पूर्वऊर्जा सचिव अनुपकुमार उपाध्यायको संयोजकत्वमा कुलमानको पार्टी

5.6k Shares

काठमाडौँ । अन्तरिम सरकारको तीन महत्वपूर्ण मन्त्रालयको नेतृत्व गरिरहेका कुलमान घिसिङको पार्टी निर्माण अन्तिम चरणमा पुगेका छन् । 

स्रोतका अनुसार आइतबार रातिसम्म भएको छलफल अनुसार पार्टीको नाम ‘नेपाल जनसेवा पार्टी’ राख्नेबारे मोटामोटी सहमति भइसकेको छ । त्यस्तै,पार्टीको चुनाव चिन्ह भने बिजुलीको बल्ब (चिम) लिने तयारी रहेको छ ।

आज नै निर्वाचन आयोगमा नयाँ पार्टी दर्ताका लागि निवेदन दिने तयारी रहेको स्रोतले जनाएको छ । स्रोतले भन्यो, ‘बेलुकासम्म पार्टीको नाम, चुनाव चिन्ह लगायतका विषयमा सहमति जुटाउनको लागि छलफल भयो । सबै विषयमा सहमति भएको छैन । पार्टी दर्ता गर्न जानुअघि छलफल गरी आयोग जाने तयारी छ ।’

पार्टीको नाम ‘नेपाल जनसेवा पार्टी’ राख्ने सहमति भए पनि कसको नेतृत्वमा जाने भन्ने यकिन नभएको स्रोतको भनाई छ । ‘सरकारको तीन महत्वपूर्ण मन्त्रालयको नेतृत्व गरेकाले पार्टी अध्यक्षमा कुलमान घिसिङ नबस्ने भन्ने विषयमा छलफल भइरहेको छ,’ स्रोतले भन्यो, ‘कुलमानको नेतृत्वमा नभए पूर्वऊर्जा सचिव डा. अनुपकुमार उपाध्यायको नेतृत्वमा पार्टी दर्ता गर्ने तयारी छ । यस विषयमा आजै टुंगो लाग्नेछ।’

उपाध्ययको नेतृत्वमा पार्टी दर्ता गरेर कुलमानलाई प्रधानमन्त्रीका रूपमा अघि सार्ने तयारी गरेको बताइएको छ । पार्टीले ‘एक व्यक्ति एक पद’को नीति लिने तयारी रहेको छ ।

स्रोतका अनुसार उक्त पार्टीमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) को पनि समर्थन रहने दाबी गरिएको छ। त्यस्तै, पूर्वरास्वपा नेतृ सुमना श्रेष्ठ भने जोडिने कि नजोडिने भन्ने निश्चित नभएको कुलमान निकट स्रोतले जानकारी दिए । उनले भने, ‘आइतबार बेलुकाको वार्तापछि यसबारे भने निर्णय हुन सकेन । सुमनाजी आउने सम्भावना छ तर यकिन भएको छैन ।’

सम्बन्धित समाचार