सही शिक्षा नीति भएर राम्रो शिक्षा प्रदान गर्न सकेमा दक्ष जनशक्ति उत्पादन गर्न सकिन्छ।

प्रत्येक आमा बाबुहरुले आफ्ना छोरा छोरीको व्यावहारबाट के पाएका छन् त? के उनीहरुको सपना त्यही थियो वा त्यो सपना बीचमा नै टुटिरहेको छ? पुस्तकको ज्ञानले मात्र मानव पूर्ण बन्न सक्दैन। पुस्तकलाई घोकेर राम्रो नम्बर लिएर परीक्षा राम्रो गर्न सक्छ तर उसमा जीवनका अन्य पाटाहरु बाँझा रहन्छन्। विद्यालयमा अनुशासन त सिकाइन्छ, जुन अरुद्वारा दिइन्छ तर के उनीहरुमा जागरणको पनि केही छनक पाइन्छ त?

मानिसले पाउन चाहेको जीवनको अन्तिम निष्पत्ती भनेको गास, बास, कपास, शान्ति, आनन्द हो। त्यसलाई प्राप्त गर्न विद्यार्थी जीवनदेखि नै मेहनत गर्नु पर्दछ। विद्यार्थी आफैले पनि मैले राम्रो कर्म गर्नु पर्दछ, आफ्ना आमा बुबा र अग्रजहरुको सपनालाई तिलाञ्जली दिनु हुँदैन भन्ने तर्फ सचेत हुनु जरुरी छ। यसैलाई जागरण भनिएको हो, यसको अर्थ म अनुशासनको विरोधी पनि होइन तर यात्रा जागरणसम्मको हुनु पर्दछ।

हाम्रो देशले दिएको शिक्षाले कस्ता राजनेता उत्पादन गर्यो, हाम्रो देशमा दिइएको शिक्षा नीतिले कोरियन भाषा सिक्ने, जापानिज भाषा सिक्ने, अंग्रेजी भाषा सिक्ने जनशक्ति मात्र उत्पादन गर्ने हो भने अबको १० वर्षमा देशको अवस्था कस्तो होला, यो बहसको विषय हुन सक्छ। शिक्षा नीतिमा आमूल परिवर्तन हुनु जरुरी छ, आज स्नातकोत्तर उत्तीर्ण गरेको व्यक्तिले देशमा सहज रुपमा जागिर पाउन सक्ने अवस्था छैन। शैक्षिक बेरोजगारी बढ्दै गएको छ। यसको लागि शिक्षा नीतिमा व्यावहारिक र सिपमूलक ज्ञानको अभाव भएको सम्बन्धित निकायले महसुस गर्नु जरुरी छ, समयको माग पनि हो।

यदि यो व्यावहारिक र सिपमूलक शिक्षा दिइयो भने १० कक्षा पास गरेदेखि नै काम गर्नलाई अवसर मिल्न सक्छ, जस्तै, विजुली सम्बन्धी, पानी सम्बन्धी, कृषि सम्बन्धी, कम्प्युटर सम्बन्धी, बाटो घाटो बनाउने सम्बन्धी, कपडा सिलाउने सम्बन्धी, व्यापार सम्बन्धी, अर्गानिक मल बनाउने सम्बन्धी, सवारी चलाउने बारेमा, गाडी, मोटर साइकल मर्मत सम्बन्धी, नक्सा बनाउने बारेमा, योग ध्यान सम्बन्धी, उत्पादन बढाउने सम्बन्धी, गाई पालन, माहुरी पालन, भेडा बाख्रा पालन, माछा पालन आदि हजारौं विधाहरू छन्, यसबारेमा शिक्षा नीतिमा जोड दिनु आवश्यक छ।

अहिलेको नेपालको तथ्यांक अनुसार पनि ८५ लाख युवा युवतीहरू रोजगारीको लागि बाध्य भएर विदेशिनु परेको छ। कति नेपाली दिदीबहिनीहरूले विभिन्न स्वदेशी र विदेशी गिरोहहरूको फन्दामा परी, नचाहँदा नचाहँदै पनि यौन व्यवसाय जस्तो नरकिय पेशा अपनाउन बाध्य भएका छन्। यो उनीहरूको इच्छा थिएन, यसतर्फ सम्बन्धित निकायहरूको ध्यानाकर्षण हुन जरूरी छ र स्वदेशमै रोजगारीको सिर्जना गर्नुपर्नेछ। गर्नुपर्ने देखिन्छ। दक्ष जनशक्ति लाखौं लाख खर्च गरी पढेर बेरोजगार भएर, आफ्नो योग्यतालाई तिलाञ्जली दिइ विदेशमा महिनाको दुई तीन लाख कमाउन जोखिमपूर्ण कार्य गर्न बाध्य भएका छन्। ती व्यक्तिहरूले यदि नेपालमा रोजगारी पाएमा विदेशमा आफूले सिकेको शिक्षा र सीप बेच्न जान्थेनन्। यसमा राज्यले गम्भीर रूपमा सोचेर शिक्षामा आमूल परिवर्तन गरी शिक्षा प्रणालीलाई रोजगारीमुखी बनाउन आवश्यक छ।

यो मैले २३/२४ वर्षसम्म शिक्षकको रूपमा शिक्षाको क्षेत्रमा काम गरेको अनुभवको आधारमा अनुभूतिहरूलाई लिपिबद्ध गरेको हुँ। कुनै पनि नयाँ कार्यले मूर्त रूप लिनु अघि विवादास्पद हुन सक्छ, तर शिक्षा प्रणाली व्यावहारिक र सीपमूलक हुनुपर्छ भन्ने प्रस्तावले अपवाद भोग्नु पर्दैन भन्ने मलाई लाग्दछ। यसबाट राष्ट्र आत्मनिर्भरतातर्फ अग्रसर हुने शाश्वत सत्यमा म विश्वस्त छु।

सम्बन्धित समाचार