चितवनमा जङ्गली च्याउ खाँदा २ जनाकाे ज्यान गयाे

703 Shares

चितवन – चितवनमा जङ्गली च्याउ खाँदा दुई जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) रवीन्द्र खनालका अनुसार इच्छाकामना गाउँपालिका वडा नम्बर १ कुलबाङका ९ वर्षीया नमुना चेपाङ र ११ वर्षीय सञ्जय चेपाङको ज्यान गएको हो ।

वैशाख २९ गते श्यामबहादुर चेपाङको परिवारका ५ जनाले जङ्गली च्याउ खाएकामध्ये ३ जना बिरामी परी भरतपुर अस्पताल भर्ना गरिएका थिए । उपचाररत १३ वर्षीया मनिता चेपाङको अवस्था गम्भीर रहेको छ ।

च्याउ विज्ञ डा. मित्र पाठकका अनुसार नेपालमा पत्ता लागेका झन्डै १३ सय प्रजातिका च्याउमध्ये १०० प्रजाति विषालु छन् । नमीठो वा तीतो गन्ध आउने, रङ्गीचङ्गी देखिने, भाँच्दा दूध निस्कने वा छुँदा रङ्ग फेरिने च्याउ विषालु हुन सक्छन् । विषालु च्याउ खाएपछि बान्ता, पखाला, जिब्रो सुन्निने र बेहोस हुनेजस्ता लक्षण देखिन्छन् । यस्तो भएमा तुरुन्त नजिकको स्वास्थ्य केन्द्र लैजान उहाँको सुझाव छ ।

च्याउ पकाउँदा चाँदी डुबाउने वा खरानी हाल्दा विष हराउँछ भन्ने भ्रममा नपर्न पाठकले सुझाव दिनुभएको छ । नचिनेको च्याउ नखानु नै उत्तम उपाय हो ।

सम्बन्धित समाचार