नेपालमा नागरिकताको दुरुपयोग र बैंक लुटपाट योजना : भारतीय महिला प्रीति देवी सुदनको विवादास्पद खेल

11k Shares

वीरगञ्ज । नेपालमा उद्योग खोल्ने नाममा नेपाली नागरिकताको दुरुपयोग गरी बैंकसँग मिलेमतोमा करोडौं रुपैयाँको ऋण लुट्ने प्रयास गरेको एक भारतीय महिलाले खुलेआम प्रहरी प्रशासनलाई चुनौती दिएकी छिन्।

रक्सौलका प्रतिष्ठित व्यापारी रिपुसुदन प्रसादसँग झन्डै २५ वर्षअघि बलराम कलवारकी माइली छोरी प्रीति कुमारीको विवाह भएको थियो। विवाहपछि प्रीति देवी सुदन नामले चिनिएकी उनी अहिले भारतीय नागरिकता र मतदाता परिचयपत्रसमेत भएकी पक्का प्रमाणित भारतीय नागरिक हुन्।

तर प्रीति देवीले अहिले नेपालमा उद्योग सञ्चालन गर्ने नाउँमा आर्थिक र कानुनी खेल सुरु गरेकी छन्। फरार भनिएका व्यवसायी पवनकुमार साह (उर्फ त्रिभुवन)का छोरा शिवम साहसँग मिलेर उनले शिवम आयल रिफाइनर्स प्रा. लि. नामक उद्योग बाराको नितनपुरमा दर्ता गरेकी छन्।

२५ करोडको पूँजी, तर धितो पाँच करोडको मात्रै

कागजातअनुसार उक्त उद्योगको अधिकृत पूँजी २५ करोड रुपैयाँ र चालु पूँजी ११ करोड रुपैयाँ देखाइएको छ। तर बैंक ऋणका लागि धितो राखिएको सम्पत्ति भने अत्यन्त सानो र मूल्यहीनजस्तै देखिन्छ — काठमाडौं–२४ मा ४५.७१ वर्गमिटरको घर र वीरगञ्ज–६ मा एक कठ्ठा जग्गा सहितको घर, जसको संयुक्त बजार मूल्य करिब पाँच करोड रुपैयाँ मात्रै रहेको छ।

यही सम्पत्तिलाई आधार बनाएर प्रीति देवीले ग्लोबल आइएमई बैंक कमलादी शाखाबाट २७ करोड रुपैयाँ ऋण स्वीकृत गराएकी छिन्। यी सम्पत्तिहरू प्रीतिकी आमा शान्ति देवी कलवारको नाममा दर्ता छन्।

प्रशासनको निर्देशन र प्रहरीको मौनता

यो विवाद प्रीति र उनका काका–छोराबीच अंशसम्बन्धी विवाद पछि सार्वजनिक भएको हो। त्यसपछि जिल्ला प्रशासन कार्यालय, पर्साले असोज २७ गते पत्रमार्फत जिल्ला प्रहरी कार्यालयलाई प्रीति कुमारीलाई सक्कल नागरिकतासहित उपस्थित गराउन निर्देशन दिएको थियो।

उक्त निर्देशनपछि असोज २९ गते वडा प्रहरी कार्यालय विर्तालाई पत्र पठाई कार्यान्वयन गर्न भनिए पनि, अहिलेसम्म प्रहरीले कुनै कारबाही अगाडि बढाएको छैन।

फरार व्यापारीको भोजमा सहभागिता

यसबीच, रिपुसुदन र प्रीति सुदनका नातेदार रिशुसुदनको कात्तिक १७ गते वीरगञ्जको होटल क्लार्कमा टिको–टालो समारोह सम्पन्न भएको छ। उक्त भोजमा फरार व्यापारी पवनकुमार साह (त्रिभुवन) समेत उपस्थित रहेको स्रोतले जनाएको छ।

भारतीय बिहार सरकारको शराबबन्दी नीति का कारण धनी परिवारहरूले यस्ता समारोह नेपालमा गर्न थालेका छन्। तर राज्यले खोजी गरिरहेका व्यक्तिहरू खुलेआम सार्वजनिक कार्यक्रममा उपस्थित हुँदा सरकारले घोषणा गरेको शून्य सहनशीलताको नीति माथि गम्भीर प्रश्न उठेको छ।

व्यावसायिक लुगा भित्रको तस्करी जालो

रिपुसुदन प्रसादका बुबा स्व. लक्ष्मण प्रसाद एक प्रतिष्ठित व्यवसायीका रूपमा परिचित थिए। तर छोराका विवादास्पद कार्यले परिवारको प्रतिष्ठा धरापमा परेको भनाइ व्यापारी वृतमा फैलिएको छ।

रिपुसुदनले इन्डियन ओभरसिज बैंकबाट करिब ७० करोड रुपैयाँ ऋण लिएर लसुन र मकैको व्यापार सुरु गरेको बताइन्छ। तर उनले तेस्रो मुलुकबाट वस्तु भित्र्याई नवलपरासी र मलंगवा नाकाबाट भारततर्फ तस्करी गर्ने आरोपसमेत खेप्दै आएका छन्।

साथै, वीरगञ्जका व्यापारी मुकेश अग्रवालको करोडौं रुपैयाँ हजम गरेको र ससुराली सम्पत्तिमाथि कब्जा जमाउने प्रयास गरिरहेको आरोप पनि स्थानीय व्यापारीहरूले लगाएका छन्।

निष्कर्ष : प्रशासनिक मौनता र आर्थिक अपराधको संरक्षण

भारत–नेपाल सीमामा जडित यस्तो प्रकारको अन्तरदेशीय आर्थिक अपराध र नागरिकता दुरुपयोग नेपालको बैंकिङ प्रणाली र प्रशासनिक विश्वसनीयताका लागि गम्भीर चुनौतीको रूपमा देखा परेको छ।

प्रशासनले निर्देश दिएको भए पनि कारबाही नहुनु र फरार व्यापारीहरू सार्वजनिक कार्यक्रममा सहभागी हुन पाउनु, राज्य संयन्त्रभित्रैको प्रभाव र मिलेमतोको संकेतका रूपमा व्याख्या गर्न सकिन्छ।

यदि सम्बन्धित निकायहरूले तुरुन्तै छानबिन र कानुनी कारबाही अघि नबढाए, यसले भविष्यमा विदेशी नागरिकको नाममा चल्ने ‘कागजी उद्योगहरू’ र बैंक घोटालाको नयाँ ढोका खोल्ने खतरा बढ्ने निश्चित छ।

सम्बन्धित समाचार