मुस्ताङमा सबै प्रजातिको स्याउ भदौ महिनाभित्रै टिपिने

8.1k Shares

मुक्तिनाथ (मुस्ताङ), भदौ १ गते । यसवर्ष मुस्ताङको प्रमुख उत्पादन स्याउ हिन्दु महिलाहरुको पर्व हरितालिका तीज अगाडि नै बजारमा आउने भएको छ । विगतका वर्षको तुलनामा यसवर्ष छिटो स्याउ पाकेपछि उच्च घनत्व प्रविधिमा आधारित (हाइब्रिड) गाला जातको स्याउ यही भदौ ५ गतेदेखि टिप्न पाइने भएको हो ।

पछिल्लो समय स्थानीयसँगै उच्च घनत्वको स्याउमा आर्कषित भएका कृषकले तीन चरणमा भदौ महिनाको अन्त्यसम्म टिपेर बजारमा लैजान पाउने भएका छन् । जिल्लाभर ६० हेक्टरमा उच्च घनत्व प्रविधिमा आधारित (हाइब्रिड) स्याउखेती गरिएकामा यसवर्ष ५० हेक्टर क्षेत्रफलमा उत्पादन दिनेछ ।

जिल्ला समन्वय समितिका प्रमुख माया गुरुङको अध्यक्षतामा बसेको स्याउ टिप्ने जिल्लास्तरीय समन्वय बैठकले यसवर्ष भदौ महिनाको अन्त्यसम्म सबै प्रजातिको स्याउ टिप्न सकिने निर्णय गरेपछि कृषक उत्साहित भएका छन् । जिसस प्रमुख गुरुङले उच्च घनत्व प्रविधिमा आधारित (हाइब्रिड) गाला भदौ ५ गते, हाइब्रिड किङरट जातको स्याउ भदौ १५ गतेदेखि तथा अन्य हाइब्रिड र स्थानीय जातका स्याउ भदौ २५ गतेदेखि टिप्न सकिने बताउनुभयो । जिसस प्रमुख गुरुङले भन्नुभयो, ‘‘स्याउ मुस्ताङको पहिचान भएकाले काँचो टिप्न निषेध गरिएको थियो । अब हामीले तालिका अनुसार अनुगमन पनि गछौं ।’’ स्वादिलो र अर्गानिक स्याउका रूपमा पहिचान बनाएको मुस्ताङबाट काँचो स्याउ बजारमा लैजाँदा पहिचान गुम्ने भन्दै जात र गुणको आधारमा बजारमा पठाउने तालिकालाई कार्यान्वयन गर्न कृषकलाई अनुरोध गरिएको छ ।

आकार र प्रकारका हिसाबले पनि गुणस्तरयुक्त रहेको मुस्ताङमा छिटो पाक्ने जातलाई पहिले र ढिलो पाक्ने जातलाई पछि टिपेर बजार पठाउने तालिका बनाइएको छ । बोटमा स्याउ नपाक्दै बजार पठाउने प्रवृत्तिलाई रोक्न तोकिएको कार्यतालिकाको समितिले आवश्यकता अनुसार अनुगमन समेत गर्नेछ । समयभन्दा अगावै स्याउ टिपेर बजार लैजाने प्रचलनले स्याउको गुणस्तर र बोटको आयु समेत घट्ने भएकाले कार्यतालिकालाई अनिवार्य गरिएको कृषि ज्ञान केन्द्र मुस्ताङका प्रमुख राजेश गुरुङले बताउनुभयो । तापक्रम वृद्धिका कारणस्याउमा छिटो गुलियो पसेकाले स्थानीय बाहेक गाला प्रजातिका स्याउ र रिङरोट जातको स्याउ टिप्ने समय अगाडि रहेको प्रमुख गुरूङले बताउनुभयो ।  

कृषि ज्ञान केन्द्रको सभाहलमा आयोजित कार्यक्रममा मुस्ताङका पाँच वटै गाउँपालिकाका प्रमुख, जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकायका प्रतिनिधि, शीतोष्ण बागवानी विकास केन्द्र (मार्फा), प्रधानमन्त्री कृषि आधुनिकीरकण परियोजना, परियोजना कार्यान्वयन एकाइ स्याउ जोन (मुस्ताङ), भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र, स्थानीय कृषक, समूह, सहकारी संस्थार स्याउ फार्मका प्रतिनिधिलगायतको उपस्थितीमा कृषकको बगैँचामा पुगेर गाला र किङरट स्याउको गुणस्तर परीक्षण गरिएको जानकारीसहित स्याउ उत्पादन तथा विस्तार भइरहेका क्षेत्रहरूका बारेमा छलफल तथा विस्तारका लागि आवश्यक प्राविधिक सहयोगका बारेमा समेत छलफल भएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी शिव गणेश चौधरी कुर्मीले बताउनुभयो । मुस्ताङमा उत्पादित स्याउ उपयुक्त समयमा टिपेमा स्याउको स्वाद र गुणस्तर राम्रो हुने मानिन्छ ।

सबै प्रजातिका स्याउलाई एउटै समय तोक्दा छिटो पोकेका स्याउको गुणस्तरमा कमी आउने भएकाले छिटो पाकेका स्याउलाई भदौ महिनामै टिपेर बजार पठाउन पकेट क्षेत्रका कृषकको सुझाव थियो । यसवर्ष अनुकूल मौसमसँगै बगैँचा व्यवस्थापन, रोग कीराको समस्या कम रहेको अवस्थामा उत्पादन बढ्ने र ढुवानी समेत समयमै हुने भएको छ ।  

मुस्ताङमा स्थानीय स्याउ ८ सय ३० हेक्टर क्षेत्रफलमा स्याउ खेती भएकोमा ५६६ हेक्टर क्षेत्रफलमा लगाइएको स्याउ बोटले ६ हजार ७८ मेट्रिक्टन स्याउ उत्पादन उत्पादन हुने लक्ष्य राखिएको छ । प्रति हेक्टर १०.७४ मेट्रिक्टन स्याउ उत्पादन हुन्छ । त्यसैगरी उच्च घनत्वको स्याउ खेती ६० हेक्टर  क्षेत्रफलमा फैलिएकोमा ८ हजार ४ सय ९६ मेट्रिक्टन स्याउ उत्पदान हुने अनुमान गरिएको छ । उच्च घनत्वको स्याउ प्रति हेक्टर १८.४७ मेट्रिक्टन फल्ने छ । मुस्ताङका बगैंचामा देशभरबाट ब्यापारी बगैंचामा स्याउ नपाक्दै पेश्की लिएर समेत खरिद गर्ने गरेका छन् । 

सम्बन्धित समाचार