महोत्तरी, ५ पुस
सबथोक हुँदाहुँदै दुःखैदुःख झेलिरहेका मानव जातिको प्रवृत्ति देखेर नै भूपि शेरचनले यो कविता रचना गरेका हुन सक्छन् । कामलाई श्रेणी दिने र हेय दृष्टिले हेर्ने प्रवृत्ति सामाजिक रूपमा मौलाउँदै गएको विकराल समस्याले युवाहरूलाई बेरोजगार मात्र बनाएको छैन्, वैदेशिक रोजगार र अपराध कर्ममा समेत प्रेरित गरिरहेको छ । तर, कतिपय यही समाजमा यस्ता व्यक्तिहरू पनि छन्, जसले कामलाई श्रेणीमा विभाजन गर्ने समाजलाई चुनौती दिँदै उदाहरणीय बनेका छन् ।
यस्तै उदाहरणीय पात्र हुन्, महोत्तरी जलेश्वर–३ भिट्ठामोडका रामनरेश यादव । चोक–चोकमा फ्याँकिएका फलामका टुक्रा, सिसा तथा कवाडी सामानहरू बटुल्नु यादवको दैनिक दिनचर्या हो ।
सौखिनहरूले पिएर फ्याकेका बियरका बोतल तथा सिसाहरू टिप्दा मान्छेले मान्छे गन्दैनन्, फलामका टुक्राहरू सहरका गल्लीगल्ली र गाउँका कुनाकुनामा खोज्दा कतिले मानसिक रोगी भन्छन् उनलाई । तर, कामको मुल्यांकन गर्ने समाजको हैसियतलाई गहन मुल्यांकन गरेर नै आफूलाई बेमतलवी ढंगबाट व्यतित् गरिरहेको उनी बताउँछन् ।
धोक्राभरी पानीका बोतल तथा खिया लागेका फलामका टुक्रा बोकेर हिँड्दा कतिपय मानिसले यादवलाई कठै भनेर दया देखाउँछन् भने कतिपयले नेपालको गरिबी र नेताहरूको वैचारिक नियतिलाई धारे हात लगाउँछन् । तर, नरेशराय यादवलाई सहानुभूति देखाउने यी दुवैथरी संस्कार सकिएका दरिद्र जस्तो लाग्छ ।
नेपालका कथित दरिद्रहरूको भिडले नै धेरै परिश्रमीहरूले कर्मलाई पहलायन बनाएका छन् । कुच्चो लगाउने, सरसफाइ गर्ने, कवाडी सामानहरू संकलन गर्ने, उर्बर बाँझो खेत खन्ने, खेत जोत्ने, जुत्ता पालिस गर्ने जस्ता कर्महरू पेसा नै होइन भन्ने खालको संस्कारलाई मलजल गर्दा समाजले नै बेरोजगार बनाएका युवाहरूलाई आफ्नै वरपर भएका कामले गिज्याइरहेको यादवको बुझाइ छ ।
रामनरेश यादवले ६ वर्षअगाडि कवाडी संकलन केन्द्र महोत्तरीको रामगोपालपुरमा खोल्दा पनि समाजको उहीँ सहानुभूति थियो । अहिले धनुषाको ढल्केमा हुँदा पनी उही सहानुभूति छ । आफ्नो आर्थिक समस्यालाई यादवले बोक्ने कवाडीको धोक्रासँग सुकिलामुकिलाहरूले सन्तुष्टि लिँदै आएका छन ।
यादवको भाषामा कमजोर दृष्टिकोण भएका कथित दरिद्रहरूको छोरीको विवाह गर्दाको ऋण छ । छोराछोरी पढाउन हम्मेहम्मे छ । दिनहुँ साहुले ब्याज नदिएको भन्दै पीडा दिरहेको छ । पढेलेखेका बेरोजगार भएर भाँैतारिरहेका छन्, र पनि उनीहरूको कामप्रतिको दृष्टिकोण बदलिएको छैन ।
आर्थिक हैसियतको कुरा गर्ने हो भने यादवले बोक्ने कवाडीको धोक्राले पारिवारिक खुसी दिएको छ । छोराछोरी राम्रै विद्यालयमा अध्ययनरत छन्, आर्थिक अभाव छैन ।
तै पनि अभावमा बाँचिरहेकाहरूको दृष्टिकोण नरेश यादवहरूको पेसाको दया, सहानुभूति र तिरस्कार कै वरिपरि घुमिरहेको छ ।
त्यसो भए के रामनरेश यादवको जस्तो कवाडी पेसा गरे कोही पनि बेरोजगार बन्नु पर्दैन त ? भन्ने प्रश्न पनि उठन सक्छ । तर, हरेक कामलाई सम्मान ढंगले हेर्ने संस्कारको विकास गर्ने हो भने काम आफ्नै वरिपरि छन् भन्ने प्रमाणित हुन्छ राम नरेशको पेसाबाट ।
औसत युवा जस्तै रामनरेशले पनि १४ वर्ष कतारको मरूभूमिमा गुजारेका छन् । परिवार, समाजबाट टाढा भएर काम गर्नुको पीडा उनलाई मात्र हैन रोजगारका लागि परदेश पहलायन भएका हरेकलाई उस्तै छ । त्यहाँ जस्तोसुकै काम गर्न पनि पछि नपर्ने, तर स्वदेशमा त्यही काम गर्न लाज लाग्ने मनस्थितिको विकासले सामाजिक विकृतिका श्रृंखलाहरू स्वदेशमा छताछुल्ल बन्दै गएको यादवको अनुभव छ ।
रामनरेशले दिनभरी कवाडी संकलन गरेर मासिक ५० हजार रुपैयाँसम्म कमाउछन् । तर, त्यही ५० हजार कमाउन दैनिक १५ सय युवाहरूको विमानस्थलमा लर्को छ । यो लर्कोलाई पनि समाजले हुर्काउँदै आएको गलत संस्कारले मलजल गरिरहेको छ ।
यादव भन्छन्, ‘पेसालाई दया, सहानुभूति र तिरस्कारले हेर्ने सोचलाई परिवर्तन गरी सम्मानित पेसाको रुपमा स्थापित गराउने हो भने वैदेशिक रोजगारको नाममा मरूभूमिको तातो घाममा पिल्सनु पर्ने बाध्यतावाट धेरै युवाले मुक्ति पाउने थिए ।’
सामाजिकरुपमा मौलाउँदै गएको गलत सोचको विकासले पारिवारिक भरणपोषण र सुख प्राप्तिका लागी परदेश पहलायन भएका कयौँको पार्थीव शरीर बाकसमा प्याक भएर आइरहेको छ । उनीहरूको मृत्युमा सबैभन्दा पहिला समाजको नै हात छ । आफ्ना पुस्ताहरूलाई कामको श्रेणीकरण गरेर कर्मबाट नै पहलायन बनाउने कथित समाजको हर्कतलाई नया पुस्ताहरूले समीक्षा गर्ने समय आएको छ ।
आफ्नै पाखापखेरामा श्रम गर्ने पौरखी युवाहरूलाई स्थानिय सरकार र समाजले प्रोत्साहन गर्न नसक्दा युवाहरूको रोजाई परदेश बनेको छ । कृषि कर्म, सिकर्मी, डकर्मी बन्न हुदैनजस्ता गलत सामाजिक सोचलाई जबसम्म विस्थापन गर्न सकिँदैन, तबसम्म युवाहरूको दैनिक १५ सयको लर्कोमा न कमी हुन्छ नत बाकसमा प्याक बनेर आउने शवको संख्यामा नै कमी हुन सक्छ ।
त्यसैले यो समाजले रामनरेश जस्ताका पेसालाई दया, सहानुभूतिले हेर्ने हैन बरु हरेक पेसालाई सम्मान गर्न आवश्यक छ अनि मात्र युवाहरू स्वरोजगार बनी आत्मनिर्भर बन्ने प्रशस्त ढोकाहरूको सुभारम्भ हुनेछन् ।