डा. बिनित खरेल, बाल रोग विशेषज्ञ, सुमेरु अस्पताल, धापाखेल
० मौशम अनुसार बच्चाहरुलाई कस्ता—कस्ता समस्याहरु देखा पर्छन् ?
मौशमको कुरा गर्दा गर्मी मौशममा एक किसिमको समस्या देखा पर्छ भने जाडो मौशममा अर्को किसिमको समस्या देखा पर्छन् । गर्मी मौशममा झाडावान्ता हुने, पेट दुख्ने टाइफाइड हुने जस्ता समस्याहरु देखा पर्छन् भने जाडो मौशममा सबैभन्दा बढी भाइरल इन्फेक्सन हुने हुन्छ । जस्तो स्कुल जाने बच्चाहरुमा यस्तो समस्या देखिन्छ । घरमा बस्दा त्यस्तो समस्या देखिँदैन किन भने स्कुल जाँदा धेरै बच्चाहरुसँग हेलमेल हुने भएका कारणले भाइरल इन्फेक्सन हुने हुन्छ । यसमा साधारण रुघाखोकीदेखि लिएर छातीको इन्फेक्सन देखि नयाँ देखिएको एचएमएफ (ह्याण्ड फुट डिजिज) कक्स्याकी भाइरसले गराउँछ । अहिले जाडो मौशममा यो धेरै नै देखिने गरेको छ ।
० यस्तो समस्याबाट बच्नको लागि कस्ता उपायहरु अप्नाउनुपर्छ ?
सबैभन्दा पहिलो गर्नुपर्ने कुराहरु के हो भने बच्चालाई रुघाखोकीको लक्षण देखिएको छ अथवा मुख र हातमा घाउ देखिएको छ भने तुरुन्त स्कुल जान बन्द गरिदिनुपर्छ । उसले घरमै आराम गर्नुपर्छ । यसबाट दुईवटा फाइदा छ, एउटा बच्चालाई आराम हुन्छ, इम्युनिटी सिस्टम पनि बढ्छ अर्को कुरा अन्य इन्फेक्सन सर्ने सम्भावना हुँदैन र त्यो इन्फेक्सन तुरुन्त अन्य बच्चाहरुलाई पनि सर्दैन । त्यसकारणले आफ्नो बच्चा वा अन्य कसैको बच्चाहरुमा त्यस्तो देखिएको छ भने घरमै रेस्ट गराउनुपर्छ । घरमा रेस्ट गरेको बेला पनि एक बच्चाबाट अर्को बच्चासँग कन्ट्याकमा राख्नु हँुदैन ।
० बच्चाहरु विरामी भएको कसरी थाहा पाउन सकिन्छ ?
बच्चा विरामी भएको थाहा पाउने सजिलो कुरा भनेको बच्चा स्वस्थ रहँदा जति प्लेफुल हुन्छ त्यति नहुनु, जति एक्टिभ हुनुपर्ने हो त्यति नहुनु, लोलाएर बस्ने, झोक्र्याएर बस्ने, अर्को चाहिँ रुघा, खोकी लाग्नुका साथै ज्वरो आउन थाल्छ, कसैकसैलाई चाहिँ वान्ता मात्र हुने आदि लक्षणहरु देखा पर्ने गर्छन् ।
० बच्चा विरामी भएको कस्तो अवस्थामा डाक्टरकोमा आइहाल्नुपर्ने हुन्छ ?
हाइगर फिगर (उच्च ज्वरो) आएमा जस्तो 102*F 101 भन्दा माथिलाई हाइगर फिगर भन्ने गर्छौं । त्यस्तो हाइगर फिगर देखिरहेको छ र ज्वरोको औषधी खाँदा पनि कम नभएमा डाक्टरकोमा लगिहाल्नुपर्ने हुन्छ । अर्को भनेको कुनै बच्चालाई डायरिया र वान्ता बारम्बार भइरहेको छ भने त्यस्तो अवस्थामा जीवनजल खुवाइरहनु पर्छ र तुरुन्त डाक्टरकोमा लगिहाल्नुपर्ने हुन्छ ।
० जाडो मौशममा नवजात शिशुलाई कसरी हेरचाह गर्नुपर्छ ?
हामीहरुको पहिलो गल्ती भनेको कोइला बालेर नवजात शिशुलाई सेक्ने गर्छौं । कोइला बालेर सेक्न आजैबाट रोक्नुप¥यो । जाडोबाट बच्नलाई कोइला बालेर ढोका बन्द नगरी चिसोबाट बच्न भनेर ढोका लगाउने त्यस्तो गर्नुहुँदैन । वास्तवमा भन्नुपर्दा आगो बालेर यस्तो कार्य गर्नु कुनै पनि राम्रो होइन । जाडोको समयमा नवजात शिशुको मुख्य हेरचाह भनेको घाममा राख्ने, घाममा सेक्ने, कसरी हुन्छ न्यानो बनाएर राख्ने, विशेष स्तनपान गर्न आवश्यक छ, त्यस्ता कार्यहरु गर्नुपर्ने हुन्छ ।
० बच्चाहरुमा घ्यार—घ्यार र खोकी लाग्ने समस्या बढेको पाइएको छ, के कारणले यस्तो समस्या आएको होला ?
बच्चाहरुमा यस्तो समस्या सिजनलको हिसावले देख्ने गर्छ । सिजनलको हिसावले पहिला रुघाबाट सुरु हुन्छ । अनि विस्तारै खोकी लाग्ने, घ्यार—घ्यार हुने गर्छ । तर खोकी लाग्ने वित्तिकै उपचार गराउने हो भने त्यसले ठूलो रुप लिँदैन र स्वास प्रस्वासको समस्या आउँदैन र घ्यार—घ्यार हुने अवस्था पनि हुँदैन ।
० बच्चाहरुलाई जाडो मौशममा बाथको समस्या देखिन्छ कि देखिँदैन ?
ठूला बच्चाहरुलाई चिसोको कारण आउने समस्या भनेको चाहिँ स्वास प्रश्सावको समस्या जस्तो दम भन्छौं त्यस्तो समस्या हुने अवस्था छ भने चाहिँ त्यस्तो हुन्छ । जसले गर्दा बच्चालाई गाह्रो हुन्छ । चिसोको कारण बाथ हुने होइन कि कुनै बच्चालाई बाथ छ भने चिसोको कारण झन् बढी समस्या ल्याउने हुन्छ ।
० जाडो मौशममा भाइरलका कारण बच्चाहरुलाई ज्वरो, रुघाखोकी लाग्ने समस्याहरु देखिएको छ, यसबाट बच्न कस्ता उपायहरु अप्नाउनुपर्छ ?
सबैभन्दा पहिले हामीले कोभिडको लागि मात्र मास्क प्रयोग गर्ने होइन कि साधारण भाइरल इन्फेक्सनका लागि पनि माक्सको प्रयोग गर्ने बानी बसाल्नुपर्छ । यसले नै ८० प्रतिशत यस्ता भाइरल इन्फेक्सनबाट बच्न सकिन्छ । अर्को भनेको बेला बेलामा बच्चाको हात धुन लगाउने, सकेसम्म भिडभाडमा नलाने, बच्चालाई तातो न्यानो लुगा लगाउने, तातो कुराहरु खुवाउने, चिसो कुराहरु धेरै नखुवाउने, अनावश्यक बाहिर लैजाने कार्य रोक्नु पर्छ । अर्को मुख्य कुरा भनेको नियमित लगाउनु पर्ने भ्याक्सिन लगाउने । हाम्रो बानी कस्तो छ भने बच्चा विरामी परेको छ भने लाखौं रुपैयाँ खर्च गरेर उपचार गर्न तयार हुन्छौं, तर भ्याक्सिन लगाउनतिर खासै चासो देखाउँदैनन् । बच्चालाई नियमित भ्याक्सिन लगाएको खण्डमा खासै भाइरस र ब्याक्टेरिया र संक्रमणको इन्फेक्सनले आक्रमण गर्न सक्दैन ।
० बच्चालाई ज्वरो आउँदा कस्ता सावधानीहरु अप्नाउनु पर्छ ?
ज्वरो आउनु भनेको नराम्रो होइन । ज्वरो भनेको एउटा सानोतिनो प्रतिक्रिया मात्र हो । भाइरस, ब्याक्टेरियाको विरुद्धमा देखिने प्रतिक्रिया मात्रै हो । ज्वरो आउँदा खासै आँत्तिहाल्नु पर्ने हुँदैन । उच्च ज्वरो 102*F 101 भन्दा माथि 102, 103 सम्म आउन थाल्यो र बच्चा काम्न थाल्यो भने चाहिँ लुगाहरु खोलिदिने, कोठाका झ्यालहरु खोलिदिने, हावाको सर्कुलेसन बढाइदिने, बच्चालाई धेरै गुम्साएर नराख्ने त्यसपछि पनि ज्वरो बढ्दै गयो भने बच्चालाई पानीपट्टी लगाइदिने र ज्वरो कम गराउने औषधी प्रयोग गर्ने ।
० बच्चाहरुलाई चिसोको कारण रुघाखोकी लाग्ने गर्छ कि गर्दैन ? यसमा घरेलु उपचार हुन्छ ?
इन्फ्लुजा भाइरसले बच्चाहरुलाई धेरै संक्रमित बनाउँछ, यस्तो समस्याबाट बच्नको लागि घरेलु उपचार हुन्छ । यस्तो समस्याबाट बच्न मह र तातोपानी मिलाएर खाँदा पनि यसले ठिक पार्ने गर्छ । मह खायो भने घाँटीलाई सुखदायक प्रभाव दिई सुदृढिकरण गरी राम्रो गर्छ र रुघाखोकीबाट बच्न सकिन्छ भन्ने अध्ययन नै देखाएको छ ।
० पछिल्लो समय ओमिक्रोन कोरोना भाइरसले बच्चाहरुलाई कत्तिको प्रभाव पारिरहेको छ ?
कोभिड भन्ने वित्तिकै यो कडा खाले हो यो नरम खाले हो भन्ने छुट्याउने नै होइन । कोभिड भनेको कोभिड नै हो । सबै प्रकारको कोभिडले मानिसहरुलाई हानी गर्न सक्छ, पछिल्लो समय आएको ओमिक्रोन कोभिड चाहिँ धेरैजसो साउथ अफ्रिकामा देखिएको र यसले धेरै बच्चाहरुलाई प्रभाव पारेको तथ्यांकका हिसावले बच्चाहरुलाई सचेत राख्नुपर्छ । अहिले धेरैजसोले भ्याक्सिन लगाइसकेका कारण प्रतिरक्षा प्रणाली युनिटीपावर त बढेको हुन्छ । तर, साउथ अफ्रिकामा धेरै बच्चाहरुलाई असर गरेका कारण सचेत चाहिँ बन्नुपर्ने अवस्था छ ।
० बच्चाहरुलाई एन्टीवायोटिक औषधीहरु प्रयोग गर्नु राम्रो हो ?
बिरामी बच्चाको अवस्था हेरी चलाउनै पर्ने अवस्था आयो भने चाहिँ चलाउनुपर्छ । ओपीडीमा आउने बच्चा ८० प्रतिशत बच्चाहरुमा चाहिँ चलाउनुपर्ने अबस्था हुँदैन । किन भने ८० प्रतिशत बच्चाहरु भाइरल इन्फेक्सनका कारण बिरामी पर्ने गर्छन् । भाइरल इन्फेक्सनमा एन्टीवायोटिकको केही रोल नै हुँदैन । त्यसैले मैले बारम्बार भन्ने गरेको छु ‘आफूखुसी औषधी प्रयोग गर्ने बानी आजैबाट छाडौं’ । यदि केही गरी बच्चालाई गाह्रो भएको छ भने नजिकको डाक्टरसँग परामर्श लिने र सोही अनुसार औषधी प्रयोग गर्ने । औषधी पसलमा आफूखुसी यो औषधी ले भनेर बच्चालाई औषधी खुवाउने गर्नु हुँदैन । त्यसरी औषधी खुवाउँदा ठिक भएन भने डाक्टरकोमा देखाउनुपर्ने हुन्छ, रगत, पिसावलगायत जाँच गराउनुपर्ने हुन्छ यसले खर्च झन् बढी हुन्छ । त्यसैले बच्चा विरामी हुने वित्तिकै डाक्टरकोमा लाने र डाक्टरको सल्लाह अनुसार औषधी खुवाउने बानी बसाल्नुपर्छ ।
० अन्त्यमा भन्नुपर्ने केही छन् कि ?
मैले भन्दै आएको छु, बच्चालाई ज्वरो आएको छ भने ४८ घन्टासम्म कुर्न मिल्छ । ४८ घन्टापछि के कारणले ज्वरो आएको हो नर्मल लक्षणहरु देखापर्ने गर्छ । ४८ घन्टादेखि ७२ घन्टाभित्र ज्वरो आएको छ भने आत्तिनु पर्दैन । बच्चालाई दिसा, वान्ता भएको छ, बच्चा लोलाएर बसेको छ भने मात्र डाक्टरकोमा लानुपर्ने हुन्छ । आर्को कुनै पनि बच्चालाई भ्याक्सिन लगाउनुपर्छ । भ्याक्सन भनेको बच्चाको लागि अति महत्वपूर्ण हो । किन भने बच्चालाई रोग प्रतिरोधात्मक क्षमता भ्याक्सिनले बढाउने गर्छ । हामीले के गर्छौं भने बच्चा १५ महिना कटेपछि भ्याक्सिन नै लगाउन छाड्छौं । बच्चाले टाइफाइडलगायत, फ्लु सट, चिकेन पक्स, मेनिङ्गोकोकल भ्याक्सीन, अन्य भ्याक्सिन नियमित रुपमा लगाएको हुँदैन, यसबाट पनि बच्चालाई अनेक किसिमको भाइरलहरुले दुःख दिने हुनसक्छ । त्यसैले बच्चाले लगाउनुपर्ने भ्याक्सिन सबै नियमित रुपमा लगाउनुपर्छ । अर्को भनेको कोभिडको लागि मात्र माक्स प्रयोग गर्ने होइन, माक्स अन्य रोगको संक्रमणबाट बच्न पनि प्रयोग गर्नुपर्ने भएको कारण माक्स लगाउने बानी बसाल्नुपर्छ ।