जुम्ली किसानलाई मार्सीधान काट्न चटारो

8.6k Shares

जुम्ला – खेतमा लटरम्मै पाकेको मार्सीधान काट्न जुम्लाका किसानलाई अहिले भ्याइनभ्याइ भएको छ । देशभर तिहार पर्वको रौनकका बीच जुम्लाका किसान भने एकाबिहानै धानखेतमा पुगेर बेलुकी अबेरसम्म धान काटेर घर भित्र्याउन व्यस्त हुन परेको चन्दननाथ नगरपालिका–२ का स्थानीय लक्ष्मी कुमाईले बताउनुभयो ।

यहाँका धेरैजसाे किसान दशैँ सकिएलगत्तै तिहार पर्व पनि नभनी धान काट्न व्यस्त देखिन्छन् । कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीका अनुसार जुम्लाको पहिचानका रूपमा रहेको मार्सीधान खेती गर्ने आफ्नै क्यालेन्डर छ, त्यही क्यालेन्डरका आधारमा किसानहरू धान भित्र्याउन फाँटहरूमा व्यस्त छन् । किसानलाई मौसमले साथ दिएको छ ।

चैतमा बीउ राख्ने, जेठदेखि असारसम्म रोपाइँ गर्ने, साउन–भदौमा गोड्ने र असोज–कात्तिकभित्र धान काटेर घरमा भित्र्याउने गरेको कार्यालय प्रमुख अधिकारीको भनाइ छ । किसानहरू बर्खेबाली धानसहित कोदो, सिमी र फापरलगायतका बालीनाली भित्र्याउने चटारोमा छन् ।

कृषि कार्यालयका अनुसार आर्थिक वर्ष २०८०/८१ मा जुम्लामा तीन हजार मेट्रिक टन मार्सी धान उत्पादन भएकामा दुई सय ५० मेट्रिक टन जिल्लाबाहिर निर्यात भएको थियो । जुम्लामा दुई हजार आठ सय ५० हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेकामा पछिल्ला वर्षहरूमा क्रमशः मार्सीधान लगाउने क्षेत्रफल घट्दै गएको कार्यालयले जनाएको छ ।

गएकाे वर्ष एक हजार पाँच सय हेक्टरमा रोपिएको मार्सीधान यस वर्ष भने एक हजार दुई सय हेक्टरमा मात्र खेती भएको कृषि विकास कार्यालयले जनाएको छ । अहिले यहाँका किसानले मार्सीधानसँगै कृषि अनुसन्धान केन्द्रले सिफारश गरेको धानको जातमध्ये चन्दननाथ–एक र चन्दननाथ–तीनका साथै लेकाली–एक र लेकाली– तीन जातको धान रोप्ने गरेका छन् ।

जुम्ली मार्सीधान पहिचानसँग जोडिएको छ । अहिले मार्सी चामल सदरमुकाम खलङ्गामा प्रतिकेजी एक सय ८० रुपैयाँमा किनबेच भइरहेको छ । विशेषगरी जुम्ला घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकले मार्सी चामल लिने गरेको सदरमुकाममा रहेकाे रारालिही अर्ग्यानिक पसलका सञ्चालक अर्जुन बुढाले बताउनुभयो ।

सम्बन्धित समाचार