काठमाडौं । नेपाल प्रहरीको ऊलन पाइन्टकाे नयाँ ठेक्कामा २० लाख रूपैयाँकाे चलखेल भएको खुलासा भएको छ । टेण्डर निस्कने अघिल्लो दिन मात्रै पुरानो नमुना हटाएर नयाँ नमुना अर्थात स्पेक राखिएको र त्यही राख्ने क्रममा २० लाखको लेनदेनकाे काराेबार भएको खुलेको हो ।
प्रहरी महानिरीक्षक दिपक थापाको कार्यकाल आगामी भदौ १९ गतेसम्म रहेको छ। अर्थात उनले जागिर खाने दिन अब केवल ११ दिन मात्रै बांकी छ । एकातिर प्रहरी महानिरीक्षक दीपक थापा अवकाशकाे मुखमा रहेको अवस्था छ । अर्कोतिर प्रवन्ध शाखाको सेटिङमा यो २० लाख रूपैयाँकाे लेनदेन भएको देखिन्छ । टेण्डर निकाल्ने अघिल्लो दिनमात्रै नयाँ नमुना निकालेपछि अरू ठेकेदारले त्यो नमुना बनाउन सक्ने कुरा प्रायः असम्भव नै हुन्छ । जसको नमुना हो उसले मात्रै पास गर्न सक्ने अवस्था रहन्छ । त्यसैले पनि जसको नमुना छ उसको ठेक्का पाउने अवस्था सतप्रतिशत रहन्छ ।यहाँ पनि यस्तै खेल भएको हो । यो ऊलन पाइन्टकाे ठेक्का नेपाल टेलिकममा कार्यरत टाेपेन्द्र बिसीलाई दिने गरि सेटिङ गरिएको छ । उनी सरकारी कर्मचारी भएको कारण ठेक्का पट्टा गर्न नपाउने भएको कारण श्रीमतीको नाममा फर्म दर्ता गरि धेरै बर्ष देखि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा ठेक्काकाे काम गर्दै आइरहेका छन् । सशस्त्र प्रहरी र नेपाल प्रहरीकाे प्रधान कार्यालय देखि प्रहरी महानिरीक्षकका निवास मात्रै हाेइन नेपाल प्रहरीकाे प्रवन्धमा कार्यरत एसपी , डिएसपी र निरीक्षकको फाेन रेकर्ड देखि ह्वाट्स्यावकाे रेकर्ड हेरे पनि सबै कुरा थाहा हुनेछ । यसबाहेक अफिस बाहिर पनि बिसी र उनका पार्टनर श्रवण अग्रवालले सशस्त्रको प्रवन्धका एसएसपीलाई पनि भेटिरहेका छन् ।
प्रहरीको ऊलन पाइन्टकाे हकमा पनि २० लाखको लेनदेनमा यो सेटिङ भएको छ। प्रवन्ध स्रोतका अनुसार श्रवण अग्रवालले ऊलन पाइन्टकाे नयाँ नमुना बनाएको र पार्टनर टाेपेन्द्र बिसीलाई मिलाउने गरि प्रहरी भित्र २० लाखमा सेटिङ गराएर पास गराएका थिए । नमुना पास गराउने काममा नेपाल गुणस्तर तथा नापतौल बिभागका टेक्निसियन किरण सुबेदीलाई समेत मिलाएर सेटिङमा पास गराइएको समेत खुलेको छ । नमुना बनाउने , प्रवन्ध मिलाउने , गुणस्तर मिलाउने सबै काम विसीका साझेदार अग्रवालले नै गरेको थाहा भएको छ । अग्रवाल र गुणस्तरका किरण सुबेदीकाे अति नजिककाे सम्बन्ध मात्रै हाेइन गुणस्तरहीन कपडा पनि श्रवणकाे भनेपछि सुबेदीले सेटिङमा पास मात्रै गराउदैनन कि अरू नजिककाे ठेकेदारकाे पनि पास गर्ने जिम्मेवारी लिएर उनले रकम लिने गरेको समेत बाहिर आएको छ । यसरी प्रहरीको ऊलन पाइन्टकाे ठेक्कामा नमुना राख्दा मात्रै २० लाखको लेनदेन भएको खुलेको हो ।