बागमतीलाई पुलिसको विशाल लक्ष्य

8.1k Shares

काठमाडौं – साबिक विजेता नेपाल पुलिस क्लबले प्रधानमन्त्री(पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशविरुद्ध विशाल योगफल तयार गरेको छ ।

कुशल भुर्तेल र कप्तान दीपेन्द्र सिंह ऐरीको अर्धशतकको सहयोगमा पुलिसले बागमतीविरुद्ध २ सय ९८ रनको विशाल लक्ष्य तयार गरेको हो । एक्स्ट्रा टेक क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको पुलिसले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ९७ रनको विशाल योगफल तयार गर्यो ।

यो योगफल यस संस्करणको सर्वाधिक ठूलो योगफल हो । यसअघि पुलिसले नै २ पटक तथा बागमतीले १ पटक २ सय ८८ रनको योगफल तयार गरेको थियो ।

पुलिसका लागि ओपनर कुशलले सर्वाधिक ८८ रन जोडे । यस संस्करणको तेस्रो अर्धशतक बनाएका कुशलले ९८ बलको सामनामा ११ चौका प्रहार गरे । कप्तान दीपेन्द्र ४६ बलमा ४ चौका र ३ छक्काको सहयोगमा ६० रन जोडे ।

पहिलो विकेटका लागि ओपनरद्वय कुशल र अमित श्रेष्ठले १ सय २४ रनको सानदार साझेदारी गरे । अमित ५१ बलमा ५ चौका र १ छक्काको सहयोगमा ४८ रन जोड्दै आउट भए । गुल्शन झा १५ बलमा १६, आरिफ शेख ४६ बलमा ३८ तथा दिलिप नाथ १० रनमा आउट भए ।

२ सय ६२ रनमा मात्र ४ विकेट गुमाएर विशाल योगफलको संकेत गरेको पुलिसले ३५ रन जोड्दा पछिल्ला ४ विकेट गुमायो । पछिल्लो ५ ओभरमा पुलिसले ४ विकेट गुमाएर ३८ रन मात्र जोड्न सक्यो ।

बागमतीका लागि प्रतिस जिशीले ३ तथा रिजन ढकाल, विपिन आचार्य, साकार गजुरेल र इशान पाण्डेले समान १ विकेट लिए । प्रतियोगितामा खेलेको ६ खेलमै अपराजित रहँदै पुलिस शीर्ष स्थानमा छ । बागमती ५ खेलमा ४ अंकका साथ सातौं स्थानमा छ ।

सम्बन्धित समाचार