‘बलिदान’ र ‘माइतीघर’ लाई उछिन्दै ‘हरिबहादुरको जुत्ता’ ले ओगट्यो सर्वाधिक शो

9.9k Shares

काठमाडौं । दशैंमा रिलिज भएका तीन नेपाली चलचित्रको तीव्र प्रतिस्पर्धामा ‘हरिबहादुरको जुत्ता’ ले अरुलाई उछिनेको छ । सुरुमा सबैभन्दा न्यून शो पाएको यस चलचित्रले दर्शकको साथ पाएसँगै आजबाट सबैभन्दा बढी शो कब्जा गरेको हो ।

फूलपाती अर्थात् असोज १३ गतेबाट ‘बलिदान’, ‘माइतीघर’ र ‘हरिबहादुरको जुत्ता’ एकसाथ रिलिज भएका थिए । यीमध्ये ‘हरिबहादुरको जुत्ता’ लाई कम आँकेर हलहरुले अरुभन्दा न्यून शो दिए । तर, सुरुबाटै दर्शहरुको बलियो साथ पाएको निर्माता सरोज ओलीले बताए ।

सुरुको दिनमा ‘बलिदान’ ले २४४ र ‘माइतीघर’ ले १४४ शो पाउँदा हरिबहादुरको जुत्ताले १३४ शो पाएको थियो । रिलिजको ७ औं दिनमा आइपुग्दा भने हरिबहादुरको जुत्ताले सर्वाधिक शो पाएको छ । यस चलचित्रलाई आज हलहरुले ११७ शो दिएका छन् । यस्तै, ‘बलिदान’ १०७ शो र ‘माइतिघर’ ७७ शोमा चलिरहेका छन् ।

अधिकांश हलले सुरुवाती दिनमा ‘हरिबहादुरको जुत्ता’ लाई सानो सिट क्षमताका हल दिएका थिए भने अहिले ठुलो सिट क्षमताका हलमा सारेका छन् । यही बीचमा भित्रिएको भारतीय चलचित्र ‘कन्तारा’ ले नेपाली चलचित्रको शो वितरणमा शो संख्यामा केही प्रभाव पारेको छ ।

बलियो ‘वर्ड अफ माउथ’ को बलमा चलचित्र ‘हिट’ को यात्रामा अग्रसर रहेको निर्माता ओलीले बताए ।

‘दर्शकको राम्रो प्रतिक्रियाका कारण हरिबहादुरको जुत्ता लामो रेसको घोडा बन्ने कन्फर्म छ,’ उनले भने ।

दिपेन्द्र के खनाल निर्देशित चलचित्रमा हरिवंश आचार्य, स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियंका कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, सिता न्यौपाने, कमलमणि नेपाल लगायतका कलाकारको अभिनय रहेको छ ।

एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको चलचित्रलाई सरोज ओली र मोहितबंश आचार्यले निर्माण गरेका हुन् ।

सम्बन्धित समाचार