तनहुँ, १८ मंसिर । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली लोकतन्त्रका लागि नभई ज्यान मुद्दामा १४ वर्ष जेल बसेको टिप्पणी गरेका छन् । उनले ओलीमाथि लोकतन्त्र खतरामा पारेको आरोप लगाए ।
‘केपी ओली ज्यान मुद्दामा १४ वर्ष जेल बसेका हुन्, मजस्तो लोकतन्त्र स्थापनाका लागि जेल बसेका होइनन्,’ आज तनहुँको ब्यास नगरपालिकाको बुल्दीखोलामा पुल उद्घाटनपछि पौडेलले भने, ‘जोसमा गरिएको झापा काण्ड लोकतन्त्रका लागि हो ?’ बुटवल चौधरी हत्या अभियोगमा ओली जेस बसेको भन्दै आफ्नो अगाडि आएर कुरा गर्न चुनौती दिए । उनले भने, ‘मेरो अगाडि आएर केपी ओली कुरा गरुँन् ।’
हिजो पुल उद्घाटनका क्रममा प्रहरी नियन्त्रणमा परी रिहा भएका पौडेल निकै आक्रोशित रुपमा प्रस्तुत भएका थिए । उनले कम्युनिस्टहरु कहिले लोकतन्त्रवादी हुन नसक्ने बताए । उनले भने, ‘कम्युनिस्टका कारण लोकतन्त्र सुरक्षित छैन, त्यो हिजोको घटनाले देखाइसकेको छ ।’ ओली सरकारलाई अधिनायकवादी र तानाशाही भन्दै पौडेलले देशव्यापी प्रतिकारमा उत्रने चेतावनी दिए ।